१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

युवा पुस्ताको साथ र पाकाहरुको आशिर्वादलाई सर्वोपरी ठान्ने हुकुमसिंह राई प्रदेश सदस्यकाे उम्मेदवार



नेपाली कांग्रेस झापा क्षेत्र नं ५ बाट १४ औं अधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित युवा नेता हुकुमसिंह राई यहि मसिंर १८ गते हुने १ नम्बर प्रदेशको अधिवेशनमा प्रदेश सदस्यको उम्मेदवार छन । आदिवासी जनजाती कोटाबाट कांग्रेसको प्रदेश १ सदस्यमा चुनावी प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएका राईको उम्मेदवारीले विशेष चर्चा पाएको छ ।
त्यसो त राई विपक्षीहरुसंग कडा मुकाबिला गर्न सक्ने हैसियत राखेर झापाली राजनीतिमा बेला बखत चर्चामा आउने गरेका नेता हुन । केपी ओली नेतृत्वको सरकारले आदिवासी जनजाती रंगशालाको अस्तित्व मेटाउने चेष्टाको विरोधमा कडा संघर्षको कदम चाल्ने अभियानको नेतृत्व गरिरहेका नेता हुन राई । एमाले अध्यक्ष केपी ओलीको रवाफ र प्रभावले ओझेल परेको कांग्रेसको राजनीतिलाई ओलीकै गृह क्षेत्रमा रहेको कमल गाउँपालिकाको अध्यक्षमा बराबर मत ल्याएर चुनौती दिएपछि राष्ट्रिय राजनीतिको चर्चामा आएका राईको उम्मेदवारीलाई प्रदेश एकको राजनीतिमा चासो र महत्वसाथ हेरिएको छ । यही मसिंर १८ गते हुने कांग्रेसको प्रदेश अधिवेशनमा उनले आदिवासी जनजाती कोटाबाट १ नम्बर प्रदेश सदस्यमा उम्मेदवारी दिएका हुन । इलाम, पाँचथर, खोटाङ, ओखलढुंगा, मोरङ , सुनसरी, पाँचथर लगायत १४ जिल्लाका कांग्रेस नेताहरुसंग प्रतिनिधिमुलक छलफल र संवादपछि राईले सो कोटामा आफूलाई उम्मेदवारका रुपमा उभ्याएका हुन ।
युवा पुस्ताको साथ र पाकाहरुको आशिर्वादलाई सर्वोपरी ठानेर कांग्रेस राजनीतिमा सक्रिय बन्दै आएका नेता राईले नेपाली राजनीतिलाई सही बाटोमा दिशा निर्देश गर्न आफनो उम्मेदवारी रहेको बताएका छन । नेपाल बिद्यार्थी संघबाट राजनीतिक यात्रा प्रारम्भ गरेका उनले राजनीतिसंगै सामाजिक क्षेत्रमा पनि उदाहरणीय कामहरु गरेर सर्वसाधारण नागरिकको मन जित्न सफल हुँदै आएका छन ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ९ : ०६ बजे