१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘गौरीगंजबासीको भाग्य र भविष्यको फैसला गर्ने अवसर आएको छ’ – फूलवती राजवंशी



गाैरीगंज / बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट झापाका १५ पालिका मध्ये गौरीगञ्ज गाउँपालिकामा अध्यक्ष पदकी प्रत्यासी हुन कांग्रेस नेतृ फूलवती राजवंशी  ।
 २०७४ कोे स्थानीय चुनावमा समेत सो पदमा उपविजेता बनेकी उनी अहिले दोश्रो पटक गाउँपालिका अध्यक्षको प्रत्यासीका रुपमा उभिएकी हुन । उनी कांग्रेसले झापा जिल्लाका स्थानीय तहमा बनाएका पालिका प्रमुख महिला उम्मेदवार दुई मध्येकी एक हुन ।
कांग्रेस झापा क्षेत्र नं ५ बाट महाधिवेशन प्रतिनिधि हुदैं १४ औं महाधिवेशनबाट प्रदेश नं १ को कार्यसमिति सदस्यमा समेत निर्वाचित भएकी उनलाई झापामै लोकप्रिय आदिवासी जनजाती महिला नेतृका रुपमा पार्टीले लिँदै आएको छ । कांग्रेसले जिल्लाका अन्य पालिकाहरुमा जस्तै गठबन्धनबाट उम्मेदवारहरु तय गर्ने प्रयत्न गरेपनि गौरीगञ्ज गाउसमितिले कांग्रेसको स्थानीय आवश्यकता र परिस्थितीको सुक्ष्म विश्लेषणका आधारमा अन्य कुनै दलसंग गठबन्धन नगरी एक्लै चुनावी मैदानमा उत्रिएको हो । त्यसको नेतृत्व गरेकी छिन फुलवतीले । प्रस्तुत छ अध्यक्षकी प्रत्यासी राजवंशीसंग चुनाव केन्द्रीत कुराकानीको सारसंक्षेप
:
गौरीगञ्जमा कांग्रेस कुन आधारमा एक्लै चुनाव लडदैछ ?
कांग्रेस एक्लो छैन । सबै गौरीगञ्ज गाउँपालिकाबासीहरु कांग्रेसको साथमा हुनुहुन्छ । दलगत रुपमा हेर्ने हो भने चाहिं एक्लैनै चुनाव लडेको हो तर कांग्रेसनै एक्लो चाहिं होइन । कांग्रेस जनताको पार्टी हो । कांग्रेसलाई गौरीगञ्जमा आम गौरीगञ्जबासी आमबुबा, दाजुभाई दिदीबहिनीहरुको साथ छ । गौरीगञ्जमा कांग्रेसको बेग्लै पहिचान र गर्व गर्न लायक इतिहास छ । हामीले पार्टीको यसपटकको चुनावी रणनीति अनुसार थोरबहुत अन्य दलहरुसंग संवाद नगरेको पनि होइन तर अस्तित्वनै मेटाएर , इतिहासनै मार्ने अप्रिय निर्णय हामीले लिन सकेनौं । आम कार्यकर्ताहरुको भावना पनि त्यही रहयो र कांग्रेसले सिंगल उम्मेदवारी दिएको हो । तर यहाँ कांग्रेस एक्लै चुनाव लडदै छैन । आम गौरीगञ्जबासी कांग्रेसको पक्षमा चुनाव लडदैछन ।
१. गाउ“पालिकामा नेपाली कांगे्रसको अवस्था कस्तो छ ?  
नेपाली कांग्रेसको अवस्था अन्य पार्टीको तुलनामा राम्रो छ । त्यसो भन्दैमा हामीले घरमै बसेर चुनाव जित्न सकिन्छ भन्न खोजेको होइन । हामी उम्मेदवारहरु संगसंगै कार्यकर्ताहरु टोल टोलमा जानु हुदैछ ।
तुलनात्मक रुपमा पहिलेका अरु चुनावमा जस्तो यसपटक सबै मतदाताका घर घरमा पुग्न सकिने गरीको पर्याप्त समय हामीसंग छैन  । निर्वाचन आयोगको तयारीनै तीब्र गतिमा छ भने हामी पार्टीहरुले त झनै स्पिडमा दौडिनुपर्ने अवस्था छ । सकेसम्म हामी मतदाता सम्म पुग्ने प्रयास गर्नेछौं । हामी आफैं सबै मतदाताको घरघरमा पुग्न नसकेपनि हाम्रो पार्टी संगठन छ , नेता कार्यकर्ताहरु हुनुहुन्छ । उहाहरु मार्फत हामी मतदाताको घर घरमा हाम्रा कुराहरु लिएर जादैंछौं । गौरीगञ्ज गाउपालिकाको अहिलेको जुन संरचना छ यो पनि भौगोलिक रुपमा केही बिकट क्षेत्रहरु पनि यहा पर्छन ।

तपाइले चुनाव जित्ने आधार के देख्नु भएको छ ?
