४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सर्वसाधारणको पहिलो रोजाइमा गाउँपालिकाको न्यायिक समितिनै




दमक/ स्थानीय तहमा क्रियाशील न्यायिक समितिको सेवा ग्रामिण क्षेत्रमा प्रभावकारी देखिएको छ ।
झापाको सुदुर दक्षिण पश्चीम क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिकामा नयाँ जनप्रतिनिधिहरुले कार्यभार सम्हालेसंगै बनेको न्यायिक समितिमा परेका उजुरी तथा निवेदनहरुमाथि छानबिन गरी मेलमिलाप गराउने तथा विवाद समाधानको प्रयासले सार्थकता पाएको हो ।
न्यायिक समिति सदस्य समेत रहेका गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवरले न्यायिक समितिमा परेका अधिकांश उजुरी तथा निवेदनहरुमाथि तत्काल आवश्यक छानबिन गरी समाधान खोजिने गरेको बताइन ।
अरु निकायमा जाने प्रकृया झण्झटिलो हुने र छानबिन तथा आवश्यक कारवाहीको कदम चाल्न समय लाग्ने भएकाले सर्वसाधारणको पहिलो रोजाइमा गाउँपालिकाको न्यायिक समितिनै् परेको हुन सक्ने उपाध्यक्ष न्यौपानेको बुझाई छ ।
गाउँपालिकाको न्यायिक समितिमा गएको स्थानीय तहको निर्वाचनपछि परेका ४६ वटा मुद्धा मध्ये पुरूषको तेस्रो साता सम्ममा आधा भन्दा धेरै २६ मुद्धा किनारा लगाइएको उपाध्यक्ष न्यौपानेले जानकारी दिइन ।
मिलाइएका मध्ये सबैभन्दा धेरै झैझगडा सम्बन्धिका १३ वटा मुद्धा रहेका छन । धेरैजसो घर परिवार, छरछिमेकका बीचमा ससाना निहुँमा झैझगडा भएको पाइन्छ– उनले भनिन । उनका अनुसार लेनदेन सम्बन्धिका ७ वटा र जग्गाको साँध सिमाना सम्बन्धि सँधियारहरुबीचको सिमाना विवादका ६ वटा मुद्धाको न्यायिक समितिको रोहबरमा भएको छलफलपछि समाधान गरिएको छ ।
न्यायिक समितिमा परेका उजुरीहरुमाथि छानविन गरि समाधान खोज्नका लागि पालिकामा साताका तीन दिनको समय तोकिएको छ । प्रत्येक साताको आइतबार, सोमबार र मंगलबार न्यायिक समितिले निवेदक र प्रतिवादीबीच छलफल गराएर समाधान खोज्ने गरेको छ ।
गाउँपालिकाले अध्यक्ष फुलवती राजवंशीको संयोजकत्वमा न्यायिक समिति बनाएको छ ।
अध्यक्ष र उपाध्यक्ष दुवै महिलालाई पाएका यो गाउँपालिका महिलामैत्री मात्रै नभएर सेवाग्राही तथा आम नागरिक मैत्री पालिकाका रुपमा अघि बढाउने जनप्रतिनिधिहरुको अठोट छ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  १० : २२ बजे