३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

आदिवासी रंगशालामा बृहतरुपमा मनाइयो विश्व आदिवासी दिवस



दमक/ २९ औं विश्व आदिवासी दिवस झापाको कमल ५ स्थित आदिवासी रंगशालामा बृहत कार्यक्रम गरी मनाइएको छ ।

दिवसको सन्दर्भ पारेर आदिवासी जनजातीहरुले आफना अधिकारहरुको व्यवहारिक रुपमै उपयोग गर्न पाउनु पनि र अन्तराष्ट्रिय नियमानुसार जल, जमिन र जंगलमा आदिवासीहरुले आत्मनिर्णयको अधिकार उपयोग गर्न पाउनुपर्ने आवाज बुलन्द गरेका छन ।

सो आदिवासी दिवस विशेष समारोहलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले नेपाली समाजलाई चाहिने रैथाने विश्वविद्यालय स्थापना गर्नु आवश्यक भएको औल्याए ।

उनले सरकारले रैथाने विश्वविद्यालय स्थापनाका लागि संभाव्यता अध्ययन शुरु गरिसकेको बताए । सरकारले यसका लागि वजेटको व्यवस्था गरि काम थालिसकेको उनको भनाई थियो ।

विकासको नाममा इतिहास र संस्कृति नामेट गर्नु भन्दा त्यस्ता प्राचिन र संस्कृतिमूलक सम्पदा र संस्कृतिको खोजी गरि त्यसैबाट नयाँ नेपाल सम्भव हुने मन्त्री किराँतीले तर्क गरे ।

पूरानो गाउँको खोजी गरिएको बताउदै उनले अव त्यस्ता रैथाने सांस्कृतिक गाउँ र सम्पदालाई संरक्षण र सम्बद्र्धन गरि त्यसैबाट सारा विश्वका पर्यटकलाई भित्रयाँउन सकिने प्रचुर संभावना भएको जोड दिने उल्लेख गरे ।

उनले भने , –‘हाम्रो विकास, राजनीति विदेशीको नक्कल होइन आफनै मोडालिटी,नेपाली पन भए मात्र देशमा समृद्धि संभव हुने छ ,यसमा यो सरकार प्रतिवद्ध छ । ’देशमा राजनीतिक परिवर्तन भएपनि विकासको परिवर्तन खासै हुन नसकेकोमा चिन्ता व्यक्त गदै उनले अव बिकाससंगै भ्रष्टचार ,घुसखोरी समाप्त गर्न सरकार प्रतिवद्ध भएको स्पष्ट पारे ।

राणा, पञ्चायतदेखि लोकतान्त्रिक राज्य व्यवस्था परिवर्तनका लागि देशका आदिवासी जनजातिहरुको उल्लेखीय योगदान पुरयाँएको चर्चा गदैं उनले तर ती जातिहरुलाई राज्यको मूल प्रवाहमा अझै समेट्न अझै नसकिएको बताए । व्यवस्था परिवर्तन भए तर यहाँका आदिवासी जनजातिहरुको अवस्था पूरानै अवस्थामा रहन पुगेको उनको भनाई थियो ।

सोहि अवसरमा मन्त्री किरातीले जनजाति महासंघ झापाका पूर्व अध्यक्षहरु पारषमणि राई, भरतकुमार श्रेष्ठलाई सम्मान गरे । महासंघमा महत्वपूर्ण योगदान पुरयाँएवापत पूर्व अध्यक्षद्धयलाई सम्मान गरिएको हो ।

सोहि अवसरमा आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले जग्गाको भोगाधिकारसहित रंगशाला निर्माणमा वजेटको व्यवस्था गरिदिन माग गर्दै मन्त्री किराँतीसमक्ष प्रतिष्ठानका कार्यवहाक अध्यक्ष दिपेनवाला राईले ज्ञापनपत्र बुझाएका थिए ।

झापा जिल्लाभित्रका १५ वटै पालिकाका सम्पूर्ण जातिय संस्थाहरुको बृहत सहभागितामा सो कार्यक्रम गरिएको हो । महासंघ झापाका जिल्ला समन्वय परिषद अध्यक्ष पाण्डवलाल चौधरीको सभापतित्वमा भएको कार्यक्रममा मन्त्री किराँतीसँगै समाजशास्त्री डा.कृष्णबहादुर भट्टचन, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रञ्जित तामाङ, सामाजिक अभियन्ता नित्यानन्द ताजपुरिया, लिम्बुवान नेता सञ्जुहाङ पालुङवा, अधिबक्ता शंकर लिम्बू, डकेन्द्रसिंह थेगिम, दिपेनवाला राई लगायतले सम्बोधन गरेका थिए ।

त्यहाँ विभिन्न जातिय संस्थाहरुले आफनो सांस्कृतिक झाँकी समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न पालिकाका जनप्रतिनिधिहरुसहित विभिन्न जातीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।

‘इन्डिजिनियस युथ एस अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको हो ।

नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको परिवर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो । संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ११ : ०६ बजे