२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

गौरीगंज अस्पतालमा सुत्केरी भएका महिलालाई निःशुल्कमा गिरीराज कुखुराको चल्ला वितरण



गौरीगंज १८, असार / गौरीगंज आधारभूत अस्पतालमा सुत्केरी भएका महिलाहरुलाई १० वटा गिरीराज कुखुराको चल्ला वितरण गरिएको छ । बच्चाको पोषणमा सहयोग गर्ने उद्येश्यले ४४ जना सुत्केरी महिलालाई आज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले वितरण गरेकी हुन् । संघिय सरकारको बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत गौरीगंज गाउँपालिकाले १५ दिने गिरीराज कुखुराको चल्ला सुत्केरी महिलाहरुलाई वितरण गरेको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए । त्यसैगरी आजै गौरीगंज गाउँपालिकामा स्तनपान कक्ष स्थापना गरिएको छ । अवरोध घटाऔं र शिशुलाई स्तनपानबाट वञ्चित नगरौं भन्ने नारालाई साकाररुप दिन गाउँपालिकाले स्तनपान कक्ष स्थापना गरेको हो । गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले ब्यानर पढेर स्तनपान कक्ष स्थापना भएको घोषणा गरेकी थिइन् । त्यसैगरी पालिकास्तरिय किशोरी सूचना केन्द्र स्थापना गरिएको छ । किशोर–किशोरीको सेवाको पहुँच बढाउने र किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अवस्थाको जानकारी दिने उद्येश्यले किशोरी सूचना केन्द्रको स्थापना गरिएको गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले बताइन् । उक्त कार्यक्रममा योजना शाखा प्रमुख नारायण प्रसाद चँदरा, कार्यपालिका सदस्य अघनुप्रसाद राजवंशी, वडा सदस्य राजभत्त सुनुवारलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १९ असार २०८१, मंगलबार  ५ : ५६ बजे