१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज गाउँपालिकालाई बालमैत्री घोषणा गर्न तयारी गरिँदै



गौरीगंज ९, जेठ / गौरीगंज गाउँपालिकाले पनि बालमैत्री गाउँपालिका घोषण गर्ने गरी कामलाई तीव्रता दिएको छ । गाउँपालिकालाई बालबालिका मैत्री बनाउन, विभिन्न क्रियाकलापमा बालबालिकाको सहभागिता सुनिश्चित गर्न र उनीहरुको हक अधिकार प्रदान गर्ने गरी गाउँपापालिकाले अभियानलाई अगाडि बढाएको हो । गाउँपालिकाले अहिले वडा वडाबाट कार्यक्रमका लागि राय, सुझाव र सूचकका विषयमा छलफल र परामर्श चलाउँदै आएको छ ।

गाउँपालिकालाई २०८३ साल पौष मसान्त भित्र नै बालमैत्री घोषणा गर्ने गरी तयारीमा जुटिएको गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीले बताइन् । उनका अनुसार गाउँपालिकाले संस्थागत सूचक, कार्यालय र वडा कार्यालयहरुले गर्नुपर्ने कामका कारवाहीका विषयमा समेत छलफल चलाएको छ । बालमैत्री वडा घोषणाको लागि स्थानीय शासन कार्ययोजना निर्माण गरिएको छ ।

गौरीगंज गाउँपालिकाको आयोजना र विराट सामुदायिक अध्ययन केन्द्र विर्तामोडको सहजीकरणमा यही जेठ २ गते वार्ड नं. १ मा वालमैत्री स्थानीय शासन सम्बन्धि वडास्तरिय अभिमुखिकरण तालिम सम्पन्न भएको छ । त्यसैगरी विराट सामुदायिक अध्ययन केन्द्रले आज बुधवार गौरीगंज गाउँपालिका वार्ड नं. २ मा वाल मैत्री स्थानिय शासन सम्बन्धि वडास्तरिय अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । वार्ड नं. २ मा भएको कार्यक्रममा प्रमुख अतिथि पालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवँर थिए भने कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष किनालाल राजवंशी गरेकाले थिए । कार्यक्रमको सहजीकरण सुमन ढकालले गरेका थिए भने सञ्चालन अर्जुन पाठकले गरेका थिए ।

गाउँपालिकाको वडा नम्बर १ र २ मा बालमैत्री स्थानीय शासनका सुचक बारे छलफल तथा बाल मैत्री स्थानीय शासन कार्ययोजना निर्माणका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । । गाउँपालिकालाई पूर्ण रुपमा बालमैत्री बनाउन गाउँपालिकाले ल्याएको कार्यक्रम अनुसार आफ्नो वडाले पनि यसलाई कार्यान्वयन गर्न पहल गरेको वडा अध्यक्ष किनालाल राजवंशीले बताए ।

वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले कार्यक्रममा सहभागीहरुले स्थानीय सरकारको ध्यान भौतिक पुर्वाधार विकासमा बढी केन्द्रीत भएको बताउँदै त्यो भन्दा ठूलो विकास मानविय ब्यवहार र चेतना स्तरको विकास भएको बताएका थिए । गाउँपालिकालाई पूर्ण बालमैत्री गाउँपालिका बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए । अभिमुखी कार्यक्रम पछि वडा अध्यक्षको अध्यक्षतामा १५ सदस्यीय वडा बालमैत्री स्थानीय शासन समिति समेत गठन गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरु, स्थानिय प्रहरी प्रशासन, जेष्ठ नागरिक, स्वास्थ्यकर्मी, शिक्षक, बालबालिका, महिला समूहलगयताका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ८ : ४९ बजे