
गौरीगंज ४, जेठ / नेपाल बैंक लिमिटेड गौरीगंजले सामाजिक उत्तरदायित्व अन्तर्गत पंखा वितरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी गौरीगंज गाउँपालिका भित्रका ३ वटा सामाुदायिक विद्यालयहरुलाई २५ थान पंखा वितरण गरेको हो । गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको प्रमुख आतिथ्यता र नेपाल बैंक लिमिटेड कोशी प्रदेश प्रमुख सूर्यप्रकाश भट्टको अध्यक्षमा भएको कार्यक्रममा उक्त सामाग्री वितरण गरिएको बैंकका गौरीगंज शाखा प्रबन्धक सन्जय साहूले जानकारी गराएका छन् । बढ्दा गर्मीका कारण बालबालिकाहरुलाई पठनपाठनमा सहज होस् भन्ने उद्येश्यले नेपाल बैंक लिमिटेड गौरीगंजले पंखा वितरण गरेको शाखा प्रमुख साहूले बताए । बैंकले गौरीगंज प्राविलाई ८ थान, गौरीयाडाँगी प्राविलाई १० थान र जनकल्याण प्राविलाई ७ थान पंखा वितरण गरेको हो । यसअघि बैंकले इलाका प्रहरी कार्यालय गौरीगंजलाई कुर्सी र बजार सरसफाईमा सहज होस् भन्ने उद्येश्यले डस्टबिन वितरण गरेको थियो ।
गौरीगंज गाउँपालिकाको गहनाकै रुपमा रहेको नेपालकै पुरानो एवं ऐतिहासिक नेपाल बैंक सेवाग्राही हितमा अग्रणी भूमिका खेलेको पालिककी अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि फूलवती राजवंशीले बताइन् । उनले कुनै बेला सुनसान हुने गरेको नेपाल बैंक अहिले आएर सेवाग्राहीहरुको चापले बैंक प्रति आम नागरिकको विश्वास जितेको बताइन् । कार्यक्रममा गौरीगंज गाउँपालिका वार्ड नं. ३ का वडा अध्यक्ष श्रवण गिरी, उद्योग वाणिज्य संघ गौरीगंजका अध्यक्ष तथा पूर्व वडा अध्यक्ष मखना महतो, नेपाल शिक्षक संघ गौरीगंजका अध्यक्ष गोपाल प्रसाद ताजपूरिया, इलाका प्रशासन कार्यालय गौरीगंजका प्रमुख चुडामणी आँपगाईलगायतले बैंकले गरेको सहयोग सह्रानीय रहेको बताए । कार्यक्रमको संचालन नेपाल बैंक लिमिटेड गौरीगंजका प्रबन्धक सञ्जय साहूले गरेको थियो भने कार्यक्रममा स्थानिय सामुदायिक विद्यालयका प्रअ, व्यापारी, कर्मचारीलगायतको उपस्थिति थियो ।




