४ माघ २०८२, शनिबार | Sat Jan 17 2026

झापाका सवै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा



लक्ष्मी उप्रेती

मेचीनगर । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रमा शुक्रबारबाट निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा झापा निर्वाचन क्षेत्र नम्बर –३ को निर्वाचन अधिकृतको कार्यालय भद्रपुरस्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको छ ।

जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृत झापा जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुईँटेलको कार्यालय रहने छ भने सोहि स्थानमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर —३ को कार्यालयसमेत रहने छ ।

झापाको निर्वाचन क्षेत्र नम्बर —३ मा ७१ हजार एकसय ७४ पुरुष र ६९ हजार छ सय ८३ महिलागरी कुल मतदाता एकलाख ४० हजार आठसय ५७ जना रहेका छन् । यसक्षेत्रको सहायक निर्वाचन अधिकृतको जिम्मेवारी डिल्लीराम प्रसाईलाई तोकिएको छ । यसक्षेत्रमा कुल ६७ वटा मतदान स्थल र एकसय ६४ वटा मतदान केन्द्र रहेका छन् ।

यसैगरी, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर —१ को निर्वाचन अधिकृतको कार्यालय मेचीनगर नगरपालिकाको कार्यालयमा रहेको छ । निर्वाचन सम्पन्न गर्नका लागि गोपी विश्वकर्मालाई निर्वाचन अधिकृत र टेकबहादुर श्रेष्ठलाई सहायक निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालका अनुसार झापाको निर्वाचन क्षेत्र नम्बर —१ मा ६५ हजार आठसय ५८ पुरुष र ६५ हजार दुईसय नौ महिला गरी कुल एकलाख ३१ हजार ६७ जना मतदाता रहेका छन् । यी मतदाताहरुले ४५ मतदान स्थलका एकसय ४५ वटा मतदान केन्द्रबाट मत खसाल्ने छन् ।

क्षेत्र नम्बर —२ मा निर्वाचन अधिकृतको कार्यालय अर्जुनधारा नगरपालिकाको प्रशासनिक भवनमा राखिएको छ । क्षेत्र नम्बर —२ मा महेश खत्री र शुक्रराज बान्तवालाई क्रमशः निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ । यसक्षेत्रमा कुल मतदाता संख्या एकलाख ४७ हजार पाँचसय २२ रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार ७३ हजार नौसय ५० पुरुष, ७३ हजार पाँचसय ६७ महिला र पाँचजना अन्य मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नम्बर —२ मा ४९ वटा मतदान स्थल र एकसय ६५ वटा मतदान केन्द्र कायम गरिएको छ ।

तुर्सा हेमरम प्रतिष्ठान कन्काई नगरपालिका —१ मा झापा निर्वाचन क्षेत्र नम्बर —४ को निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । निर्वाचन अधिकृत भिमप्रसाद भुर्तेल र सहायक निर्वाचन अधिकृत क्षेत्रनाथ शर्मा तोकिएका छन् । त्यसक्षेत्रमा ६६ हजार दुई सय ८३ पुरुष, ६४ हजार चारसय २८ महिला र एक अन्यगरी कुल मतदाता संख्या एकलाख ३० हजार सातसय १२ जना रहेका छन् । निर्वाचन कार्यालय झापाका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा यसक्षेत्रमा कुल एकलाख २३ हजार एकसय २४ जना मतदाता थिए । ६३ वटा मतदान स्थल रहेको क्षेत्र नम्बर ४ मा एकसय ५६ वटा मतदान केन्द्र रहेका छन्।

दमक —८ मा रहेको अर्ग्यानिक कृषि केन्द्रलाई झापा निर्वाचन क्षेत्र नम्बर —५ को निर्वाचन अधिकृतको कार्यालय बनाइएको छ । त्यसक्षेत्रको निर्वाचन अधिकृत बिदुरकुमार कार्की र सहायक निर्वाचन अधिकृत जीतबहादुर श्रेष्ठ रहेका छन् । क्षेत्र नम्बर —५ मा कुल मतदाता संख्या एकलाख ६३ हजार तीनसय ७९ रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार ८१ हजार ८१ पुरुष, ८२ हजार दुईसय ९६ महिला र अन्य दुई जना मतदाता छन् । यसक्षेत्रमा ६१ वटा मतदान स्थल र एकसय ८५ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

झापामा तीन लाख ५८ हजार तीन सय ४६ पुरुष, तीन लाख ५५ हजार एकसय ८३ महिला र आठ अन्य गरी कुल सातलाख १३ हजार पाँचसय ३७ जना मतदाता रहेका छन् । झापाका यी मतदाताहरुले पाँचवटा निर्वाचन क्षेत्रका दुईसय ८५ मतदान स्थलका आठसय १५ वटा मतदान केन्द्रबाट प्रतिनिधि सभा सदस्य चुन्ने छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन —२०७९ को तुलनामा फागुन २१ मा हुने निर्वाचनमा झापामा मतदाताको संख्या निक्कै बृद्धि भएको छ । निर्वाचन कार्यालय झापाको अभिलेख अनुसार २०७९ मा जिल्लामा तीन लाख ३१ हजार ४४ पुरुष, तीन लाख ३२ हजार दुई सय ५९ महिला र आठ अन्य गरी कुल मतदाताको संख्या छ लाख ६३ हजार तीन सय ११ जना रहेको थियो । २७ हजार तीन सय दुई पुरुष २२ हजार नौ सय २४ महिला गरी यसपटक ५० हजार दुई सय २६ जना मतदाता थपिएका छन् । त्यसैगरी, प्रतिनिधि सभा सदस्य निर्वाचन —२०७९ मा जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमा दुई सय ८५ मतदान स्थल र सात सय ६६ मतदान केन्द्र थिए । प्रतिनिधि सभा सदस्य निर्वाचन —८२ मा ४९ वटा मतदान केन्द्र थप गरिएको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, शनिबार  ६ : ०९ बजे