३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

कोशी प्रदेश सरकारले ल्यायो ३५ अर्ब २७ करोडको बजेट



विराटनगर / कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१ र ८२ को लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट प्रदेशसभामा पेस गरेको छ । आर्थिक तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार चालु आर्थिक वर्षको भन्दा सानो आकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।

विनियोजित बजेटमध्ये चालु खर्चतर्फ १४ अर्ब ४७ करोड ३० लाख छ । पुँजीगततर्फ १६ अर्ब २० करोड २० लाख हुँदा वित्तीय व्यवस्थापन ४ अर्ब ५८ करोड ५० लाख रहेको छ । प्रदेशभर रहेका १३७ पालिकाहरूलाई विभिन्न अनुदानतर्फ भने कोशी सरकारले ४ अर्ब ५८ करोड ५० लाख रकम विनियोजन गरेको छ ।

सार्वजनिकक गरिएको बजेटको स्रोतमा भने संघ सरकारको अनुदानलाई मुख्य मानिएको छ । प्रस्तुत बजेटमध्ये संघको अनुदानमा १२ अर्ब ४० करोड, आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड व्यवस्थापनको हुने सरकारले प्रक्षेपण गरेको छ ।

अघिल्लोपटक आर्थिक मामिला मन्त्रालयसमेत सम्हालेका तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत बजेट ल्याएका थिए । अल्पमतमा रहेका तत्कालीन मुख्यमन्त्री कार्कीले चालु आर्थिक वर्षका २०८०–८१ का लागि अध्यादेशमार्फत ३६ अर्ब २४ करोडको बजेट ल्याएका थिए ।

तर पछि, कार्कीले ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्दै तत्कालीन मुख्यमन्त्री केदार कार्कीले चालु आर्थिक वर्षका लागि ल्याएको ३६ अर्ब ७४ करोडको बजेट पास भएको थियो ।

प्रकाशित मिति : २ असार २०८१, शनिबार  ९ : १७ बजे