
दर्ता नभएकोले सरकारले समाजिक संजालमाथि प्रतिबन्ध लगाएसँगै त्यसको विरोधको क्रममा ‘नेपो बेबी’ अभियानले नेपालमा औपचारिकरुपमा प्रवेश पाएको छ ।
यो अभियानमा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि सक्रिय साथ दिने बताएपछि सुरक्षा निकाय संशकित भएको छ ।
यो आन्दोलनको नेतृत्व कसले गरेको हो भन्ने अझै स्पष्ट भएको छैन, तर अभियानलाई समर्थन गर्ने अधिकांश ‘जेन जी’ पुस्ताका युवाहरुको सहभागिता रहने अनुमान गरिएको छ ।
अभियानले सोमबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गर्ने तयारी गरिरहेको छ भने त्यसलाई प्रसाईंले पनि साथ दिने घोषणा गरेका छन् । त्योसँगै ‘चैत्र १५ को घटना दोहोरिन नदिन’ सुरक्षा निकायले कडा तयारी गरेको छ । प्रसाईंको नेतृत्वमा गत चैत्र १५ गते तिनकुनेमा भएको सरकार विरोधी प्रदर्शनमा ठूलो मात्रामा धनजनको क्षति भएको थियो ?
के हो ‘नेपो बेबी’ अभियान ?
नेपालको लागि नयाँ शब्द र अभियान हो—नेपो बेबी अभियान । नेता वा उच्च पदस्त अधिकारीका सन्तान बुझाउने सन्दर्भमा ‘नेपो बेबी’ शब्द प्रयोग हुने गर्छ । यो शब्द पहिलो पटक ३ वर्ष अगाडि सन् २०२२ मा ‘इयर अफ द नेपो बेबी’ शिर्षकमा एउटा कभर स्टोरी प्रकाशित गरेको थियो । त्यसयता यो शब्द समाजिक संजाल र संचार माध्यममा निकै प्रयोग हुँदै आएको छ ।
यो शब्दले आफ्ना बाबु—आमा वा हजुर बुवा—हजुर आमाको नाममा उनीहरुका सन्तानहरुले गर्ने राज्य संयन्त्रको दुरुपयोग वा भ्रष्टाचारलाई बुझाउने अर्थमा ‘नेपो बेबी’ शब्दको प्रयोग गरिन्छ । ‘नेपो बेबी अभियान’ले त्यस्ता भ्रष्ट सन्तानको विरोध गर्ने अभियानलाई बुझाउँछ ।
विश्वका अन्य कतिपय देशमा जस्तै नेपालमा पनि राजनीतिक नेताहरु र उच्च पदस्तहरुका सन्तानहरुले राज्य सत्तामा आफ्ना अभिभावकको पहुँचलाई दुरुपयोग गर्दै भ्रष्टाचार र आर्थिक अनियमितता गर्नुका साथै अतिसय बिलासी जीवन विताउने गरेका घटनाहरु सार्वजनिक हुँदै आएका छन् ।
“नेताका सन्तान विदेशबाट गुचीको ब्याग लिएर फर्कन्छन्, जनताका छोराछोरी बाकसमा’ भन्दै टिकटक लगायतका सामाजिक सञ्जालमा शुरु भएको “नेपो बेबी“ अभियानले विभिन्न नेताका सन्तानहरूको सम्पन्न जीवनशैली सार्वजनिक गरिरहेका छन् ।