१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कांग्रेसकाे प्रदेश १ अधिवेशन तयारी, भाेली उद्वघाटन शनिवार निर्वाचन



विराटनगर १५, मंसिर / नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश नं १ को प्रदेश अधिवेशनको तयारी पूरा भएको छ। अधिवेशन आयोजक समितिका संयोजक नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधवार प्रदेश राजधानी विराटनगरमा बसेको बैठक अधिवेशन सम्बन्धी तयारी र आयोजनाबारे छलफल गरेको हो।

प्रचार समितिका संयोजक राजीव कोइरालाले दिएको जानकारी अनुसार विराटनगर अस्पताल नजिकैको खुला मैदानमा बिहीबार २ बजे अधिवेशन उद्घाटन हुनेछ । बैठकले नेपाली काँग्रेस प्रदेश नम्बर १ को अधिवेशन आयोजक समितिको सम्पर्क कार्यालय मोरङ काँग्रेसको कार्यालयमा खोल्ने, प्रदेश अधिवेशन प्रतिनिधिको नामावली दर्ता बिहीबार पार्टी कार्यालयमा सुरु गर्ने, शुक्रवार बिहान ८ बजेदेखि १ बजेसम्म मोरङ पार्टी कार्यालयमा उम्मेदवारी दर्ता गर्ने र त्यही दिन अन्तिम नामावली प्रकाशन गर्ने निर्णय भएको कोइरालाले बताएका छन् ।

प्रदेश पदाधिकारी चयन गर्न विराटनगर अस्पताल छेउको मैदानमा शनिवार बिहान ८ बजेदेखि चुनावी प्रक्रिया सुरु हुनेछ । चुनावमा एक हजार ७ सय प्रदेश प्रतिनिधिहरूले मत खसाल्ने छन् । जसमा शुभेच्छुक संस्थाबाट १७ र भ्रातृ सङ्गठनका प्रतिनिधि १३ ले समेत मत खसाल्न पाउने छन् ।

काँग्रेसको प्रदेश समितिमा एक अध्यक्ष, दुई उपाध्यक्ष, दुई महामन्त्री, तीन सह-महामन्त्री एक महिलासहित, हरेक जिल्लाबाट महिला १४ र खुला १४ सदस्य, प्रत्येक निर्वाचन क्षेत्रबाट ६ महिला र १३ खुला सदस्य, खस आर्यबाट महिला ७ र खुला ५, जनजातिमा महिला ७ र खुला ८, मधेसी महिला एक र खुला एक, दलित महिला एक र खुला दुई, थारुतर्फ महिला एक र खुला एक, मुस्लिममा खुला एक, अल्पसङ्ख्यक र अपाङ्गमा एक सदस्य पदका लागि निर्वाचित हुने बताइएको छ।

बुधवार बसेको अधिवेशन आयोजक समितिको बैठकमा काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला, केन्द्रीय सदस्य महेश आचार्य, प्रदेशका सांसद, महानगर, नगरपालिका-गाउँपालिकाका मेयर/अध्यक्षहरू सहभागी थिए ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ६ : ०१ बजे