३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

‘धन्न ज्यान जोगायौ’ – बाढीपीडित फुलमाया हेमरम




आत्माराम राजवंशी
गौरीगंज ६, कार्तिक / फुलमाया हेमरमले कन्काई खोलाले यत्तिको विपत्ती ल्याउँछ भनेर सोचेकी थिइनन् । कार्तिक २ गते मंगलबार साझसम्म उनको वर्षाति अनुमानले ठिकठाकै घरमा बसिन्छ भनेर सयमा सय विश्वास थियो । भारतको केरलाबाट छोरा सुफल हेमरमले ऋण काड्न (किस्ता तिर्न) पठाएको ८ हजार रुपैयाँ बुधवार विहानसम्म आफुसंग नरहला भन्ने पनि उनलाई रतिभर पीर थिएन । गौरीगंज गाउँपालिका वार्ड नं. १, टप्पुवस्तीमा वर्ष ४० की फुलमाया हेमरम, उनकी श्रीमान् बुद्राही हेमरमसहित ५ छोरी र २ छोरा गरी ९ जनाको परिवारलाई घर आगन बगरमा परिणत हुन्छ भनेर पनि कुनै पत्तो थिएन । यसअघिका धेरै वर्षायामहरुमा कन्काई नदीको उत्पात र पुर्याउने क्षतिसंग उनी राम्रोसंग परिचित थिइन् । त्यसैलेहोला कन्काई खोलाको बाँध नजिकै बेडर घरवास बसेको वर्षौ वितेको थियो ।

बाढीपीडित फुलमाया हेमरम


त्यो रातको ( कार्तिक २ गते) करिब १२ बजे उनको ज्यानै लिने गरी आएको कन्काइको बाढीले घर र घरका सबै सर–सामान उनको आँखै अगाडी बगेकोे दृश्य सम्झँदा आँखाको आँसु थाम्न सकिनन् । उनले भनिन् – ‘१२ बजे राती घाँटीसम्मको पानी तरेर धन्न ज्यान जोगायौ ।’ आफन्त र आफै सपरिवार मिलेर १३ हजार रुपैयाँ खर्च गरेर यही भदौ महिनामा बस्ने घर निर्माण गरेकी फुलमायाले त्यो घर पनि खोलाले भत्काइदिए पछि मलिन स्वारमा दुःखेसो पोख्दै भनिन् – ‘दैवले पनि गरिब दुःखिलाई नै मार्न खोज्छन् ।’ आफ्नो नाउँमा एक धुर पनि जग्गा जमिन नभएका फुलमायाले ठेक्कामा यसपालि ५ विघा जग्गामा धानवाली लगाएकी थिइन् । तर कन्काई खोलामा आएको बाढीले सवै धानवालीमा बालुवाले पुरेको देख्दा उनी भक्कानिन्छन् । उनी भन्छिन् – ‘अब साहु माहाजनको ऋण कहाँबाट तिर्नू र ९ जनाको परिवारको जिविका कसरी चलाउनु ?’ हाल उनीे परिवारसहति नजिककै सामुयिक विद्यालयमा शरण लिएका छन् भने खान्गी विभिन्न दाता र संस्थाहरुले दिएको राहतले चलेको छ । ५ विघा जग्गाा खेती गर्न ५० मन धानमा फुलमायाले ठेक्का लिएकी थिइन् ।
सोही वस्तीमा बस्ने फुलमायाकी छिमेकी पेल्की राजवंशीको अवस्था पनि उस्तै छ । ६ जनाको परिवारसंगै बसेकी राजवंशीलाई बल्ल तल्ल सरकारले बनाइदिएको घर पनि खोलाको बाढीले भत्काइदिए पछि अब कहाँ बस्ने भन्ने चिन्तामा छिन् । उनी भन्छिन् – ‘बाढी घरभित्र पस्न थालेपछि रातको १ बजे पल्लो गाउँको मानिहरुलाई फोन गर्यौ । ज्यान सम्म जोगायौ । घर भित्र रहेका कुनै पनि सामान जोगाउन सकेनौ । धान,चामल, लत्ता कपडा, रुपैया पैसा, नेपाली नागरिकताको प्रमाण पत्र सबै खोलाले बगाइदियो । घरसमेत भत्काइदियो । अब घर बनाउने पैसा कहाँबाट ल्याउनु ?’ जनमजदुर गरेर जिविकोपार्जन गर्दै आएकी राजवंशीको श्रीमान् विरामी छन् । उनको जेठो छोरा पनि अल्गै घरजम गरी बसेपछि उनलाई ६ जनाको परिवार धान्न धौ–धौ परेको पेल्कीले बताइन् ।

बाढीपीडित पेल्की राजवंशी

सोही वस्तीमा बस्ने देवनारायण माझी पनि केही राहत पाइन्छ की भनेर म (लेखक) नजिक आएर आफ्नो दुःख र पीडा पोख्न थाले । ‘हामीलाई खोलाले बर्वाद पार्यो । लौन हामीलाई केही सहयोग गर्नु पर्यो,’ माझीले अनुरोध गर्दै भने – ‘यसपालि जस्तो बज्रपात वस्तीका मानिसहरुलाई कहिल्यै परेको थिएन ।’ १ छोरा, १ छोरी र श्रीमतिसहित ४ जनाको परिवार सरकारले दिएको त्यही घरमा गुजारा गर्दै आएका माझी खोलाले बस्न नसकिने गरी भत्कादिएपछि चिन्तित मुद्रामा भन्दै थिए – ‘अब सरकारले फेरी घर देला र ?’ तराई मधेश समृद्वि कार्यक्रम अन्तर्गत टप्पुवस्तीमा करिब ७ घर परिवारका लागि घर निर्माण गरिएको थियो । बढीले उनीहरुसहित २२ घरपरिवारको घर पुर्णरुपमा क्षति पुर्याएको छ भने उनीहरुलाई उद्वार गरी स्थानिय सामुदायिक विद्यालयमा राखिएका छन् । कन्काई खोलामा आएको बाढीले टप्पुवस्ती अन्तर्गत करिब डेढ किलोमिटर खोलामा लगाईएको बाँध भत्काएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ९ : १३ बजे