१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

संवाद यात्रामा गगन थापालाई पहिलो दिननै समस्याको पोको



गौरीगंज १३, माघ/ नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियान अन्तर्गत आज माघ १३ गतेदेखि महामन्त्री गगन थापाले शुरु गर्नु भएको भएको संवाद यात्राका क्रममा नागरिकहरुले स्वागतसँगै समस्याहरुको पोको थुपरेका छन ।
शनिबार भद्रपुरको मेची पुलबाट झापा चोक हुँदै नवनिर्मित हुलाकी मार्गमा नागरिकहरुसँग ठाउँ ठाउँमा संवाद र भलाकुसारी गर्दै हिंडेका नेता थापामाथि नागरिकहरुले बिकास निर्माण र सुशासनको बिषयमा ध्यानाकर्षण गराए ।
झापा चोकदेखि जलथल , राजगढ , झापा बजार हुँदै आएका उनलाई सो क्षेत्रमा रहेका नेपाल भारत सीमा क्षेत्रका समस्याहरु, नदी कटान, हात्ती लगायत वन्यजन्तुबाट उत्पन्न समस्याहरुको चाङ लागेको थियो ।
कन्काई नदीमा निर्माणाधिन पक्की पुलको अवस्थाबारे स्थलगत जानकारीसहित सो ठाउँको यात्रा गरिरहेका पूर्व मन्त्री समेत रहेका थापालाई औपचारिक र अनौपचारिक दुवै रुपमा जनप्रतिनिधि, पार्टी प्रतिनिधि एवं सर्वसाधारण नागरिकहरुले खोलामा पूल नहुँदाको समस्याहरुबारे महत्वसाथ ध्यानाकर्षण गराए ।
कुञ्जीबारीमा संक्षिप्त संवाद गरेका उनलाई कांग्रेसका नेता, कार्यकर्ता, जनप्रतिनिधि एवं पार्टी प्रतिनिधिले बुँदागत रुपमा सो भेगका समस्याहरुबारे ध्यानाकर्षण गराएका थिए । गौरीगंज गाउँपालिका वार्ड नं. १ महाभाराका १५ परिवारका करिब १ सय २५ विघा जग्गा सर्वस्व हरण भएको र त्यसको हाल सम्म समस्या समाधान नभएको भन्दै महाधिवेशन प्रतिनिधि कार्तिकलाल राजवंशीले ध्यानाकरर्षण गराएका थिए भने वार्ड नं. १ का सभापति विनोद राजवंशीले वार्डको विविधि समस्याका बारेमा ज्ञापन पत्र बुझाएका थिए ।
सोपछि महामन्त्री थापालाई गौरीगञ्ज ६ खजुरगाछीस्थित शिवालय मन्दिर प्राङगणमा स्वागत गरिएको थियो । महासमिति सदस्य तथा पूर्व गौरादह नगरपालिकाका मेयर रोहित कुमार साहले द्वन्द्वकालदेखि यो आठमौजा छोटी भन्सार कार्यालय अलपत्र परेको छ । यहाँका नागरिकहरुले कर तिर्न तयार छ, राजस्व तिर्न तयार छ । भन्सार नभएको कारण आवतजावत तथा सामान ओसारपसार गर्न गाह्रो भएकोले यसलाई महामन्त्री ज्युले यथासिघ्र सञ्चालन गर्न पहल गर्नुपर्ने ध्यानाकर्षण गराएका थिए । भन्सार कार्यालय नहुदाँ यहाँको बजार ठप्प भएको र आर्थिक मन्दी आएको नेपाली कांग्रेस जिल्ला सदस्य मखना महतोले बताएका थिए । सोही अवसरमा गौरीगंज आधारभुत अस्पतालमा चिकित्सक तथा उपकरणको व्यवस्थापन गर्न गाउँपालिकाकी अध्यक्ष तथा कांग्रेस नेतृ फूलवती राजवंशीले महामन्त्री थापालाई अस्पतालको स्थलगत निरिक्षण तथा अवलोकन गराएका थिए ।
सो क्रममा नेपाली कांग्रेस गौरीगञ्ज गाउँ समितिका तर्फबाट गौरीगंज आधारभुत अस्पतालमा चिकित्सक तथा उपकरणकोे व्यवस्थापन, केर्खा–क्याम्पा–कुञ्जीबारी हुँदै बोर्डर जोडने सडक कालोपत्रे गर्न, हुलाकी मार्ग अन्तर्गतका कन्काई र रतुवा खोला निर्माणाधिन पक्की पूल निर्माणलाई पूर्णता दिन, सो क्षेत्रमा रहेको अव्यवस्थित तथा भुमिहीनहरुको व्यवस्थापन,आठमौजा छोटी भन्सारको सञ्चालनमा देखिएको समस्याको नीतिगत समाधान लगायतका बिषयहरु समेटिएको ज्ञापन पत्र बुझाइएको कांग्रेस गौरीगञ्जका गाउँ सभापति अघ्नु प्रसाद राजवंशीले जानकारी दिए ।
गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष समेत रहेकी कांग्रेस नेतृ फुलवती राजवंशीसहित स्थानीय नेताहरुले सो ज्ञापन पत्र बुझाएका छन । महामन्त्री थापा आजै झापा तर्फको यात्रा सकेर मोरङ तर्फ लागेका बताइएको छ ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  १० : ०२ बजे