३२ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025

गौरीगंजका युवाद्वारा स्थानीय उत्पादनको शुरुवातः पालिकाको सहयोगमा स्वरोजगारतर्फ नयाँ पाइला



गौरीगंज ३०, जेठ /
स्थानीय स्रोत र सीपको उपयोग गर्दै युवालाई स्वरोजगारमा आकर्षित गर्ने उद्देश्यसहित झापाको गौरीगंज गाउँपालिका–३ मा स्थानीय उत्पादनमूलक व्यवसाय सुरु गरिएको छ । पाथिभरा हेल्थ एण्ड वेलनेस फाउण्डेसन दमकले सञ्चालनमा ल्याएको उक्त परियोजनालाई गाउँपालिकाले ३ लाख रुपैयाँको लागतमा आर्थिक सहयोग प्रदान गरेको छ । परियोजनामार्फत कोदोको पिठो, फापरको सातु, चनाको सातु, मकैको सातु लगायतका स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित अर्गानिक उत्पादन बजारमा ल्याउने तयारी गरिएको छ ।

स्वरोजगार र उत्पादनलाई जोड्दै
फाउण्डेसनका अध्यक्ष विष्णुप्रसाद पोख्रेलका अनुसार उत्पादनमा संलग्न ७ जना युवालाई पूर्वतयारीको रुपमा आवश्यक सीप तालिम दिइएको छ । “हामीले विउपुजीका रुपमा युवाहरुलाई सशक्त बनाउँदै, उनीहरुलाई बजार मूल्य, प्याकेजिङ्ग, गुणस्तर मापन, खाद्य सुरक्षा लगायतका प्राविधिक पक्षमा समेत दक्ष बनाउने काम सुरु गरेका छौं,“ अध्यक्ष पोख्रेलले बताए ।

गाउँपालिकाको ‘ब्राण्डिङ’ रणनीति
गाउँपालिकाका अध्यक्ष फुलवती राजवंशीले युवाले सुरु गरेको यो प्रयासलाई ‘स्थानीय ब्राण्ड’ का रुपमा स्थापित गर्न पालिकाले दीर्घकालीन योजना बनाएको जानकारी दिइन् । उनका अनुसार, ‘स्वस्थकर र अर्गानिक उत्पादनलाई विद्यालयका खाजामा अनिवार्य रूपमा समावेश गर्ने नीतिगत तयारी हुँदैछ । यसले उत्पादनलाई स्थायी खपत सुनिश्चित गर्नुका साथै विद्यार्थीको पोषणमा पनि योगदान पु¥याउनेछ । ’

उपाध्यक्ष पुजन न्यौपाने कुँवरका अनुसार यस योजनाले गाउँपालिकाको पहिचान र स्वाभिमानमा नयाँ आयाम थप्नेछ । “यो केवल व्यवसायिक पहल होइन, गाउँपालिकाबाट उत्पादन हुने पहिलो ब्राण्डेड वस्तु हा े। यसले हामीलाई आत्मनिर्भरताको बाटोतर्फ अघि बढाउँछ,” उनले भनिन ्।

स्थानीय उत्पादनको विशेषता
शुरुवाती चरणमा उत्पादन हुने वस्तुहरु सम्पूर्ण रूपमा अर्गानिक र स्थानीय स्रोतबाट निर्मित हुनेछन् । कोदो, फापर, चना, मकै जस्ता अन्न, जुन परम्परागत रूपमा पहाडदेखि तराईसम्म प्रचलित छन्, अब नयाँ स्वाद र आकर्षक प्याकेजिङमा बजारमा उपलब्ध गराइनेछ ।
फाउण्डेसनका अनुसार यी उत्पादनहरूमा न त रासायनिक पदार्थ मिसावट हुनेछ, न त कुनै मिलावट । सम्पूर्ण प्रक्रिया पारदर्शी र सुरक्षित ढंगले हुनेछ, जुन उपभोक्ताको स्वास्थ्य र सन्तुष्टिसँग प्रत्यक्ष जोडिएको छ ।

स्वरोजगार अभियानको प्रभाव
स्थानिय युवाहरूले गाउँमै उपलब्ध कच्चा पदार्थ, सीप र संस्थागत सहकार्यबाट आफ्नो जीवन यापन गर्न सक्ने उदाहरणस्वरुप यो परियोजना अघि सारिएको हो । “श्रम विदेशमा होइन, गाउँमै गर्ने हो भन्ने सन्देश दिन यो प्रयास गरिएको हो,” अध्यक्ष पोख्रेलले स्पष्ट पारे ।
यस योजनाले भविष्यमा थप युवालाई स्वरोजगार तर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ । अहिलेका ७ जना सहभागीबाट विस्तार गर्दै पालिका भरी १०० भन्दा बढी युवालाई समेट्ने लक्ष्य फाउण्डेसनले राखेको छ ।

शिक्षामा पोषण र बजारमा विश्वास
विद्यालय स्तरमा स्थानीय उत्पादनको प्रयोगबाट पोषणयुक्त खाजाको प्रवद्र्धन हुनेछ भने बजारमा उपभोक्ताले सुरक्षित र गुणस्तरीय उत्पादन पाउनेछन् । यसले स्थानीय उपभोक्ता र उत्पादकबीचको विश्वास बलियो बनाउने छ ।
नीति, योजना र समुदायबीचको समन्वय
गाउँपालिकाको सहयोगमा अगाडि बढाइएको यो परियोजनाले सरकारी, गैरसरकारी र समुदायबीचको सहकार्यको एउटा सकारात्मक उदाहरण पनि प्रस्तुत गरेको छ । योजना निर्माण, कार्यान्वयन र अनुगमनमा पालिका, फाउण्डेसन र स्थानीय युवाको समन्वय देखिएको छ ।

स्थानीय स्रोतको सदुपयोग, युवाको सीप र जोश, र गाउँपालिकाको समर्पण मिलेर गौरीगंज–३ मा सुरु भएको यो परियोजना स्वरोजगारको उत्कृष्ट अभ्यास बन्ने सम्भावना बोकेको छ । अब आवश्यक छ — दीर्घकालीन सोच, नीति समर्थन, र समुदायको निरन्तर साथ । यस्तो प्रयासले गाउँ विकासको दृष्टान्त मात्र होइन, “गाउँमै रोजगारी, गाउँमै ब्राण्ड“ को राष्ट्रिय नारा स्थापित गर्न सक्छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शुक्रबार  ७ : ५७ बजे