३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

गौरीगंज अस्पतालमै स्वास्थ्य बीमा सहित आँखाको उपचार हुने सम्झौता पत्रमा हस्ताक्षर




गौरीगंज २२, असोज / गौरीगंज गाउँपालिका र मेची आँखा अस्पतालबीच आँखा उपचार सेवा विस्तार गर्नबारे सम्झौता भएको छ । गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी र नेपाल आँखा अस्पताल संघका अध्यक्ष जलकुमार गुरुङ्गबीच आज सोमवार समझदारी पत्रमा हस्ताक्षर भएको हो । गाउँपालिकाका जनतालाई बृहत् आँखा उपचार सेवा उपलब्ध गराउन मेची आँखा अस्पतालले गौरीगंज गाउँपालिकालाई अत्याधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउनुका साथै स्वास्थ्य बीमाको व्यवस्थामासमेत आँखाको उपचारसेवा उपलब्ध गराउने सम्झौता भएको हो ।
गाउँपालिकाकी अध्यक्ष राजवंशीले मेची आखाँ अस्पतालसंघको सम्झौताले गौरीगंज गाउँपालिकाकै जनताको आँखा उपचार सेवामा सहज पहुँच पुग्ने विश्वास व्यक्त गरिन् । गौरीगंज आधारभुत अस्पतालमा आँखा सम्बन्धि सबै उपचार सेवा चाडै नै शुरु हुने अध्यक्ष राजवंशीले बताइन् ।
‘दुई पक्षीय सम्झौता बीचको सहकार्यले पालिकाका गरिब, विपन्न, निमुखा र अप्ठ्यारामा परेका नागरिकले आँखाको सहज उपचार पाउनेमा हामी विश्वस्त छौँ । गाउँपालिकाले गर्न सक्ने सबै सहयोग र सहजीकरण गर्न तयार छ ।’ – अध्यक्ष राजवंशीले भनिन् ।
मेची आँखा अस्पतालका निर्देशक डा. पुरुषोतम जोशी, गौरीगंज गाउँपालिकाका प्रशासकिय अधिकृत विरेन्द्र खड्का, गौरीगंज गाउँपालिकाका स्वास्थ्य प्रमुख रामचन्द्र मिश्र,वार्ड नं.२ का वडा अध्यक्ष किनालाल राजवंशीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  १० : ०६ बजे