२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

शिक्षक अधिकारीको विदाई ,जन्मोत्सवसहित स्टेसनरी वितरण



गौरादह /  यहाँस्थित श्री सूर्योदय आधारभूत विद्यालय गौरादहमा निमा तहमा स्थायी कार्यरत शिक्षक वेणुप्रसाद अधिकारीको अनिवार्य अवकाश पश्चात विद्यालयले मङ्गलवार जन्मोत्सवसहित विदाई तथा सम्मान गरेको छ।
अभिभावक शिक्षक संघका अध्यक्ष होमप्रसाद उप्रेती तथा प्रअ लीलानाथ गौतमले निवृत शिक्षक अधिकारीलाई दोसल्ला ओढाएर सम्मान गरिनुका साथै सम्मान प्रमाण पत्र प्रदान गरेका थिए। जन्मदिनको अवसरमा निज शिक्षकको केक काटेर जन्मोत्सव समेत मनाइएको थियो।
अधिकारीले २०४५ सालमा अस्थायी सेवा प्रवेश गरी २०४८ मा शिक्षक सेवाबाट स्थायी सेवामा प्रवेश गरेका हुन्।यसै क्रममा उनी ऐश्वर्य प्रावि, धनकुटा, तारावारी प्रावि,दमक,पशुपति प्रावि,दमक,अमर मावि, बैगुन्धुरा,गौरीया निमावि,जुरोपानी हुँदै सूर्योदय आधारभूत विद्यालय,गौरादहबाट निमावि स्थायी पदबाट २०८१ जेष्ठ १ गते अनिवार्य अवकाश प्राप्त गरेका हुन्।उनले ३६ वर्ष लामो शिक्षण अनुभव सँगालेकाछन्। विदाई कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले प्राप्त गरेको अनुभवका बारे स्पष्ट पारेका थिए ।
निवृत अधिकारीले आफ्नो जन्मदिनको अवसर पारेर यस सूर्योदय आवि गौरादहमा बाल कक्षादेखि कक्षा ८ सम्म अध्ययनरत सम्पूर्ण बालबालिकालाई आफ्नै लागतमा निःशुल्क कपी,कलम र पेन्सिल वितरण गरेका थिए ।
अभिभावक संघका अध्यक्ष होमप्रसादको अध्यक्षतामा भएको कार्यक्रममा प्रअ गौतम, शिक्षकद्वय मेनुका निरौला,रामकुमार शाह लगायतले शुभकामना मन्तव्य राखेका थिए भने अतिथि स्वागत शिक्षक रमेश भट्टराई र सञ्चालन मन्दिरा खड्काले गरेका थिए।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ८ : ३० बजे