१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालयद्वारा सौर्य लिफ्टिङ तथा लघु जलविद्युत सीप विकास तालिम सुरु



मोरङ १६ , मंसिर / कोशी प्रदेश सरकार अन्तर्गत खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालयले विभिन्न डिभिजन कार्यालयमा कार्यरत इञ्जिनियर, सव–इञ्जिनियर तथा प्राविधिक कर्मचारीलाई लक्षित ३ दिने ‘सौर्य लिफ्टिङ प्रणाली डिजाइन तथा लघु जलविद्युत आयोजना मर्मत–सम्भार सीप विकास तालिम’ सुरु गरेको छ।

मोरङको बिराटचोकस्थित होटल नेपालीरिकामा सञ्चालन गरिएको तालिम कार्यक्रम मंसिर १६ गते सुरू भई १८ गतेसम्म चल्नेछ। तालिमको उद्घाटन माननीय मन्त्री एकराज कार्कीले गर्नुभएको हो। उद्घाटन समारोहको अध्यक्षता मन्त्रालयका सचिव पुष्कर प्रसाद पोखरेलले गर्नुभयो भने महाशाखा प्रमुख कृष्ण प्रसाद राजवंशीले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो।

प्रदेशभरका डिभिजन कार्यालयहरूबाट जम्मा २६ जना प्राविधिक कर्मचारी सहभागी भएका छन्। सौर्य लिफ्टिङ प्रणाली, लघु जलविद्युत आयोजना डिजाइन, सञ्चालन तथा मर्मत–सम्भारसम्बन्धी व्यवहारिक सीप अभिवृद्धि गर्ने उद्देश्य तालिमको मुख्य लक्ष्य रहेको आयोजकहरूले बताएका छन्।

उक्त तालिम सञ्चालनका लागि GIZ नेपाल अन्तर्गतको REEEP–GREEN कार्यक्रमले सहयोग प्रदान गरेको छ। REEEP–GREEN कार्यक्रमले प्रदेश सरकार तथा स्थानीय तहलाई नविकरणीय ऊर्जा प्रवर्द्धन, योजना निर्माण, प्राविधिक परामर्श तथा कार्यान्वयनमा निरन्तर समर्थन गर्दै आएको छ।

तालिमबाट सहभागी प्राविधिकहरूले प्रदेशभरिकै सौर्य ऊर्जा तथा लघु जलविद्युत आयोजनामा आवश्यक प्राविधिक दक्षता वृद्धि हुने, योजना कार्यान्वयन प्रभावकारी हुने तथा ग्रामीण क्षेत्रमा दिगो ऊर्जा पहुँच विस्तारमा टेवा पुग्ने अपेक्षा राखिएको छ।

प्रकाशित मिति : १७ मंसिर २०८२, मंगलबार  ५ : २८ बजे