१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

गौरीगंजमा पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस भव्य रूपमा सम्पन्न



गौरीगंज ११, पुस / पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस गौरीगंजमा भव्य रूपमा मनाइएको छ। ज्येष्ठ नागरिक संघ गौरीगंज गाउँ कार्य समितिको आयोजनामा गौरीगंज गाउँपालिका–३ स्थित काली मन्दिर परिसरमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमकी प्रमुख अतिथि गौरीगंज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी रहनुभएको थियो भने विशेष अतिथिका रूपमा उपाध्यक्ष पुजन न्यौपाने कुवँर सहभागी हुनुहुन्थ्यो। त्यस्तै कार्यक्रममा ज्येष्ठ नागरिक संघका जिल्ला सदस्य भेषराज दाहाल, वडा नं. ३ का वडा अध्यक्ष श्रवण गिरी, विष्णु न्यौपाने,देवी प्रसाद राजवंशीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा वडा नं. १ देखि ६ सम्मका करिब २०० जना ज्येष्ठ नागरिकलाई च्यावनप्रास वितरण गरिएको थियो। ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य र सामाजिक सुरक्षाप्रति सबै पक्षको ध्यानाकर्षण गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको सभापतित्व ज्येष्ठ नागरिक संघ गौरीगंजका अध्यक्ष भोला प्रसाद खतिवडाले गर्नुभएको थियो भने सञ्चालन संघका सचिव बुधकरण राजवंशीले गर्नुभएको थियो। कार्यक्रममा सहभागी अतिथिहरूलाई टोपी र खादा ओढाएर सम्मानपूर्वक स्वागत गरिएको थियो।

वक्ताहरूले ज्येष्ठ नागरिकको अनुभव, योगदान र सम्मानलाई समाज तथा राज्यले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनीहरूको हक–अधिकार संरक्षणका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताएका थिए।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ५ : ३७ बजे