८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

हुकाहुकी पर्वमा सन्ठीकाे अभाव


२९ कार्तिक २०७७, शनिबार  

0
Shares

 

विर्तामाेड १९, कार्तिक /  दुईवटा बस्ती चाहारेर बिर्तामोड ९ की सकुन राजवंशीले बल्ल एक मुठी सन्ठी किन्न पाइन् ।
तिहारको लक्ष्मी पूजाको दिन पूजा गर्नका लागि सन्ठी अनिवार्य चाहिने भएपछि उनले खोजेरै सन्ठी ल्याउनु पर्यो । उनले एक मुठी सन्ठीका लागि सय रुपैयाँ तिर्नु पर्यो । पूर्वी नेपालमा बसोबास गर्ने आदिबासी समुदायलाई लक्ष्मी पूजाको दिन हुकाहुकी पर्वका लागि सन्ठी नभइ हुँदैन । पाटा(जुट ) खेती लोप भएसँगै सन्ठीको अभाव भएको हो । गाउँतिर अलिअलि सन्ठी भेटिने गरेपनि शहर बजारमा सन्ठी पाउनै गाह्रो भएको सकुन बताउँछिन् । एक खुट्टी पाटा लगाएका बिर्तामोड ३ स्थित मुसहर बस्तीका मेघुवा ऋषिदेबले सन्ठी बेचेरै २ हजार रुपैयाँ आम्दानी गरे । उनले बिर्ताबजारमा लगेर मुठाको सय रुपैयाँको दरले सन्ठी बेचेको बताए । झापामा हराउन लागेको पाटा खेती दक्षिणी क्षेत्रका किसानहरुले सन्ठीकै लागि भएपनि अझै गर्दै आएका छन् । बाह्रदशी गाउँपालिकाका करिव २० विगाह क्षेत्रफलमा यस वर्ष जुट खेती गरिएको छ । गाउँपालिकाको सातवटै वडामा जुट खेती गर्ने गरिन्छ । गाउँका किसानहरुले जुट खेती अझै गरिरहेको बाह्रदशी गाउँपालिकाका कृषि शाखा प्रमुख देवकुमार यादवले बताए । ग्रामीण क्षेत्रका आदिबासी समुदायले घरायसी प्रयोजनका लागि चाहिने भएर पाटा खेती छोड्न नसकेका हुन् । पाटासँगै सन्ठीको अति आबश्यकता पर्ने गरेकाले एक दुई खुट्टी भएपनि उनीहरुले पाटा लगाउने गरेका छन् । आदिबासी समुदायमा सन्ठीको ठूलो महत्व रहेको छ । तिहारमा पर्ने गोरुवाँसी पर्वमा सन्ठीको राँको ( हुकाहुकी) खेल्ने परम्परा पूर्वका आदिबासी समुदायमा रहेको छ ।राजवंशी , ताजपुरिया , गनगाई , माझी लगायतका जातिले सन्ठीको मुठो(हुकाहुकी) बनाएर त्यसलाई पुजा गर्ने र आगो सल्काएर खेल्ने परम्परा छ । आदिबासी समुदायको लागि पाटा परम्परागत खेती हो । उहिले सबैले पाटा खेती गर्ने गरेका थिए । पाटा खेती छोडेकाहरुले अहिले अरुबाट सन्ठी किनेर भएपनि हुकाहुकी खेल पर्व मनाउने गरेका छन् । पाटासँगै सन्ठीको मूल्य पनि राम्रै हुने गरेको बाह्रदशी १ का वडाध्यक्ष शम्भुसिंह राजवंशी बताउँछन् । पुजाआजासँगै आदिबासी समुदायले आगो सल्काउन सन्ठी प्रयोग गर्ने गरेका छन् । इन्धनको रुपमा अझै दाउरा प्रयोग गरिरहेका ग्रामीण भेगका आदिबासीहरुले आगो सल्काउन र गोइठा बनाउन सन्ठी प्रयोग गर्ने गरेको वडाध्यक्ष शम्भुसिंह बताउँछन् ।
करिव तीन दशकअघि झापाको प्रमुख नगदेबाली रहेको जुट खेती अहिले निकै घटेको छ । खासगरी जिल्लाका सिमावर्ती गाउँपालिकाहरु कचनकवल , बाह्रदशी , झापा र गौरीगञ्ज गाउँपालिकामा जुट खेती गर्ने गरिएको छ । गत वर्ष जिल्लामा ५९२ हेक्टर क्षेत्रफलमा जुट खेती गरिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । प्रतिहेक्टर १ मेट्रिक टनको दरले जुटको उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले बताए ।
आज लक्ष्मी पूजाका दिन पूर्वी नेपालका आदिवासी समुदायले हुकाहुकी खेल पर्व मनाउँदैछन् । अघिल्लो वर्षसम्म सामुहिक रूपमा मनाउँदै आएको हुकाहुकी खेल यस बर्ष भने कोरोना महामारीका कारण घरघरमै मनाउने भएका हुन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ९ : २९ बजे