६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

यो वर्ष दसैँसम्म पानी पर्ने : मंगलबारदेखि लगातार वर्षाको सम्भावना



काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले आगामी मंगलबारसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । मौसम विभागकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले यो वर्ष दसैँसम्म पानी पर्ने सम्भावना रहेको जानकारी दिइन् । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ र आगामी केही दिन देशका अधिकांश भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको उनले बताइन् । मनसुनको न्यून चापीय रेखा औसत स्थानको दक्षिणतिर रहेको हुँदा वर्षाको सम्भावना अझै सक्रिय रहेको विभागको भनाई रहेको छ ।  अघिल्लो वर्ष असोजको पहिलो सातामा मनसुन सकिने भए पनि यो वर्ष लम्बिएको मौसमविद् मानन्धरले बताइन् । भारतमा पनि यो वर्ष मनसुन लम्बिएको बताउँदै उसले पनि अहिलेसम्म मनसुन सकिएको घोषणा नगरेको उल्लेख गरिन् ।  उनले भनिन्– ‘अघिल्लो वर्ष सेप्टेम्बर २३ मा मनसुन सकिने गरे पनि यो वर्ष अक्टोबरको पहिलो सातासम्म सक्रिय रहने अवस्था छ । पर्सिदेखि दसैँको सुरुवातसम्म वर्षा हुने प्रणाली सक्रिय देखिएको छ ।’  हाल देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ भने बाँकी भागमा मौसम आंशिक बदली रहेको छ । कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ । 

सोमबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने, थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाई छ । रातिको समयमा कोशी, मधेस, र बागमती प्रदेशका केही स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा भारी वर्षा पनि हुनसक्ने जनाएको छ । 

मङ्गलवार देशभर आंशिकदेखि साधरणतया बदली रहने, अधिकांश भागमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको विभागको भनाई छ  ।  

यो वर्ष दसैँसम्म मनसुन सक्रिय रहने अनुमान गरिएको छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा.विनोद पोखरेलले पनि यो वर्ष दसैँसम्म मनसुन बाहिरिने सम्भावना कम देखिएको उल्लेख गरेका छन् । 

मौसम विज्ञान विभागले आगामी केही दिन देशभर मौसममा उतार चढाव भइरहने र वर्षाको सम्भावना रहेकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सावधानी अपनाउन पनि आग्रह गरेको छ । रातो पाटीबाट

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ६ : ४५ बजे