१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज –३ स्थित ज्ञानोदय माविमा निर्वाचनको अभ्यास : विद्यार्थी उत्साहित



मतदान गर्दै विद्यार्थी

गौरीगंज २०, जेठ / गौरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित ज्ञानोदय आवासिय इङ्गलिस बोर्डिङ्ग स्कुलले निर्वाचनसम्बन्धी व्यावहारिक ज्ञान विद्यार्थीहरुले प्राप्त गरुन भन्ने उद्येश्यले सामाजिक शिक्षाको प्रयोगात्मक अभ्यास गराएका छन् ।

स्थानीय, प्रदेश र संघको निर्वाचनको झझल्को दिने गरी आइतवार आयोजना गरिएको उक्त सामाजिक शिक्षा अभ्यासलाई विद्यार्थीहरु बढो उत्साहितरुपमा भाग लिएका थिए ।

विद्यालयले कक्षा ८, ९ र १० को सामाजिक विषय अन्तर्गत निर्वाचन सम्बन्धि पाठलाई प्रयोगात्मकरुपमा विद्यार्थीलाई सिकाउन निर्वाचनको अभ्यास गराएका हुन् । कक्षा १ देखि १० सम्मका विद्यार्थीहरु नेतृत्वका लागि निर्वाचनको प्रक्रियामा सहभागी भएपछि विद्यार्थीहरु बढो उत्साहित देखिन्थे ।

मुलुकमा सम्पन्न भएको स्थानीय, प्रदेश र संघको निर्वाचनको चर्चा राष्ट्रियरूपमा बेला बेला हुने गरेको सन्दर्भमा विद्यार्थीहरू उम्मेदवार र मतदाता हुन पाउँदा उत्साहित देखिएका थिए। कक्षा १ देखि १० सम्म अध्ययनरत् २ सय ५८ जना विद्यार्थीहरू उक्त निर्वाचनमा सहभागी भएका थिएभने १४ पदका लागि निर्वाचन भएको थियो । कक्षा ५ देखि १० सम्मका विद्यार्थीलाई उम्मेदवारी दिन सक्ने प्रावधान राखिएको थियो ।

निर्वाचन जेठ २० गते आइतवारका दिन बिहान ११ बजेबाट सुरु भएर १ बजे सम्पन्न भएको थियो। यस कार्यका लागि विद्यालयले निर्वाचन आयोगसमेत गठन गरेको थियो।

राष्ट्रिय निर्वाचनको विधि र प्रक्रियालाई आत्मसात् गर्दै नामावली प्रकाशन, उमेदवारी दर्ता, मतदान चिह्न प्रदान, मौन अवधि, मतदान, मतगणना, नतिजा घोषणा र सपथ ग्रहणका कार्यक्रमहरू पनि क्रमशः सम्पन्न गरिने विद्यालयका निर्देशक तथा संस्थापक दिपिन्द्र थापाले बताए ।

विद्यार्थीहरूले लामबद्ध भएर उत्सुकताका साथ मतदान कार्यमा भाग लिएका थिए। निर्वाचन अधिकृत शिक्षक श्याम न्यौपानेले प्रतिनिधि उम्मेदवार विद्यार्थीलाई मतपत्र हस्तान्तरण गरेपछि मतदान आरम्भ भएको थियो।

सामाजिक शिक्षाको प्रयोगात्मक अभ्यास कार्यमा सहभागी हुन पाउँदा र निर्वाचनसम्बन्धी व्यावहारिक ज्ञान प्राप्त गर्दा नौलो अनुभव र उत्साहप्रद अनुभूति सँगाल्न पाएको कुरा स्कुल क्यापेनमा निर्वाचित सलिना कार्कीले बताइन् । विद्यालयका निर्देशक तथा संस्थापक दिपिन्द्र थापाले निर्वाचनको यस आयोजनाले विद्यार्थीमा प्रयोगात्मक ज्ञान र सिप अभिवृद्धि हुनुका साथै बालविकास र नेतृत्व विकासमा सहयोग पुर्‍याउने धारणा राख्दै शुभकामना प्रदान गरेका थिए ।


यस निर्वाचनबाट स्कुल क्याप्टेन, स्कुल उपनेता, पहेलो सदन नेता, पहेलो सदन उपनेता, हरियो नेता, हरियो सदन उपनेता, निलो सदन नेता, निलो सदन उप नेता, रातो सदन नेता, रातो सदन उप नेता, कक्षा १० नेता, कक्षा ९ नेता, कक्षा ८ नेता, कक्षा ७ नेता, कक्षा ६ नेता, कक्षा ५ नेताका लागि एक एकजना विद्यार्थी चयन भएका थिए । स्काउटका विद्यार्थीहरुलाई सुरक्षाकर्मीको रुपमा खटाइएको थियो ।


निर्वाचित विद्यार्थी

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ६ : ३१ बजे