२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025

गौरीगंज बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघ र अनेरास्ववियुले साझा उम्मेदवारी दिने सहमति



गौरीगंज २२, फागुन / सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एमाले पार्टीको गौरीगंज गाउँपालिका स्तरिय दुइ दलिय संयन्त्रबीच चैत्र ५ गते हुने गौरीगंज बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा साझा उम्मेदवारी दिने सहमति भएको छ । दुई दलीय राजनीतिक संयन्त्रको आज विहान बसेको वैठकमा नेपाली कांग्रेस पार्टीको भातृ संघ नेपाल विद्यार्थी संघलाई सभापतिसहित ४ सदस्य र नेकपा एमाले पार्टीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनलाई उपसभापतिसहित ५ सदस्य पदमा साझा उम्मेदवारी दिनेमा सहमति भएको हो । नेपाली कांग्रेस पार्टी गौरीगंजका सभापति अघनु प्रसाद राजवंशीका अनुसार नेपाल विद्यार्थी संघलाई सभापति, सहसचिव , र दुई सदस्य तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनलाई उपसभापति , सचिव , कोषाध्यक्ष र दुई सदस्य पदमा साझा उम्मेदवारी दिने निर्णय भएको छ । गौरीगंज बहुमुखी क्याम्पसको ९ सदस्यीय स्ववियु पदाधिकारीका लागि हुने निर्वाचनमा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी र राप्रपाको रष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनलाई सहमतिका लागि खुल्ला राखिएको जनाइएको छ । करिब २ सय जना विद्यार्थी अध्ययनरत रहेको गौरीगंज वहुमुखि क्याम्पसमा यस अघि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनबाट इस्तप खान स्ववियु सभापतिमा जितेका थिए ।
स्ववियू निर्वाचनका लागि गौरीगंज गाउँपालिका वार्ड नं. ३ मा रहेको गौरीगंज बहुमुखी क्याम्पसमा चार वटा संगठनले दर्ता गराएका छन् । बिकास ठाकुर अध्यक्ष रहेको नेपाल विद्यार्थी संघ , हनिसा ताजपुरिया अध्यक्ष रहेको अखिल कान्त्रिकारी, डिल्लीराम पौडेल अध्यक्ष रहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन र केन्द्रिय संयोजक कमल बम रजवारको रष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले दर्ता गराएका हुन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ११ : २३ बजे