१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

माओवादी विराटनगरमा राजवंशीको प्यानल नै विजयी



विराटनगर  १३, वैशाख । नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको अध्यक्षमा दिनेश कुमार राजवंशी (देव) को प्यानल निर्वाचित भएको छ ।

शनिबार सम्पन्न निर्वाचनमा राजवंशीले ४६ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी नमिता न्यौपानेले ३५ मत प्राप्त गरिन् ।

यसअघि महानगरको उपाध्यक्ष रहेका राजवंशी अब नयाँ नेतृत्वमा उक्लिएका छन् भने पूर्व सचिव न्यौपाने अध्यक्ष पदको दौडमा पराजित भएकी छन् ।

एकातिर माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवकुमार मण्डल समूहले राजवंशीको नेतृत्वमा प्यानल बनाएका थिए भने अर्कातिर माओवादी केन्द्रका मोरङ इन्चार्ज कुलप्रसाद साम्बा नेतृत्वको समूहले न्यौपानेलाई अध्यक्ष पदका उम्मेदवार बनाएको थियो ।

राजवंशीको समूहबाट उपाध्यक्षहरूमा चन्द्रबहादुर वन (३६ मत), धर्मलाल माझी (५८ मत) र सनोज कुमार यादव (४४ मत) निर्वाचित भए । यसैगरी, सचिवमा सोनु मेवट ४२ मत ल्याएर विजयी भए भने सहसचिवमा दिनेश कुमार कामत ३९ मत ल्याएर निर्वाचित भए ।

न्यौपाने समूहबाट उपाध्यक्षका उम्मेदवारहरू केमुना ओडारी (शारदा), चन्द्रबहादुर वन र शिवराम थन्दारले क्रमशः ३३, ३६ र ३३ मत प्राप्त गरे । सचिवमा मोहमद अजामले ३६ मत र सहसचिवमा भरत गिरी (गोसाइ) ले ३२ मत प्राप्त गरे । सहसचिवकै अर्का उम्मेदवार चम्पा खत्रीले भने जम्मा ७ मत प्राप्त गरिन् ।

कोषाध्यक्षमा भने मनिष सोनी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । माओवादी केन्द्रको विधान अनुसार, कार्यसमिति सदस्यहरूले मतदानमार्फत पदाधिकारी चयन गर्ने प्रावधान रहेको छ ।

यस निर्वाचनमा ८१ जना कार्यसमिति सदस्यहरूले मतदान गरेका थिए ।नवनिर्वाचित अध्यक्ष राजवंशीले निर्वाचनपछि दिएको प्रतिक्रियामा भने, ‘पार्टीप्रति विश्वास र जिम्मेवारी दिनुभएकोमा सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई धन्यवाद दिन चाहन्छु । हामी सबै मिलेर पार्टीलाई अझ मजबुत बनाउने र विराटनगरको विकासमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ८ : ४३ बजे