१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाल राष्ट्रिय बंगाली समाज भद्रपुर नगर समिति गठन, कन्काईमा विशेष पर्व मनाईदैँ





झापा / नेपाल राष्ट्रिय बंगाली समाज भद्रपुर नगर तदर्थ समिति गठन गरिएको छ । नेपाल राष्ट्रिय बंगाली समाज केन्द्रीय समितिको विधान अनुसार भद्रपुर ६ बंगाली युवा क्लबमा शुक्रवार आयोजित एक भेलाले राजा मण्डलको संयोजकत्वमा भद्रपुर नगर तदर्थ समिति गठन गरेका छन् । भेलाले सर्वसम्मत रुपमा समितिको सदस्यहरूमा रवीन्द्र घोष, मानस घोष, विजय साह, जयिता राय, मनीषा मण्डल, रितु बर्मन राय, सञ्जय आइच, राहुल चक्रवर्ती, रञ्जित मण्डल, अरूप घोषलाई चयन गरेका छन् । त्यस्तै सल्हाकारहरुमा अमूल्य मण्डल, सञ्जय घोष र निर्मल घोष रहेका छन् ।
नेपाल राष्ट्रिय बंगाली समाजका केन्द्रीय सदस्य अनुप रायको संयोजकत्वमा भएको भेलामा नेपाल बंगाली समाजका सचिव जयन्ती मानी, अमूल्य मण्डल, पार्थ मण्डल, राजा मण्डल, सञ्जय आइच, सञ्जय घोष, निर्मल घोष र मानस घोष लगायतले आआफ्नो धारणा राखेका थिए । भद्रपुर नगर तदर्थ समिति गठन गरिए पनि यसअघि भद्रपुरमा गठित नेपाल बंगाली समाज, बंगाली युवा क्लब र बंगाली महिला मञ्चलाई यथावत् राखेर अघि बढ्ने छलफलले निष्कर्ष निकालेको छ ।
नेपाल राष्ट्रिय बंगाली समाजले देशभर छरिएर रहेका बंगाली समुदायको हक अधिकार सुनिश्चितताका लागि बंगाली आयोग गठनका लागि राष्ट्रव्यापी अभियान थालेको छ । सोही अभियान अनुसार जिल्लाका स्थानीय तहहरूमा समिति गठन गर्नुका जिल्ला कमिटी अभियानलाई तीव्रता दिएको छ । सोही अभियान अनुसार बंगाली समुदायको पहिचान गर्दै अहिले देशभर कमिटि गठन कार्यलाई तीव्रता दिइएको छ । 

कन्काईमा शुक्रबार बंगाली समुदायले आफ्नो विशेष महत्वको पर्व मनाउँदै


त्यसैगरी कनकाई नगर क्षेत्रका बंगाली समुदायले भदौ महिनाको पहिलो पञ्चमी तिथीलाई विशेष पर्वका रुपमा मनाउँदैछन् । बंगाली समुदायको परम्परा अनुसार चतुर्थी तिथी विहिबारदेखी षष्ठी तिथी शनिवार समापन हुने यो पर्वको विशेष महत्व रहेको बताइएको छ ।

पुजाअर्चनाका साथ भदौ महिनाको चतुर्थी, पञ्चमी र षष्ठी तिथी गरी तीन दिनसम्म मनाइँने यो पर्वलाई बंगाली समुदायले विशेष महत्वको पर्वका रुपमा लिने गरेको यस समुदायका स्थानीय अगुवा प्रल्हाद शाहले बताए । यो पर्वमा माता मनसादेवीको विशेष पूजा अर्चना हुने गरेको शाहको बुझाई छ ।

शुक्रबार एक समारोहका विच कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीयाले बंगाली समुदायले मनाउँने विशेष पर्वको अवसरमा आयोजित कलश यात्राको रिबन काटेर विधिवत रुपमा उद्घाटन गरेका हुन् । सुरुङ्गास्थित कालिस्थान टोलबाट सुरु भएको कलश यात्राबाट कनकाई माईमा पुगेर ल्याएको जल सबैले मनसादेवीको मन्दिरमा चढाएका थिए ।

विशेष महत्वका साथ मनसादेवीको पुजाअर्चनाबाट दुःख, कष्ट सबै नास भएर जाने र मानिसका सबै मनोकामना पूर्ण हुने विश्वास गरिएको छ । भदौ महिनाको पहिलो पञ्चमी शुक्रवारका दिन हुने मनसादेवीको यो विशेष पूजाअर्चनाकालागि एक दिन अघि चतुर्थीका दिनदेखि नै ब्रत बस्ने चलन रहेको बंगाली समाज सेवा समिति कनकाईका अध्यक्ष पंकज मण्डलले बताए ।

यो विशेष पर्वमा बंगाली समुदायका महिला साथै पुरुषहरुले समेत ब्रत बस्ने र मनसादेवीको विशेष पूजाअर्चना गरी रातभरी जाग्रम बस्ने चलन रहेको बंगाली समाज कनकाईका अध्यक्ष मण्डलले जानकारी दिए । दिनभरी ब्रत बसेका ब्रतालुहरुले चामलको पिठोबाट घिउमा पकाइएको विशेष परिकार (घाटरा पिठा) साथै फलफूलहरु प्रसादको रुपमा खाने चलन रहेको बताइएको छ ।

षष्टीका दिन बिहान बली पूजा गरेर चेलीबेटी, भान्जाभान्जी, आफन्त, साथीभाइलाई समेत बोलाएर प्रसाद खुवाउँने परम्परा रहेको बंगाली समाज सेवा समिति कनकाईका सचिव रविन मण्डलले बताए । सोही दिन बेलुका मनसादेवीको मुर्ति नदिमा लगेर सेलाएपछि मात्र यो पर्व समाप्त हुने गरेको बताइन्छ ।

आज भन्दा २२ वर्ष अघि नै आफ्नो समुदायको संस्कृति साथै भेषभूसाको संरक्षण गर्ने उद्येश्यले बंगाली समुदाय संगठित भएपनि निष्क्रिय रुपमा रहेको समितिलाई पुनर्गठन गर्दै युवाहरुको सक्रियतामा भर्खरै युवा व्यवसायी पंकज मण्डलको संयोजकत्वमा कनकाईमा ११ सदसस्यीय नयाँ समिति गठन भई सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण गतिविधी गर्दै आएको समितिका अध्यक्ष मण्डलले जानकारी दिए । यसरी गठन भएको समितिको उपाध्यक्षमा बिगम मण्डल, सचिवमा रबिन मण्डल, सहसचिव दिपक मण्डल, कोषाध्यक्ष मीना मण्डल रहेका छन् । त्यस्तै सदस्यहरुमा मनोज मण्डल, मनिल मण्डल, सरवन मण्डल, प्रीतम शाह, निर्मला मण्डल र मीना मण्डल रहेका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ८ : ४३ बजे