४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

छिमेकी भारतमा पहिलो पटक आदिवासी समुदायकी महिला राष्ट्रपति



एजेन्सी / छिमेकी भारतमा पहिलो पटक आदिवासी समुदायकी महिला राष्ट्रपति बनेकी छन्। 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार साँझ सकिएको मतगणनामा सत्तारूढ गठबन्धनकी उम्मेदवार द्रौपदी मुर्मु भारतको १५ औं राष्ट्रपतिमा विजयी भएकी छन्। उनले विपक्षी गठबन्धनका उम्मेदवार यशवन्त सिन्हालाई हराएकी हुन्। 

मुर्मु  राष्ट्रपतिमा निर्वाचित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उनलाई बधाइ दिएका छन्। 

देउवाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्- भारतको १५ औं राष्ट्रपति निर्वाचित भएकोमा श्रीमती द्रौपदी मुर्मुलाई नेपाली जनता र सरकारको तर्फबाट हार्दिक बधाइ! आगामी दिनमा नेपाल-भारतको सुमधुर सम्बन्धले नयाँ उचाइ लिनेछ भन्ने कुराम म विश्वस्त छु। 

On behalf of the govt & people of #Nepal, I would like to extend warmest congratulations to Smt Droupadi Murmu on being elected as the 15th President of India. I am confident that the excellent bilateral relations between #Nepal & #India will see newer heights in the days ahead.

— Sher Bahadur Deuba (@SherBDeuba) July 21, 2022

सन्थाल समुदायकी मुर्मु भारतमा आदिवासी समुदायबाट राष्ट्रपति हुने पहिलो महिला हुन् भने प्रतिभा पाटिलपछि राष्ट्रपति हुने उनी दोस्रो महिला हुन्। 

भारतीय राज्य उडिसामा जन्मिएकी मुर्मु सन्थाल समुदायकी हुन्। यो समुदायका मानिस नेपालको झापा, मोरङ र सुनसरीमा पनि बसोबास गर्छन्। २०६८ सालको जनगणनाअनुसार नेपालमा सन्थाल समुदायको जनसंख्या ५१ हजार ७ सय छ।

भारतको झारखण्डमा ठूलो संख्यामा सन्थालहरू बसोबास गर्छन्। भारतीय राज्यहरू बिहार, पश्चिम बंगाल, उडिसा र असमसहित बंगलादेशसम्म सन्थाल समुदाय छरिएको छ।

मुर्मुको जन्म उडिसाको मयुरभन्ज जिल्लामा सन् १९५८ मा भएको हो। सामान्य परिवारमा जन्मिएकी मुर्मुले कलेजसम्मको अध्ययन पूरा गर्न निकै संघर्ष पार गर्नुपरेको थियो।

भुवनेश्वरको रमादेवी वुमन्स कलेजबाट स्नातक गरेपछि मुर्मुले उडिसा सरकारको सिँचाइ तथा ऊर्जा विभागमा जुनियर असिस्टेन्टका रूपमा काम गरेकी थिइन्। केही समय उनले विद्यालयमा पढाएकी पनि थिइन्।  

सन् १९९७ मा उनी भारतीय जनता पार्टीको तर्फबाट नगरपञ्चायतमा निर्वाचित भएकी थिइन्। त्यसको तीन वर्षपछि उडिसा विधानसभा सदस्य बनिन्।

उडिसामा बनेको भाजपा र बिजु जनता दल मिलेर बनेको सरकारमा उनी विभिन्न समयमा मन्त्री बनेकी थिइन्।

नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि सन् २०१५ मा उनलाई झारखण्डको गभर्नर नियुक्त गरेका थिए। झारखण्डको गभर्नर बन्ने उनी पहिलो महिला हुन्। गत वर्षको जुलाई १२ सम्म झारखण्डकी गभर्नर रहेकी मुर्मुलाई यसपालि भाजपाले देशको सर्वोच्च पद राष्ट्रपतिको उम्मेदवार बनाएको थियो।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ११ : २७ बजे