१९ कार्तिक २०८२, मंगलबार | Wed Nov 5 2025

छाेरीहरूद्वारा बाबुकाे काजकिरिया



दमक/ मोरंगको उर्लाबारी नगरपालिका वडा नं ४ सृजना टोलमा एक जना बाबुका छोरीले दशगात्र किरिया गरिरहेका छन ।
स्थानीय ५६ बर्षिय सोमनाथ खतिवडाको निधनपछि उनका तीन छोरी मध्ये दुई जना दश गात्र कर्ममा बसेका हुन । खतिवडाको ११ दिन अघि उपचारका क्रममा विराटनगरमा मृत्यु भएको थियो । उनको ह्दयघातका कारण निधन भएको हो ।
खतिवडाका तीन छोरी मध्ये जेठी एलिजा र कान्छी कोपिला खतिवडा अहिले खतिवडा निवासमा उनको काजकिरियामा बसेका छन । माइली छोरी कविता भने अध्ययनको सिलसिलामा अस्टेलियामा भएका कारण किरियामा समावेश हुन सकिनन ।
बाबु आमाको निधन पछि छोराले मात्रै दशगात्र किरिया गर्ने सामाजिक परम्परालाई परिवर्तन गर्न सन्देश दिदैं खतिवडाका छोरा नभएका कारण कान्छी छोरी कोपिला किरिया गर्ने मुख्य भुमिकामा छोरा सरह कोरा बसेकी हुन । उनीसंगै जेठी दिदी एलिजा र दुई श्रीमती समेत उनको आशौच बारिरहेका छन ।
पण्डीत इन्द्र प्रसाद अधिकारी आफना बाबु आमाको दशगात्र कर्म गर्न हिन्दु शास्त्रले कहिं कतै रोक नलगाएको बताउछन । पण्डीत अधिकारीले भने “छोराले मात्रै गर्नुपर्छ छोरीले गर्नु हुदैन भन्ने कहिं कतै उल्लेख छैन । गरुड पुराणको ७ औं अध्याय र ११ औं अध्यायमा समेत छोरीलाई बाबु आमाको दशगात्र कर्म गर्ने बाटो खुल्ला छ ।”

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  २ : १३ बजे