३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

कार्यकर्तालाई एमाले कोशीको निर्देशन : पार्टी र नेतृत्वविरुद्ध नबोल्नू



विराटनगर २, भदौ/ नेकपा एमाले कोशी प्रदेश कमिटीले नेता र पार्टी नेतृत्वको विरुद्ध नबोल्न निर्देशन जारी गरेको छ ।

शनिबार बसेको प्रदेश कमिटी बैठकले १३ बुँदे आचारसंहिता जारी गरेको छ, जसमा पार्टी नीति, नेतृत्व र निर्णय विरुद्ध बोल्न र कार्य गर्न नहुने उल्लेख छ ।प्रदेश कमिटीले फेसबुक वा सामाजिक सञ्जालमार्फत पार्टीका नेता तथा कार्यकर्तालाई लक्षित गरि लेख्न नहुने र गोपनीयता भंग हुनेगरी अनाधिकृत रूपमा मिडियामा सम्प्रेषण नगर्न पनि आग्रह गरेको छ ।

१.पार्टीको निती विधि, विधान, पद्धति र संस्थागत प्रणालीभन्दा बाहिर जान र कुनैपनि कार्य गर्न नहुने । २. गुटबन्दीपूर्ण गतिविधि र क्रियाकलाप वा कुनै पनि त्यस प्रकारका भेला, बैठकहरु गर्ने काम गर्न नहुने ।

३. पार्टी निती, नेतृत्व र निर्णयको बिरुद्व बोल्न र कार्य गर्न नहुने ।

४. पार्टीमा कोही कसैप्रति भेदभाव वा निषेध गर्न नहुने ।

५. पार्टीलाई क्षति वा नोक्सान पुग्ने गरी घात, अन्तर्घात गर्न नहुने ।

६. फेसबुक वा सामाजिक संजाल मार्फत पार्टीका नेता तथा कार्यकर्तालाई लक्षित वा इंगित गरी लेख्न नहुने। गोपनियता भंग गरी अनधिकृत रुपमा मिडियामा संप्रेषण गर्ने कार्य गर्न नहुने ।

७. ठाउँ कु ठाउँ पार्टी नेता र कार्यकर्ता लक्षित वा इंगित बोल्न नहुने ।

८. कोही कसैका बारेमा कुरा लाउदै र धाउदै हिडने खेती गर्न नहुने ।

९. कुनैपनि अन्तरबिरोधमा खेलेर वा हात हालेर नेता कार्यकर्ताहरुलाई बिवादमा मुछन वा बिभाजीत गर्ने कार्य गर्न नहुने ।

१०. ब्यक्तिगत स्वार्थ र महत्वकांक्षा पुरा गर्ने माध्यमको रुपमा नेता वा कार्यकर्तालाई प्रयोग गर्न नहुने ।

११. आर्थिक र नैतिक आचरण भ्रष्ट हुने कार्य गर्न नहुने ।

१२. जनताले उचित नठान्ने, प्रचलित कानुन प्रतिकुल सामाजिक, नैतिक दृष्टिले अनुचीत र अपारदर्शी काम गर्न नहुने ।

१३. कुनैपनि नेता कार्यकर्ता वा सदस्यले तोकिएको कार्यक्षेत्र र जिम्मेवारीमा रहदा आफु रहेको कमिटीको निर्णयहरुको जानकारी गराउने, सिर्जनात्मक ढंगले लागु गराउने, सहजकर्ता, प्रशिक्षक र समन्वयकर्ताको रुपमा र साँगठानिक मामिलामा गाँठो फुकाउने अभिभावकको भुमिकाको काममा बाहेक अन्य काममा अनावश्यक चासो, संलग्नता वा हस्तक्षेप गर्ने कार्य गर्न नहुने ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ६ : १६ बजे