झापा, मंसिर २१ । झापाको बिर्ताबजार–घैलाडुब्बा सडकखण्डमा फनमिन बोर्डिङ स्कुलको बस पल्टिएर शुक्रवार दुर्घटना भएको छ ।
अपरान्ह ४.१५ बजे बिर्तामोड नगरपालिका वडा नं.– ३ खुकुरी चौकस्थित बिर्ताबजार– घैलाडुब्बा भित्री सडकखण्डमा बिर्ताबजारबाट फनमिन बोर्डिङ स्कुलतर्फ जाने क्रममा ना४ख ७४४० नम्बरको बस आफै अनियन्त्रित भई रोड साईडमा पल्टिँदा मानवीय क्षति हुन पाएन । सौभाग्यबश सो बस विद्यार्थीहरुलाई पुर्याएर फर्किदै गरेको थियो । बस चालक बिर्तामोड–३ बस्ने ४१ वर्षीय देवकुमार राजबंशी सकुशल रहेको र बसलाई दुर्घटनास्थलबाट उठाउन पहल भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै दुई दिनअघि गौरीगञ्जमा स्कुल बसको ठक्करबाट बाबु छोरा घाइते भए । गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ बहुन टोलस्थित भित्री सडकखण्डमा तुलाचन चौकबाट टटुवामारी चोकतर्फ जाँदै गरेको प्र१–०१–००१ क ९७८ नम्बरको देवकोटा बोर्डिङ स्कुलको बस र बिपरित दिशाबाट आउँदै गरेको प्र–१–०१–०१६ प ५०६७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक गौरीगञ्ज आँपगाछी बस्ने १९ वर्षीय अन्वारीश कुमार राजवंशी र मोटरसाइकलमा पछाडि सवार उनका बुवा ५५ वर्षीय फागु राजवंशी घाइते भएका थिए ।
टाउको र दाहिने खुट्टामा चोट लागेका अन्वारीशकुमार सामान्य घाइते छन् भने फागुको अबस्था गंभीर रहेको छ । दुवै जना घाइतेलाई गौरीगञ्ज आधारभूत अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि निम्स अस्पताल दमक रेफर गरिएको छ ।
बस र बस चालक गौरीगञ्ज ३ तेलगानी बस्ने ४१ वर्षीय एगराज कटुवाल इलाका प्रहरी कार्यालय गौरीगञ्ज र मोटरसाइकल प्रहरी चौकी कोरोबारीको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसरी झापामा स्कुल बस दुर्घटना हुने क्रम बढेको छ । थोत्रा बस र त्यसमा बस चालकहरुले लापरवाहीका कारण चलाउने गर्दा स्कुल बस दुर्घटना बढेको हो । कन्डिसनमा नभएको फनमिनको बस आफै अनियन्त्रित भएर पल्टिएको बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले बताए । उनले स्कुल बसहरुको लापरवाही बढेकाले त्यसतर्फ ट्राफिक प्रहरीको ध्यान जान जरुरी भएको बताए ।सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि सामुदायिक तथा निजी विद्यालयका सवारी साधनहरुको अनुगमन जरुरी भएको हो ।
बिर्तामोड क्षेत्रमा चल्ने विद्यालयहरुका सवारीहरुको अवस्था, चालकको सवारी चालक अनुमतिपत्रलगायतका विषयमा ट्राफिक प्रहरी कार्यालयले चेकजाँच गर्नुपर्ने वडाध्यक्ष बुढाथोकीको भनाई छ । झापाका करिव चार सय संस्थागत विद्यालयका ११०० को हाराहारीमा स्कुल बस छन् । त्यसमा केही विद्यालयहरुले २० वर्षभन्दा माथिका थोत्रा गाडी चलाइरहेका छन् ।
केही विद्यालयहरुले पुराना रात्रिबसलाई मर्मत गरेर स्कुल बसको रुपमा चलाइरहेको प्याब्सन झापाका अध्यक्ष गौरीमान फागो स्वीकार गर्छन् । उनले अन्तर्राष्ट्रिय नियमअनुसार स्कुल बसलाई पहेलो बनाउन लगाएपनि स्कुल बस बाटोमा गुड्दा कसैले पनि प्राथमिकता नदिएको गुनासो गरे ।
त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख , प्रहरी निरीक्षक गणेश पौडेलले साना नानीबाबुहरुलाई बसमा हालेर पठाउने स्कुल संचालक र कुदाउने चालक बढी जिम्मेवार हुनुपर्ने बताए । उनले कतिपय स्कुल बसहरुले लापरवाही गर्दै आएकाले उनीहरुको नियमन गरिने जानकारी दिए ।