
गौरीगंज ७, असोज / झापा जिल्लाको गौरीगंज गाउँपालिका–३ स्थित श्री गौरीगंज दुर्गा मन्दिर भवन निर्माण समितिले आज एक विशेष समारोहको आयोजना गरी पाँच वर्षे अवधिको सम्पूर्ण आय–व्यय सार्वजनिक गरेको छ । मन्दिरको प्राङ्गणमा भएको कार्यक्रममा समितिका अध्यक्ष शोभाकान्त दासले मिति २०७७ साल भदौ २ गतेदेखि २०८२ साल असार मसान्तसम्मको भवन निर्माण अवधिको आर्थिक विवरण प्रस्तुत गर्दै अहिलेसम्मको सम्पूर्ण आय–व्यय तथा मौज्दातबारे जानकारी दिए ।

उनका अनुसार दुर्गा मन्दिर भवन निर्माणका लागि विभिन्न दाताहरुबाट संकलित रकम र विभिन्न संघ–संस्थाबाट प्राप्त सहयोगसमेत गरी जम्मा १ करोड ३० लाख ४० हजार ८ सय २० रुपैयाँ ४५ पैसा आम्दानी भएको थियो । सो अवधिमा निर्माण तथा अन्य कार्यमा भएको खर्च कटाएर हाल बैंक खातामा ३ लाख ४१ हजार ६ सय ४५ रुपैयाँ ५८ पैसा मौज्दात रहेको जानकारी अध्यक्ष दासले प्रस्तुत गरे । उनले पारदर्शितापूर्वक सम्पूर्ण आर्थिक विवरण प्रस्तुत गर्दै भवन निर्माण कार्य सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गरेका थिए । आय–व्यय सार्वजनिक तथा हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष श्रवण गिरी रहेका थिए । उनले समितिले देखाएको पारदर्शी कार्यशैली र समुदायप्रतिको उत्तरदायित्व प्रशंसनीय भएको उल्लेख गर्दै मन्दिरलाई धार्मिक, सांस्कृतिक र सामाजिक मिलनस्थलका रूपमा अझ विस्तार गर्ने योजनामा वडा र गाउँपालिका सधैं साथ रहने प्रतिवद्धता जनाए ।
कार्यक्रममा गौरीगंज गाउँपालिकाका निवर्तमान उपाध्यक्ष दिपिन्द्र थापा, पूर्व गाविस अध्यक्षहरु देवी प्रसाद राजवंशी र विश्वराज रिजाल, निवर्तमान वडा अध्यक्ष मखना महतो लगायतले मन्तव्य राखी समितिको परिश्रम र पारदर्शिताको प्रशंसा गरेका थिए । उनीहरुले धार्मिक स्थलले स्थानीयलाई एकताबद्ध बनाउन र सामाजिक सद्भावलाई मजबुत पार्न महत्वपूर्ण योगदान दिने विश्वास पनि व्यक्त गरे ।

त्यसैगरी, कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुनिल दास, पदाधिकारीहरु सानुराजा श्रेष्ठ, रुपक श्रेष्ठ लगायत स्थानीय अगुवाहरुको पनि उपस्थिति थियो । वक्ताहरुले भवन निर्माणमा योगदान गर्ने सम्पूर्ण दाताहरुलाई धन्यवाद ज्ञापन गर्दै मन्दिरलाई दीर्घकालीन रूपमा संरक्षण र व्यवस्थापन गर्न सबैको निरन्तर सहयोग आवश्यक हुने धारणा राखे ।
सोही अवसरमा समितिका अध्यक्ष शोभाकान्त दासले निर्माण कार्यका क्रममा भएका सम्पूर्ण आर्थिक विवरण, अडिट रिपोर्ट र आवश्यक कागजातहरु वडा अध्यक्ष श्रवण गिरीलाई औपचारिक रुपमा हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा अध्यक्ष दासले दाताहरु, सहयोग गर्ने संघ–संस्था, समितिका पदाधिकारी र स्थानीयवासी सबैप्रति कृतज्ञता व्यक्त गरेका थिए । मन्दिर भवन निर्माण सम्पन्न हुनु गौरीगंज क्षेत्रको धार्मिक, सांस्कृतिक र सामाजिक गौरवकै प्रतीक बनेको छ, जसले स्थानियको आस्था र विश्वासलाई अझ मजबुत पार्ने अपेक्षा गरिएको छ ।