१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापा कांंग्रेसकाे सभापतिमा थेवे कि कट्टेल ?



दमक/नेपाली कांग्रेसको संशोधित विधान अनुसार यस पटक हुने १४ औं महाधिवेशनमा कांग्रेस झापाका सभापति उद्धव थापाले उम्मेदवार बन्न पाउँने छैनन् । लगातार दुई कार्यकालभन्दा बढी जिल्ला सभापति बन्न नपाउने कांगेसको संशोधित विधानमा उल्लेख छ ।
पार्टीमा दुई कार्यकाल लगातार जिल्ला सभापति बनिसकेका देशभरका २५ जनाको सूचीमा पर्छन थापा । यस अघि उनी एक पटक कांग्रेसका युवा नेता एवं हालका प्रवक्ता विश्वप्रकाश शर्मालाई हराएर पार्टीको जिल्ला सभापति बनेका थिए भने अर्को पटक सभापतिका अर्का आकांक्षी मानिएका आफनै टिमका देउमान थेवेलाई मनाएर निर्विरोध जिल्ला सभापति बनेका थिए । यसपटक उनी केन्द्रिय महाधिवेशनका लागि लडने हुन वा पहिलो पटक बन्न लागेको प्रदेश संरचनामा नयाँ जिम्मेवारी लिने हुन भन्ने आम कार्यकर्ताहरुमा जिज्ञासा छ ।
हुन त नेपाली कांग्रेसमा पहिलो पटक प्रदेश संरचना अनुसार कार्यसमिति बन्न लागेकाले धेरै जिल्ला कार्यसमितिमा बसिसकेका तर केन्द्रिय समितिमा पुग्न नसकेका नेताहरुको लागि प्रदेश कार्यसमितिको पदाधिकारीमा व्यवस्थापन गर्ने अवसर भएकाले नेता थापाले त्यसलाई उपयोग गर्न सक्ने अनुमान भने झापामा कांग्रेस कार्यकर्ताहरुले गरिरहेका छन । प्रदेश कार्यसमितिमा सभापतिसहित उपसभापति र महामन्त्री दुई/दुई, सहमहामन्त्री तीन र कोषाध्यक्ष एक जना पदाधिकारी रहने व्यवस्था छ ।
झापामा कसलाई अवसर ?
पार्टीमा निडर र हक्की स्वभाव भएका जुझारु र सक्रिय नेताको पहिचान बनाएका देउमान थेवेसहित पार्टीमा सालिन र भद्र स्वभावको गुण भएका उपसभापति राम कट्टेललाई यस पटक पार्टीको जिल्ला सभापतिका प्रमुख दाबेदारका रुपमा हेरिएको छ । कट्टेलले सामाजिक सञ्जाल मार्फत आफू जिल्ला सभापतिको उम्मेदवार बन्ने इच्छा व्यक्त गरिसकेका छन ।
कांग्रेस वृत्तमा कतिपयले थापा र थेवेबीच १४ औं महाधिवेशनमा थेवेलाई सभापति बनाउने भद्र सहमती भएको भनि चर्चा गर्दै आएका थिए ।
पार्टीमा जिल्ला उपसभापति र महासमिति सदस्य भई भाृत संगठन तथा संघ संस्थाहरु परिचालनको जिम्मेवारी सम्हालिसकेका नेता थेवे भौगोलिक रुपमा झापा क्षेत्र नं ४ मा बस्छन ।
उनको सो क्षेत्रमा यस अघि पार्टी नेता स्व. चक्रप्रसाद बाँस्तोला, त्यसपछि नेता केशवकुमार बुढाथोकीको उपस्थितीले पार्टीको माथिल्लो तहमा पुग्न हम्मे हम्मे परिरहेको थियो । यतिबेला उनी सो क्षेत्रको मात्रै होइन कांग्रेसमा झापाकै शक्तिशाली नेताका रुपमा चिनिन्छन तर पार्टीको जिल्ला सभापतिका लागि भने उपल्लो तहका नेताको आशिर्वाद उनले पाउन सकेका छैनन ।
झापा जिल्ला कांग्रेसका पूर्व महामन्त्री एवं प्रभावशाली नेता मानिने कृष्ण प्रसाद सिटौलाको गृह जिल्ला पनि भएकाले यहाँका नेता कार्यकर्ताहरुको व्यवस्थापनमा जहिलेसुकै नेता सिटौलाको भुमिकानै निर्णायक हुँदै आएको छ । हुन त अहिले कांग्रेस प्रवक्ता समेत रहेका युवा नेता विश्वप्रकाश शर्माको प्रभाव पनि झापामा देखिन्छ । त्यस्तै पार्टीको केन्द्रिय नेतृत्वमा पुगिसकेका र पूर्व मन्त्री समेत रहेका अर्का प्रभावशाली नेता केशवकुमार बुढाथोकीको भुमिकालाई पनि झापामा महत्वसाथ हेरिन्छ ।
तुलनात्मक रुपमा यस अघिका अधिवेशन सम्म नेता सिटौलाको प्रभाव नेता शर्माको र बुढाथोकीको भन्दा बलियो मानिएको थियो । यसपटक भने के हुने हो यसै अनुमान गर्न सहज छैन ।

पार्टीमा केन्द्रिय सभापतिका दावेदार र युवापुस्ता माझ लोकप्रिय डा. शेखर कोइरालाको प्रभाव झापामा पनि परेको छ । मोरङका डा. कोइराला सभापतिको उम्मेदवार बन्दै गर्दा र कांग्रेसमा विशेष महत्व राख्ने अग्रज नेताहरुको परिवार विराटनगरका कोइराला परिवारसंग नजोडिएका झापाली कांग्रेसहरु कमै छन । त्यसकारण पनि डा. कोइरालाको प्रभावलाई झापामा कम आंकलन गर्न सकिन्न । यद्यपी डा. कोइरालाको समुहले झापामा समुहनै बनाएर अधिवेशन लडने कसरत भने गरेको देखिन्न । कांग्रेसमा हालको नेतृत्व परिवर्तनको पक्षमा रहेका धेरै जसो नेता कार्यकर्ताहरु सिटौलाले सभापतिमा दाबी नगरी कसलाई समर्थन गर्ने हुन ? भन्ने पर्खाइमा रहेको बुझिन्छ ।
सिटौलाले १३ औ महाधिवेशनमा आफूलाई केन्द्रिय सभापतिको उम्मेदवारका रुपमा उभ्याएर पार्टी भित्र आफनो प्रभाव देखाउन सफल त भए तर अन्तिम समयमा सभापतिमा देउवालाई समर्थन गरेका थिए । तर सभापति देउवाको कार्यकाललाई उनले सफल कार्यकालका रुपमा लिएका छैनन । पार्टीमा नेतृत्व परिवर्तनको पक्षमा उहाँ ( सिटौला) हुनुहुन्छ – सिटौला निकट झापाका एक जना नेताले निष्कर्ष न्यूजसंग भने ।

निष्कर्ष न्यूजबाट

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ११ : ४३ बजे