२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

झापामा भारी वर्षा, २९५ मिलिमिटर मापन,कचनकवलमा बाढीले मोटरसाइकल बगायो



झापा,असोज ११ / पछिल्लो २४ घण्टामा झापामा २९५ मिलिमिटर वर्षा भएको छ । जसले चेतावनी तह पार गरेको हो । जल तथा मौसम विभागका अनुसार कोशी प्रदेशको झापामा अतिभारी वर्षा भएको छ । झापाका अधिकांश ठाउँमा पछिल्लो २४ घण्टामा २ सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।

चन्द्रगढीमा सबैभन्दा बढी २६३ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै केचनामा पछिल्लो २४ घण्टामा २२२ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै इलाममा समेत अति भारी वर्षा भएको छ ।

इलाममा पछिल्लो २४ घण्टामा २३७ मिलिमिटर वर्षा भएको छ । झापाको गौरादह र अनारमनी बिर्तामा पनि २ सय मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले प्रहरी प्रशासन अलर्टमा रहेको बताए । उनका अनुसार शिवसताक्षी नगरपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाका डुबान भइरहने स्थानमा सतर्कता अपनाइएको बास्तालाले बताए । ‘पानी निरन्तर परिरहेको छ । त्यसले गर्दा कन्काइमा बाढीको बहाव उच्च भएको छ,’ प्रमुख जिल्ला अधिकारी बास्तोलाले अनलाइनखबरसँग भने, ‘अझै केही समय यस्तै पानी परिरह्यो भने क्षति पुग्न सक्छ ।’ त्यसैले सुरक्षाकर्मी, जनप्रतिनिधि लगायतलाई सतर्क रहन भनिएको उनले बताए ।

उनका अनुसार स्थानीयलाई उद्धार गर्नुपर्ने भएमा गाउँ–गाउँमा अस्थायी आश्रयस्थल समेत पहिचान गरी तयारी अवस्थामा राखिएको छ । ‘उद्धार गर्नुपर्ने अवस्था आएमा कतै विद्यालय, कतै धर्मशालाहरुमा राख्ने गरी तयारी गरिएको छ,’ प्रजिअ बास्तोलाले भने । नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यो समाचार तयार पार्दासम्म २० स्थानका वर्षा मापन केन्द्रमा खतराको तहसम्म पुगेको छ ।

अविरल वर्षाका कारण आएको बाढीले झापाको कचनकवलमा एउटा मोटरसाइकल बगाएको छ । आज दिउँसो अन्दाजी १२ः२० बजेको समयमा कचनकवल गाउँपालिका वडा नं.२ स्थित अमुलफुटा खोला तर्ने क्रममा प्र.१–०२–०५प ६९७८ नं.को मोटरसाइकल खोलाले बगाएको हो । मोटरसाइकल चालक सोही ठाउँ बस्ने २७ वर्षीय रबिन भट्टराई भने सकुशल रहेका छन् ।

प्रहरी चौकी पथरियामा खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिएर मोटरसाइकल खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ४ : ४१ बजे