पहिलो कुरा त हाम्रो पार्टीको महत्वपूर्ण भुमिकाबाट नै यो गौरीगञ्ज गाउपालिका बन्न सम्भव भएको हो । यहा अहिले उम्मेदवारका रुपमा रहेका भनौं वा अस्तित्वमा रहेका पार्टीहरु यो गौरीगञ्ज गाउपालिकाको पक्षमा नै थिएनन । गौरीगञ्ज क्षेत्रको इतिहासलाईनै मेटाउने उनीहरुको प्रयास थियो । कसैले यो भुगोललाई गौरादहसंग गाभ्न खोजेका थिए त कसैले शिवसताक्षीमा पनि गाभेर गौरीगञ्जको इतिहासनै मेटाउन लागेका थिए । त्यो कुराको स्मरण मात्रै गराएकी हु । हाम्रै पहलमा यो गौरीगञ्ज गाउपालिका सुनिश्चित भएको हो भन्दा अन्यथा हुदैन । अहिले हाम्रो पालिका छुट्टै अस्तित्व र पहिचानसंग जोडिएको पालिकाका रुपमा पनि छ । यसमा हाम्रो भुमिका भनौं या योगदानलाई गाउपालिकाबासीले बिर्सिन सक्नु हुन्न ।
अर्को कुरा यो पालिका विबिधताले भरिएको पालिका हो । यहा आदिवासी, सिमान्तकृत, पिछडिएको वर्गका मानिसहरुको बसोबास सघन रुपमा छ । ति सबैलाई जोडने र समेटने पार्टी कांग्रेसनै हो । त्यो कुरा बुझेरनै मतदाताहरुले हामीलाई पनि ठुलो साथ सहयोग गर्नुभयो र नै हामीले यसअघिको निर्वाचनमा बहुमत स्थानमा जित हासिल गर्न सकेको इतिहास छ । अध्यक्ष पदमा मैंले पराजय भोग्नु परेको तितो यथार्थ हो । त्यो हारजितको मतान्तर न्यून थियो । अहिले त्यो तथ्याङकमा परिवर्तन भइसकेको छ ।
तेस्रो कुरा म आफैं पनि यो पालिकाबासीका हरेक दुखसुखमा संगै छु । महिला सशक्तिकरणमा रहेर यहाका उत्पीडित जाती, समुदाय, हिंसामा परेका आमा, दिदीबहिनीहरुको पक्षमा काम गरेकी छु ।  
चौथो कुरा विगतमा यो पालिकामा हाम्रो नेतृत्व नहुदा जनताले भोग्नुपरेको समस्याले पनि अब यो पालिकाको प्रमुख पदमा नै महिलालाई अघि सारेको अवस्थामा सुशासनको अनूभुति गर्न पाइन्छ भन्ने आम गाउबासीहरुले बुझनु भएको छ । यहाका जल्दा बल्दा समस्याहरु महिलालाई आय आर्जनमा जोडने बिषयहरु पनि छन । हरेक मामिलामा महिलालाई सहज रुपमा सेवा प्रवाह गर्ने बिषय पनि छ । बिकासमा महिलाको सहभागिता र संविधानले दिएका मौलिकहरुको कार्यान्वयन गर्ने गराउने कुराहरु पनि छन । भौगोलिक, समुदायगत र अन्य विविध कोणबाट पनि न्यायोचित र समान व्यवहारको पनि अपेक्षा गाउबासीहरुले गर्नुभएको छ यिनै उहाहरुले मत जाहेर गर्ने आधार हुन ।  
. तपाईको उम्मेदवारी दोश्रो पटक आएको छ यसलाई कसरी लिनु भएको छ ?
हो मलाई गौरीगञ्ज गाउपालिकामा हाम्रो पार्टीले पहिला पनि एक पटक पालिका अध्यक्षको उम्मेदवार बनाएको थियो । मैंले सबै वडाहरुमा प्राप्त गरेको मत संख्याले हेर्दा म सन्तोषजनक छु । दुखद भन्नुपर्छ मतगणनाको अन्तिम समयमा अन्तिम मत परिणाम मेरो पक्षमा आउन सकेन ।
पार्टीको सबै तहमा यसका बिषयमा छलफल र समिक्षा भएको छ कि पार्टी भित्रको अन्तर्घातका कारण मैंले झिनो मतान्तरले बाहिरिनु पर्यो । मेरो त्यसबेलादेखिको प्रयत्न र चुनावी परिणामपछिको पनि निरन्तरको सक्रियतालाई आधार मानेरनै पार्टीले मलाई पुन एकपटक अवसर दिएको छ । पहिलेको चुनावमा भएको अन्तर्घातको आधार र कारण पनि प्रष्ट भइसकेपछि त्यस्ता तत्वहरुको पहिचान गर्ने काम भएको छ आज त्यस किसिमका नेता, कार्यकर्ता आफैं पार्टीबाट पलायन भएर गएका छन र पार्टी भर्खरैको महाधिवेशनबाट नया उर्जा, जोश जागरका साथ सशक्त रुपमा लागेको छ । सबैको सकारात्मक साथ सहयोग पाएकी छु मैंले यसलाई मेरो व्यक्तिगत भन्दा पनि समग्र गौरीगञ्जबासीको भाग्य र भविष्यको फैसला गर्ने अवसरका रुपमा लिएकी छु । म त्यसकुरामा इमान्दारितापूर्वक लाग्ने संकल्प गर्दछु ।  
. अध्यक्षको उम्मेदवारीका विषयमा असन्तुष्टि पनि देखिएको छ नि ?
