३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गौरीगंजमा प्रहरीद्वारा आगलागी नियन्त्रण सम्बन्धी कृत्रिम घटना नमुना अभ्यास



गौरीगंज २१, चैत / गौरीगंजमा प्रहरीले सिलिन्डर ग्यासमा आगलागी नियन्त्रण तथा सुरक्षा सचेतना सम्बन्धी कृत्रिम घटना नमुना अभ्यास गरेको छ । इलाका प्रहरी कार्यालय गौरीगंजको आयोजनामा आज बुधवार गौरीगंज चौकमा सिलिन्डर ग्यासमा आगलागी नियन्त्रण र सुरक्षा सचेतनामूलक कार्यक्रमको कृत्रिम घटना अभ्यास गरिएको हो ।
खाना पकाउने ग्यास सिलिन्डरमा आगलागी भएको अवस्थामा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुराको जानकारी गराउने उद्देश्यले आगलागी सम्बन्धी नमुना अभ्यास गरिएको इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरिक्षक अरविन्द कुमार साहले बताए । मानिसको शरीरमा आगलागी हुदाँ, खाना पकाउदा खानेभाडोमा आगलागी हुदाँको वखतमा आगो कसरी नियन्त्रण गर्ने समेत नमुना अभ्यास गराइएको थियो ।

उनले भने सिलिन्डर ग्यासका कारणले हुने आगलागी जन्य बिपतबाट कसरी सुरक्षित रहन सकिन्छ ग्यासमा आगलागी भएको अवस्थामा के गर्नुपर्छ भन्ने बारेमा आम नागरिकलाई जानकारी गराउन सचेतनामूलक कार्यक्रम आयोजना गरिएको बताए ।

विभिन्न स्थानमा सिलिन्डर ग्यासमा आगलागी हुने घटना भइरहेकाले यसबाट सुरक्षित रहने उपायहरूको बारेमा जानकारी हुन आवश्यक रहेको प्रहरी निरिक्षक साहले बताए । विपत्त व्यवस्थापन कार्यालय चन्द्रगढीबाट खटी आएका प्रहरी टोलीले उक्त आगलागी सम्बन्धी सचेतनामुलक अभ्यास देखाएका थिए ।

कृतिम घटना अभ्यासमा सिलिन्डर ग्यासमा आगलागी भएपछिको अवस्था र आगलागी पश्चात् गर्नुपर्ने सम्पूर्ण प्रक्रियाको बारेमा अभ्यास गरिएको थियो । प्रक्रिया अनुसार सुरुवात देखि अन्तिम सम्म गरिएका विभिन्न चरणहरू हेर्दा साँच्चीकै सिलिन्डर ग्यासमा आगलागी भए जस्तो आभाष भएको कृत्रिम घटना अभ्यासमा सहभागी स्थानीयहरूले बताएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ५ : ११ बजे