२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

होटल र सैलुन सञ्चालन गर्दै लैङ्गिक अल्पसङ्ख्यक



झापा, १४ फागुन / आर्थिक आत्मनिर्भरताका लागि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले स्वरोजगारमूलक व्यवसाय सुरु गरेका छन् । कोशीका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा उनीहरुले होटल, फास्टफुड कर्नर र सैलुन सेन्टर सञ्चालनमा ल्याइरहेका लिड नेपालकी संयोजक लुना लिम्बू (चञ्चला)ले बताउनुभयो । लिड नेपाल यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हकअधिकारका क्षेत्रमा काम गर्ने संस्था भएकाले उनीहरुलाई स्वरोजगार बनाउने अभियानमा लागेको उहाँको भनाइ छ । झापाको दमकमा नमुना युनिसेक्स (महिला र पुरुष दुवैका लागि सैलुनको सुविधा भएको) सैलुन एन्ड ट्रेनिङ एकाडेमी सञ्चालन भइरहेको छ । “सैलुनबाट १८ जना लैङ्गिक अल्पसङ्ख्यक साथीले तालिम लिइसक्नुभएको छ”, उहाँले भन्नुभयो, “यो सैलुन समुदायका साथीले सञ्चालन गर्नुभएको हो । तालिम लिन समुदाय बाहिरका पनि आउनुहुन्छ ।” उहाँका अनुसार सैलुनमा पाँच जना प्रशिक्षकले नियमित तालिम दिइरहेका छन् । मोरङको विराटनगरमा मिलीजुली एण्ड सप्तरङ्गी खाजाघर र सुनसरीको इटहरीमा रेम्बो फास्टफुड कर्नर सञ्चालनमा ल्याइएको छ । पूर्वका थुप्रै सहर बजारमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले पसललगायत स्वरोजगारमूलक व्यवसाय सञ्चालन गरिरहेका छन् । झापामा पहिचान लुकाएकासमेत गरी २२ हजार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय रहेको लिड नेपालको दाबी छ । उनीहरुलाई आत्मनिर्भर बनाउन सीप सिकाउने र रोजगारी सिर्जना गर्ने संस्थाको उद्देश्य रहेको लिम्बूले बताउनुभयो । समाजमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकप्रति हेर्ने नजर र उनीहरुप्रतिको व्यवहार अपमानजनक रहेकाले समुदायका अधिकांश व्यक्ति पहिचान लुकाएर बस्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । उनीहरुलाई रोजगारीको अवसर नदिइने भएकाले आफँै व्यवसाय स्थापनामा लाग्नुपरेको लिम्बूले बताउनुभयो । लिड नेपालले स्थानीय पालिका र दातृ संस्थासँग मिलेर उनीहरुलाई व्यावसायिक सीप सिकाउने अभियान सञ्चालन गरिरहेको छ । दमक–५ स्थित बेलडाँगी रोडमा सैलुन सञ्चालन गर्न दमक नगरपालिकाले आर्थिक सहयोग समेत गरेको छ । “सैलुनको शाखा जिल्लाका विभिन्न सहर तथा बजारमा विस्तार गर्ने योजना छ”, लिड नेपालकी संयोजक लिम्बूले भन्नुभयो, “पहिला दक्ष जनशक्ति उत्पादन गर्छाैं र शाखा विस्तार गरी सबै पालिकामा रहेका हाम्रो समुदायलाई रोजगारीमा पहुँच पु¥याउँछौँ ।” उहाँले सैलुनमा लैङ्गिक अल्पसङ्ख्यक समुदायले नै रोजगारी पाइरहेको बताउनुभयो । स्थानीय पालिका र प्रदेश सरकारको सहयोगमा कोशीका विभिन्न जिल्लामा होटल, रेस्टुरेन्ट, कफीसप, बेकरीलगायतका व्यवसाय सञ्चालन गर्ने तयारी भइरहेको लिड नेपालले जनाएको छ । समाजमा अझै पनि लैङ्गिक अल्पसङ्ख्यक शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित रहेको उहाँको भनाइ छ । रासस

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ५ : ४४ बजे