१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मुस्लिम समुदायको आरक्षित कोटा हटाएको प्रति नेपाल मुस्लिम संघ आन्दोलित



बिर्तामोड,२३ भाद्र / नेपाली कांग्रेसको १४ औ महाधिबेशनमा मुस्लिम समुदायको आरक्षित कोटा हटाएको प्रति नेपाल मुस्लिम संघ आन्दोलित भएको छ ।

नेपाल मुस्लिम संघ जिल्ला कार्य समिती झापाको अगुवाईमा नेपाली कांग्रेसको पार्टी कार्यालय बिर्तामोडमा आज संघले आरक्षित कोटाको माग गर्दै धर्ना दिएको छ ।
धर्ना स्थल आइपुगेका पार्टीका जिल्ला सभापती उद्दब थापालाई संघका पदाधिकारीले आफ्ना मागहरूको बारेमा जानकारी गराउदै ध्यानाकर्षण पत्र बुझाएका थिए ।

सो अवसरमा ध्यानाकर्षण पत्र बुझ्दै सभापति थापाले पार्टीको हरेक आन्दोलन र अभियानमा मुस्लिम समुदायको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै संघको मागलाई तुरून्तै केन्द्रमा पठाइने जानकारी गराउनु भयो ।

नेपाली कांग्रेसको १४ औ महाधिबेशनको लागि बनेको निर्वाचन निर्देशिका अनुसार १७ जिल्ला वाहेक बाकी सबै जिल्लाहरूमा मुस्लिम समुदायको प्रतिनिधित्व हटाएको संघको भनाई छ ।

संघका अनुसार ६० वटा जिल्ला,१ सय १० संघीय निर्वाचन क्षेत्र र १ सय १४ प्रदेश निर्वाचन क्षेत्रमा मुस्लिम समुदायको प्रतिनिधित्वलाई हटाइएको पत्रमा उल्लेख छ ।

साथै निर्वाचन निर्देशिकामा अब वार्ड बाहेक माथिल्लो कुनै पनि तहमा मुस्लिम समुदाय निर्वाचित भएर जान पाउने अधिकार समेत बन्चित गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

धर्नामा संघका जिल्ला अध्यक्ष अमिन अलि शेख,उपाध्यक्ष एजाज अहमद अन्सारी,सचिब सफी उल्लाह अन्सारी लगायत जिल्ला कार्यसमितीका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ५ : १५ बजे