१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभयलाई नगदसहित रत्न अवार्ड २०२३ प्रदान




बिर्तामोड ३, माघ / राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशी रत्न अवार्ड २०२३ बाट सम्मानित भएका छन् । झापा कनकाई –९ मन्त्रीबारीका राजवंशीलाई भारत उत्तर दिनाजपुरको प्रभावशाली मानिएको सामाजिक संस्था राजवंशी गाभुर संघद्वारा राजवंशी रत्न अवार्ड २०२३ प्रदान गरिएकाे राजवंशी गाभुर संघका महासचिव महलाल सिंहले बताए । माघ २ गते (जनवरी १६ तारिक) अभयलाई रत्न अवार्ड २०२३ सहित नगद ५० हजार भारू रूपैयाँ प्रदान गरिएकाे हाे । सामाजिक संस्था कोचिला गाभुर फ्रन्टका संस्थापक तथा राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभयले राजवंशी जातिको धार्मिक, साँस्कृतिक एवं समग्र जातीय विकासका निम्ति गरेको योगदानको कदर गर्दै उनलाई राजवंशी रत्न अवार्ड २०२३ प्रदान गरिने राजवंशी गाभुर संघका महासचिव महलाल सिंहले बताए । ग्रेटर काेचविहार पिपल्स एशाेसिएसनका महासचिव, पश्चिम बंगाल राजवंशी डेभलपमेन्ट एण्ड कल्चरल बाेर्डका अध्यक्ष राजवंशी भाषा एकाडेमी बंगालका चेयरमेन बंशीधर बर्मनले अभयलाई रत्न अवार्डसहित नगद रकम र ट्रफी प्रदान गरेका थिए।
झापा, मोरङ र सुनसरीलगायतका जिल्लामा बसोबास गर्दै आएका राजवंशी जातिको भाषा, धर्म, कला, संस्कृति, भेषभूषा तथा सिरुवा, घाटोसरी, डोलपावनी, गरुवाँसी, भाक्का दिवसलगायत पर्व र उत्सवहरुको संरक्षण तथा सम्वद्र्धनमा जुटेका अभयले आफूलाई सामाजिक संस्था राजवंशी गाभुर संघद्वारा राजवंशी रत्न अवार्ड २०२३ प्रदान गर्ने निर्णयको स्वागत गर्दै यो सम्मान आफ्नो मात्र नभएर झापा, मोरङ र सुनसरीलगायतका जिल्लामा बसोबास गर्दै आएका सम्पूर्ण राजवंशी जातिको सम्मान भएको बताए । राजवंशी रत्न अवार्ड २०२३ ले आफूलाई अझ राजवंशी जातिको जातीय विकासमा लाग्न प्रेरित गरेको उनले बताए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १२ : ३३ बजे