६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गााैरीगंजमा हात्तीपाईले राेग विरूद्व औषधि खुवाईने अभियान शुरू हुने



गाैरीगंज १५, फागुन / गाैरीगंज गाउँपालिकाले हात्तिपाईले रोग विरुद्धको औषधी बढि भन्दा बढि नागरिकलाई सेवन गराउनका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ ।

गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाकाे अध्यक्षतामा आईतबार भएको स्थानीय तह स्तरीय योजना तथा वहु निकाय गोष्ठी हात्तीपाईले रोग निवारण कार्यक्रम अभियान–२०७८ लाई सफल पार्न  हात्ती पाईले रोग विरुद्धको औषधी सेवनका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक जिवन चाैलागाईले विशेष योजना सहित वडास्तरमा जान स्वास्थ्य शाखालाई आग्रह गरेका थिए । उनले अभियानको सफलताका लागि राजनीतिक दल, धर्मगुरु, नागरिक समाजका अगुव, पत्रकारलगायत सबैको साथ आवश्यक भएको बताए ।
राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत झापाको गाैरीगंज गाउँपालिकाले आउँदो फागुन २८ गतेदेखि हात्तीपाइले रोगबिरुद्धको औषधि खुवाउँदै छ ।

गाैरीगंज गाउँपालिकाका पदाधिकारी, महिला स्वयंसेवक, स्वास्थ्यकर्मी , छवटै वडाका जनप्रतिनिधि, विद्यालयका प्रअ, रेडक्रसकर्मी, सञ्चारकर्मी सहितको विभिन्न सराेकारवाला संस्थाका प्रमुखहरूलाई आईतबार गाउँपालिकाको सभाहलमा हात्तीपाइले रोगका बारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएकाे थियाे ।

यस अभियानमा गाउँपालिकाको जम्मा जनसंख्या ३६ हजार १ सय ४५ जनालाई हात्तीपाइले विरुद्धको औषधि खुवाईनेछ । यसका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले औषधि खुवाउन १ सय ८४ जना स्वास्थ्यकर्मी, १ सय ८४ जना महिला स्वास्थ्य स्वयम्सेविका खटाउने जनाएको छ । फागुन २८ गते कार्यविभाजन अनुसार घर भेट कार्यक्रम गरी खुवाउने गाैरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए ।
साे अभियानका लागि गाैरीगंज गाउँपालिका ७ हजार ६ सय ४५ घरधुरीका लागि ७ लाख १५ हजार रूपैयाँ बजेट छुट्याईएकाे छ । गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठकाे प्रमुख अतिथ्यतामा भएकाे कार्यक्रममा वरिष्ठ खाेप अधिकृत ईश्वरी पाैडेल, प्रमुख प्रशासकिय अधिकृत सन्ताेष श्रेष्ठलगायत विभिन्न सराेकारवाला संस्थाका प्रमुखहरूकाे सहभागिता थियाे ।


औषधी खाएपछि यस्तो लक्षण देखिन सक्छ
औषधि खाएकामध्ये कसैलाई शरीरमा हात्तीपाइलेको परजिवी भएमा टाउको दुख्ने, ज्वरो आउने, रिँगटा लाग्ने, वाकवाक आउने, वान्ता हुने, पेट दुख्नेजस्ता सामान्य असर हुन सक्ने चिकित्सकको भनाइ छ । ती असरहरु केही दिनपछि आफैँ ठीक हुनेछन् । हात्तीपाइलेको जिवाणु दिउँसो फोक्सोमा र रातिको समय रगतमा देखा पर्ने चिकित्सक बताउँछन् ।

कसले खानु हुँदैन ?
हात्तीपाईले रोग औषधी ५ वर्षसम्म लगातार खाएमा यो रोग नलाग्ने चिकित्सकहरु बताउँछन् । दुई वर्ष नपुगेका केटाकेटीहरू, गर्भवती र ७ दिन सम्मका सुत्केरी अामाहरू, सिकिस्त विरामीहरू ( जसले दैनिक क्रियाकलाप गर्न सक्दैन, औछ्यानमा परेकाे )लाई खुवाउन नहुने बताईएकाे छ ।

यस्ता छन् लक्षणहरु
गाैरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रका अनुसार,–ज्वरो आउनु र शरीरमा कम्पन हुनु, रक्तनली सुनिनु, पुरुषका अण्डकोष वरपर नसा फुल्नु, महिलामा यौनाङ्ग अथवा स्तन सुनिनु, पिसाब सेतो हुनु आदि सो रोगको लक्षण हो । तर पनि मानिसको शरीरमा यो रोग लागेर विकसित भएपछि उपचार नहुने भएकाले यसबाट बच्ने एक मात्रै विकल्प भनेको सुरुको अवस्थाबाटै औषधि सेवन गर्नपर्ने उनको भनाई रहेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ९ : ३६ बजे