उत्तर ः चुनावमा यस्तो हुन्छ । हाम्रो पार्टीमा मात्रै होइन भर्खरै खुलेका र केही सिमित कार्यकर्ताका लागि खोलिएका पार्टीमा पनि त्यस्तो अवस्था छ भने हाम्रो यो बृहत पार्टीभित्र धेरै उम्मेदवारहरुको नामावली आउछ । तिनै उम्मेदवारहरुबीच सहमतिमा पुग्ने प्रयास भएको बिषयलाई केही मान्छेहरुले आफू अनुकुल व्याख्या विश्लेषण गरेका होलान ।  यसलाई मैले सकारात्मक रुपमा लिएकी छु । असन्तुट साथीहरुले पार्टीको संस्थागत निर्णय मानेर चुनाव  केन्द्रीत भइसक्नु भएको छ ।
५. तपाई निर्वाचित भएमा गौरीगंज गाउपालिका भित्र के के गर्ने योजना बनाउनुभएको छ ?
उत्तर ः मेरो पहिलो प्राथमिकता भनेको नागरिकहरुको मौलिक हकको ग्यारेन्टी गर्ने हो । जुन संविधानप्रदत्त नागरिकको अधिकार पनि हो ।  गरिबी, बेजोरगारी समस्याको अन्त्य गर्ने मेरो संकल्प हुनेछ ।  यस क्षेत्रमा  रहेका नागरिकहरुको जिवनस्तर  उकास्न सीपमुलक र स्वरोजगारमुलक कार्यक्रमहरु ल्याइनेछ ।
 यस क्षेत्रमा रहेका सडकहरुको स्तरउन्नोति गरी स्तरिय ग्राभेल गर्नुको साथै हरेक बर्ष एक वडा एक कालोपत्रे सडक निर्माण गरिनेछ ।  खजुरगाछीमा रहेको आठमौजा छोटी भन्सार कार्यालयको स्तर उन्नति गरी यहाको व्यवसायिक तथा आर्थिक बिकासका लागि पहल गर्नेछु ।
 गौरीगंज गाउपालिकाको ६ वटै वडाका मुख्य बजारहरुको भौतिक पूर्वाधार बिकाससंगै एक बर्ष भित्रै सबै बाटोहरु स्तरीय ग्राभेल गरिनेछ । ,  स्वास्थ्य, खानेपानीको व्यवस्था, पुल कल्भर्टको निर्माण र मर्मतका लागि माथिल्लो तहका सरकारहरुसंग समन्वय गरेर पर्याप्त बजेटको व्यवस्था मिलाउन पहल गर्नेछु ।  चेतना अभिवृद्धीका कार्यक्रमहरुलाई अघि सार्दै यहाको पर्यावरण सुरक्षा गरिनेछ । युवाको लागि खेल मैदान, खजुरगाछी बजारस्थित त्रिभुवन आदर्श  पुस्तकालयलाई व्यवस्थित गरी सञ्चालन गर्ने, सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन आवश्यक समन्वयकारी भुमिका निर्वाह गर्नेछु । महिला तथा बालबालिका मैत्री गाउपालिकाको रुपमा बिकास गर्ने मेरो अठोट छ ।  
मठ मन्दिर, महाराजथान, मस्जिदलागयतको संरक्षण र संवद्र्घन गर्ने छु । यसलाई विशेष गुरु योजना तयार गरी पर्यटकीयस्थलको रुपमा विकास गर्ने छु । स्कुल, क्याम्पस, मठ मन्दिर, अस्पताल, पुस्तकालय, खेल मैदान, अतिथी सदन, खानेपानीलगायतका सार्वजनिक हितका लागि जग्गा दिने  जग्गादाताहरुको अभिलेख राखि विशेष सम्मान गर्ने व्यवस्था मिलाउने छु । गौरीगंज गाउपालिकाको ६ वटै वडालाई छुने  गरी मिनी रिङ्ग रोड निर्माणको योजना ल्याइनेछ । जसले आम पालिकाबासीलाई जोडन सहज हुनेछ ।     

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  १ : १७ बजे