६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

छात्रामाथि दुर्व्यवहार गर्ने कमलका शिक्षक भट्टराईलाई कैद फैसला



दमक/  विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने झापाको कमल गाउँपालिका– ३ स्थित सहिद धर्मभक्त माध्यमिक विद्यालयका शिक्षक शिवकुमार भट्टराईलाई एक वर्ष कैद सजाय भएको छ । जिल्ला अदालत झापाका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजालसले बिहीबार शिक्षक भट्टराईलाई बालबालिकाविरुद्धको कसुर (बाल यौन दुर्व्यवहार)मा एक वर्ष कैद, दश हजार रुपैयाँ जरिवाना र ४० हजार क्षतिपूर्तिको फैसला गरेको हो । 

भट्टराईविरुद्ध सोही विद्यालयमा कक्षा ७ र ८ मा पढ्ने तीन बालिका ‘छ’, ‘ज’, र ‘झ’ (सांकेतिक नाम)ले इलाका प्रहरी कार्यालय दमकमा गत भदौमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा जिल्ला अदालत झापामा मुद्दा दर्ता भएको थियो ।

अदालतले उनलाई प्रत्येक मुद्दामा एक–एक वर्ष कैद, जनही दश हजार जरिवाना (कुल ३० हजार) र जनही ४० हजार क्षतिपूर्ति (कुल एक लाख २० हजार) तोकेको जिल्ला अदालत झापाका सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए । प्रत्येक मुद्दामा एक–एक वर्ष गरी तीन वर्ष कैद हुन आउँछ । तर, उनले एक वर्ष मात्र कैद सजाय कटाए हुने सूचना अधिकारी बस्नेतले बताए ।

‘एकै कसुरको मुद्दा हो । एकै समयमा भएको घटना पनि भएकाले मुद्दामा कैद हद हुन्छ । भट्टराईले एक वर्ष सजाय काटे हुन्छ,’ उनले भने । शिक्षक भट्टराईले ती बालिकालाई विद्यालयमै यौन दुर्व्यवहार गरेका थिए । उनले कक्षाकोठामा गृहकार्य जाँच गर्ने क्रममा बालिकाहरूको संवेदनशील अंग चलाउने, ढाड मुसार्नेलगायत यौन दुर्व्यवहार गर्ने गरेका थिए । मुद्दा दर्ता भएपछि जिल्ला अदालत झापाले तीनवटै मुद्दामा ४ असोज ०८१ मा ६ लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएको थियो । तर, बिहीबार अदालतले फैसला गर्दै उनलाई कैद सजाय तोकेको हो ।

फैसलापछि पनि हाजिर गर्न पुगे शिक्षक भट्टराई
शिक्षक भट्टराई सहिद धर्मभक्त माध्यमिक विद्यालयका मावि तहका शिक्षक हुन् । उनी धरौटीमा रिहा भएपछि पनि निरन्तर विद्यालय गएर पढाइरहेका थिए । त्यति मात्र होइन, उनलाई कैद सजाय भएपछि उनी विद्यालय गइरहेका छन् । उनले शुक्रबार पनि विद्यालयमा पुगेर हाजिर गरेका थिए ।

‘अहिले शिक्षकहरूको आन्दोलनका कारण विद्यालय खोलेर रजिस्टरमा हाजिर गरिएको छैन । सबै शिक्षकले विद्यालय पुगेर त्यहाँ बाहिर राखेको एउटा पानामा हाजिर गरिरहेका छन् । उहाँ (भट्टराई)ले पनि त्यसरी नै हाजिर गर्नुभएको हो,’ कमल गाउँपालिकाका शिक्षा शाखा सूर्यप्रसाद न्यौपानेले भने, ‘अदालतको फैसलाबारे विद्यालय अञ्जान छ । अहिले जानकारी नभएकाले उहाँ विद्यालय आउनुभएको हो । फैसलाबारे सम्बन्धित निकायबाट आधिकारिक आएपछि कानुनबमोजिम हुनेछ ।’

अदालतको फैसलापछि पीडित बालिका ‘छ’ले न्याय पाएको महसुस भएको बताएकी छिन् । ‘सुरुमा त न्याय पाइँदैन कि भन्ने डर थियो । तर, अदालतको फैसलाले न्याय पाएको महसुस भएको छ,’ उनले भनिन्, ‘विद्यालयमा हामी बालिकामाथि हुने यौन दुव्यर्ववहारको विरुद्धमा बोल्नुपर्छ, न्याय पाइन्छ भन्ने भएको छ ।’

पीडित बालिका ‘छ’ की आमाले सुरुमा जाहेरी दर्ता हुँदादेखि नै दबाब झेल्नुपरेको बताइन् । ‘सुरुमा मुद्दा नहाल्न भनेर धेरै दबाब दिए । त्यसले गर्दा न्याय पाइँदैन कि भन्ने थियो । तर, हामीले कानुनी उपचार खोज्ने भनेर अडान लियौँ,’ उनले भनिन्, ‘गाउँका मान्छेले समेत मुद्दा हाल्नुहुँदैन भनेका थिए । तर, अदालतको फैसलाले खुसी बनाएको छ ।’

०७७ मा यस्तै आरोपमा उन्मुक्ति
अहिले दोषी ठहर शिक्षक भट्टराईमाथि यसअघि पनि विद्यालयकै छात्राहरूले यौन दुर्व्यवहारको आरोप लगाएका थिए । पीडितले ०७७ माघमा इलाका प्रहरी कार्यालयमा दमकमा जाहेरी दिए पनि बालिकाका परिवारलाई मुद्दा दर्ता नगर्न दबाब दिएर मुद्दा दर्ता गर्नबाट रोकिएको थियो । भट्टराईले त्यसपछि पनि दुर्व्यवहार दोहो¥याएपछि अहिले कानुनी फन्दामा परेका हुन् ।  नयाँ पत्रिकाबाट

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ९ : ३३ बजे