२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

गौरीगंजमा ट्राफिक भवनको शिलान्यास



गौरीगंज २१, मंसिर / गौरीगंज गाउँपालिका वार्ड नं. ६ मा सुविधा सम्पन्न ट्राफिक भवन निर्माण हुने भएको छ । गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले आज विहिवार विधिवतरुपमा उक्त भवनको शिलान्यास गरेकी छन् । गौरीगंज गाउँपालिका वार्ड नं.६ स्थित नेपाल वैंक लिमिटेडको दक्षिण पट्टि १ कठ्ठा जग्गामा ट्राफिक भवन निर्माण हुन लागेको हो । शिलान्यास कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवँर, वडा अध्यक्षहरु वद्री नारायाण यादव, श्रवण गिरी, फेका गिरी, विजय सिंह गन्गाई, कार्यपालिका सदस्यहरु राधा अधिकारी, रम कुमारी विक, उद्योग वाणिज्य संघ गौरीगंजका अध्यक्ष मखना महतो, नेपाल वैंक लिमिटेडका म्यानेजर सञ्जय साहु, इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरिक्षक अरविन्द साह, वडा सदस्यहरु, विभिन्न पार्टी प्रतिनिधि, स्थानिय व्यापारी, बुद्विजीवी, शिक्षकलगायतको उपस्थिति थियो । ट्राफिक कार्यालयको भवन निर्माण भए पछि गौरीगंज क्षेत्रमा सवारी यातायातलाई थप व्यवस्थापन गर्न सहज हुने गौरीगंज ट्राफिक इन्चार्ज शंकरप्रसाद यादवले बताए । यहाँको ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाउन आफुले सक्दो पहल गरेकोले अब बन्ने भवन निर्माण कार्यमा आर्थिक सहयोग गर्न सबैमा ट्राफिक इन्चार्ज यादवले अपिल समेत गरेका छन् । भवन निर्माण समितिका अध्यक्ष मनोज दासको सभापतित्वमा सम्पन्न भवन शिलन्यस कार्यक्रमको औपचारिक सञ्चालन यादव रिजालले गरेका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ९ : २९ बजे