३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025

झापामा राजावादी आन्दोलनको अगुवाई गर्ने राजवंशी को हुन् ?



झापा , बैशाख १ । दुईजनाको मृत्यु र २० जना घाइते भएको तीनकुने हिंसात्मक घटनापछि राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी नजरबन्दमा छन् ।

प्रहरीले संयुक्त जनआन्दोलन समितिका कमाण्डर दुर्गा प्रसाई , सदस्य सचिवसमेत रहेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र उक्त समितिमा आन्दोलन परिचालन समितिमा रहेका राप्रपा महामन्त्री धवल शम्शेर राणालाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ। तीनकुने क्षेत्रमा भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म १७८ जनालाई नियन्त्रणमा लिएर तीमध्ये ८२ जनामाथि म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रतिकुल अबस्थामा झापामा राजावादी आन्दोलनको अगुवाई गर्ने साहसी टेकनारायण राजवंशीले गरेका छन् ।

पञ्चायतकालीन राजनीतिज्ञ तथा पूर्व राज्यमन्त्री टेकनारायण राजवंशीले झापामा राजावादीहरुलाई भेला गराएर आन्दोलन समिति विस्तार गर्ने जिम्मेवारी पाएका हुन् । अधिवक्ता एवम् राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालको उपस्थितिमा हिजो दिउँसो बिर्तामोडमा भएको भेलाले नवराज सुवेदीको संयोजकत्वमा रहेको केन्द्रीय समितिलाई झापामा विस्तार गर्न पूर्व राज्यमन्त्री टेकनारायण राजवंशीको संयोजकत्वमा भेला आयोजक समिति गठन गरेको हो । आयोजक समितिले आगामी शनिवार बिर्तामोडमा भेला राख्ने र सोही भेलाले संयुक्त जनआन्दोलन जिल्ला समिति गठन गर्ने जनाइएको छ ।

झापा बाह्रदशी १ बक्राझारी निवासी ७८ वर्षीय राजवंशी राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी र उनी नजरबन्दमा परेपछि कार्यबाहक संयोजक बनेका जगमान गुरुङको निकट हुन् । झापामा संयुक्त जनआन्दोलन समिति विस्तार गर्ने चर्चा चलिरहँदा राजावादी केन्द्रीय नेताहरुले राजवंशीकै नाम सिफारिस गरेका थिए ।

यस्तो छ राजवंशीको राजनीतिक जीवनी
विक्रम सम्वत् २००४ सालमा पिता अमरलाल राजवंशी र माता तारादेवी राजवंशीको कोखबाट २००४ साल चैत १ गते उनको जन्म भएको थियो । उनी राजवंशी समुदायकै पहिलो डिग्री होल्डर हुन् । उनले सन् १९७७ मा अर्थशास्त्रमा स्नातोकोत्तर गरेका थिए ।

राजनीतिक जीवनीलाई हेर्दा राजावादी र राष्ट्रवादी नेता राजवंशीले २०२८ सालमा युवक संगठनबाट राजनीति शुरुवात गरेका थिए । पञ्चायत कालमा युवक संगठनको निर्वाचनमा केशवकुमार बुढाथोकीसंग उनी ३ मतले पराजित भएका थिए । राजवंशी समुदायका पढेलेखेका भएका कारण झापाली राजनीतिमा अगाडि बढ्दै गई उनी २०४४ सालमा जिल्ला पञ्चायत झापाको सभापति बनेका थिए । उनले बहुदल आउनुअघि ३ वर्ष जिल्ला पञ्चायत ( २०४६ पछि जिल्ला विकास समिति र हाल जिल्ला समन्वय समिति) चलाएका थिए । निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी नेपालमा बहुदलीय व्यवस्थाको लागि २०४६ सालमा भएको आन्दोलनको विरुद्धमा लागेका राजवंशी पक्राउ परी ५ महिना जेल गएका थिए ।

पछि पूर्व राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १७ गते ‘कू ’ गरेर प्रत्यक्ष शासन आफ्नो हातमा लिएपछि राजवंशी शाहीकालमा श्रम तथा यातायात राज्यमन्त्री बनेका थिए । २०६२–०६३ को जनआन्दोलनको शक्तिले राजाको शासन अन्त्य गर्नुअघि उनले करिव ५ महिना राज्यमन्त्री चलाएका थिए ।

उनी आदिवासी नेता पनि हुन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका संस्थापक सदस्य राजवंशीले २०६० देखि ०६३ सम्म त्यसको सदस्य भएर काम गरेका थिए । उनी त्यस प्रतिष्ठानको मस्यौदा निर्माण गर्न गठित कार्यदलका सदस्यसमेत हुन् ।

लोकतन्त्रपछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा लागेका उनी पार्टी विभाजनपछि चन्द समूहतिर लागेका थिए । उनी चन्द समूहको संस्थापक झापा जिल्ला उपसभापति हुन् । त्यसपछि सोही समूहको केन्द्रीय परिषद सदस्य बनेका थिए । पार्टी एकीकरणपछि उनी राप्रपाको केन्द्रीय सदस्य भएका थिए ।

केही वर्षदेखि सक्रिय राजनीतिमा नरहेका उनले राजसंस्थानजिक रहेर काम गरिरहेका थिए । उनले केही वर्षअघि पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो गाउँमा लगेर भव्य स्वागत गरेका थिए । राजसंस्थाप्रति कट्टर आस्था र विश्वास राख्ने राजवंशी भन्छन् ,‘ राजा बोक्न तयार भए आफू आउने भनेर समितिमा बस्ने सहमति जनाएको थिएँ ।’

राजावादीहरुको आन्दोलन समितिमा राप्रपा र राप्रपा नेपालप्रति असन्तुष्ट रहेका धेरै नेता कार्यकर्ता आउने उनले दावी गरेका छन् । १७ सदस्यीय भेला आयोजक समितिलाई हेर्दा पूर्व पञ्चदेखि लिएर राप्रपाका कार्यकर्ताहरु संलग्न रहेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ८ : २९ बजे