३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गौरीगंज गाउँपालिकाद्वारा जग्गादाता, अवकाश शिक्षक तथा विद्यार्थीलाई सम्मान



गौरीगंज १९, मंसिर / गौरीगंज गाउँपालिकाले सामुदायिक विद्यालयलाई निशुल्क जग्गादान दिने जग्गादाताहरुलाई खादा ओढाएर सम्मानपत्रले सम्मान गरेको छ । उनीहरुलाई गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीसहित उपाध्यक्ष पुजन न्यौपाने कुवंरलगायत वडा अध्यक्ष कार्तिकलाल राजवंशी , श्रवण गिरीले आज एक कार्यक्रमका बीच सम्मान गरेका हुन् । गौरीगंज गाउँपालिकाद्वारा आयोजित विद्यालय जग्गादाता, शिक्षक तथा विद्यार्थी सम्मान एवं माध्यमिक तह स्तरिय वतृत्वकला प्रतियोगिता कार्यक्रममा शिक्षण पेशाबाट अवकाश पाएका ५ जना शिक्षकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा युवराज खतिवडा, बालकृष्ण भण्डारी, भैरब प्रसाद पोख्रेल, गोमा कुमारी बस्नेत, अभय प्रसाद यादव रहेका छन् । उनीहरुलाई खादा ओढाएर सम्मान पत्रसहित सम्मान गरिएको थियो । सोह अवसरमा माध्यमिक स्तरिय वतृत्वकला प्रतियोगिता समेत आयोजना गरिएको थियो । गाउँपालिका भित्रका १२ जना विद्यार्थीले उक्त प्रतियोगितामा भाग लिएका थिए । उक्त प्रतियोगितामा मुनलाइट एकाडमीका गणिका यादव प्रथम, खजुरगाछी माविका सेविका बराल दोस्रो, ज्ञानकुञ्ज एकाडमीका भानुजा ताजपुरिया र न्यु युनिभर्सल एकाडमीका गरिमा राजवंशी सान्त्वना पुरस्कार जितेका थिए । प्रथम हुने गणिका यादवले नगद रु ५ हजारसहित मेडल र प्रमाणपत्र पुरस्कार पाएकी थिइन भने दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार क्रमश सेविका बरालले रु ४ हजार, ३ हजार र २ हजार नगदसहित मेडल र प्रमाण पत्र पाएका थिए । वतृत्वकला प्रतियोगितामा डण्डीराज घिमिरे र विजय कार्की निर्णायक मण्डलीको भुमिका थिए ।
सोही कार्यक्रममा २०७९ को विभिन्न तह र वार्षिक परिक्षा उत्कृष्ट अंक पाउने विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । गौरीगंज गाउँपालिका वार्ड नं. ३ का वडा अध्यक्ष श्रवण गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत टंक प्रसाद खरेलले गरेका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ९ : ०४ बजे