१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार्न लागि परे कमल गाउँपालिकाका अध्यक्ष राई



दमक/झापाको कमल गाउँपालिकाले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तरका लागि ध्यान केन्द्रित गरेको छ ।
पालिका अध्यक्ष हुकुमसिंह राई शिक्षा समितिका सदस्य र सम्बन्धित शाखाका कर्मचारीसहित पछिल्लो समय लगातार पालिका अन्तर्गतका सामुदायिक बिद्यालयहरुको अवस्था बुझ्न बिद्यालयमै पुगिरहेका छन ।
गाउँपालिका भित्रका सामुदायिक बिधालयहरुको भौतिक, शैक्षिक गुणस्तर तथा शिक्षक, शिक्षिकाहरुको समस्याहरुको नीतिगत रुपमै समाधान खोज्ने प्रयत्नस्वरुप बिद्यालयमै पुगेर बिद्यार्थी र शिक्षकहरुको तथ्याङक लिने र बिद्यालयको समस्याको समाधान सके सम्म बिद्यालय भित्रै नभए स्थानीय सरकारबाट गर्ने लक्ष्यसहित प्रधानाध्यापक, शिक्षक, बिद्यार्थीहरुसंग छलफल चलाइएको अध्यक्ष राईले बताएका छन । स्थानीय सरकारले सबै सामुदायिक बिद्यालयहरुमा चाँडै सीसी क्यामेरा जडान गरेर प्रविधिको प्रयोगमार्फत प्रभावकारी रुपमा बिद्यालयहरुको अनुगमन गर्ने तयारी भइरहेको जनाएको छ । हाल सम्म कमलका ४ सामुदायिक बिद्यालयमा सीसी क्यामेर जडान भइसकेका बताइएको छ ।
गाउँपालिकाले शिक्षाको गुणस्तर सुधार र शैक्षिक पूर्वाधारमा गत बर्षको तुलनामा चालू आर्थिक बर्षमा झण्डै दोब्बर बनाएको छ ।
माथिल्लो तहका सरकारसँग सम्बन्धित बिषय पनि छन तर अधिकतम समस्याको हल स्थानीयस्तरमै खोजौं भन्ने हाम्रो अठोट हो–अध्यक्ष राईले भने ।
प्रधानाध्यापक र शिक्षकहरुबाट बिद्यालयका समस्याहबारे जानकारी तथा सुझावसहित शैक्षिक गुणस्तरका बिषयमा लागि पर्ने साझा प्रतिबद्धता समेत लिने गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेले बताए ।
उनका अनुसार बिहिबार र शुक्रबार शिक्षा समिति संयोजक समेतको जिम्मेवारी सम्हालिरहेका पालिका अध्यक्ष राईको नेतृत्व र निर्देशनमा मंगलमय माध्यमिक बिद्यालय,ज्योति माध्यमिक बिद्यालय,सरस्वती माध्यमिक बिद्यालय, महेन्द्ररत्न माध्यमिक बिद्यालय र नवदुर्गा आधारभुत बिद्यालयमा पुगेर अध्यक्ष राईले त्यस किसिमको छलफल र अन्तरक्रिया गरेका हुन ।
अध्यक्ष राईले चाँडै थप बिद्यालयहरुमा पनि पुगेर आएका तथ्य, तथ्याङकहरुसहित शिक्षा समितिको बैठक बसी आवश्यक प्रकृया अघि बढाउने जनाएका छन ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ८ : ०० बजे