३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

बाह्रदशी गाउँपालिकामा प्रतिष्ठानद्वारा राजवंशी जातिलाई प्रथम जाति घाेषणा गर्नु पर्ने माग



राजगढ २२ , असार / बाह्रदशी गाउँपालिकाको प्रथम नागरिक राजवंशी जातिलाई घोषणा गरिनुपर्ने राजवंशी विकास प्रतिष्ठानले माग गरेको छ ।
प्रतिष्ठानले आज बाह्रदशी गाउँपालिका कार्यालयमा ज्ञापनपत्र बुझाउँदै प्राचीन कालदेखि बसोबासित मुख्य बासिन्दा भएको सप्रमाणका आधारमा राजवंशी जातिलाई बाह्रदशी गाउँपालिकाको प्रथम नागरिक घोषणा गरिनुपर्ने माग गरेको हो । बाह्रदशीभित्र प्राचीनकालदेखि बसोबास गरी यहाँको भूमिलाई आवाद र सिंचित गरेको राजवंशी जाति यस ठाउँको मुख्य जाति भएको यथेष्ठ प्रमाणहरु भएकाले सही, सत्य र यथार्थतालाई ह्रदयंगम गरी जारी गाउँसभाबाट राजवंशी जातिलाई प्रथम नागरिक घोषणा गर्न प्रतिष्ठानले ध्यानाकर्षण गराएको हो ।

नेपालको संविधान २०७२ को अनुसूची ८ मा उल्लेख भएअनुसार धारा ५७ को उपधारा (२), धारा २०१४ को उपधारा (२), धारा २२१ को उपधारा(२) र धारा २२६ को उपधारा (१) लाई आधार मानी प्राचीनकालदेखि बसोबास गर्ने जातिलाई प्रथम नागरिक घोषणा गर्न सकिने प्रावधानबमोजिम राजवंशी समुदायको अपनत्व, पहिचान तथा अधिकारलाई सम्मान दिलाउनका लागि बाह्रदशी गाउँपालिकाले राजवंशी जातिलाई यसै गाउँसभाबाट सर्वसम्मतले प्रथम नागरिक घोषणा गर्ने कुरामा आफूहरु पूर्ण बिश्वस्त रहेको ज्ञापनपत्रमा उल्लेख छ । प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा विगतमा यस ठाउँमा वर्चस्व कायम रहेपनि अहिले अन्य आयातित जातिका कारण विस्थापित बन्न पुगेका राजवंशी जातिलाई संरक्षण र संबद्र्धन गर्न विभिन्न कार्यक्रम ल्याइनु पर्ने , ऐतिहासिक महत्व बोकेका यस गाउँपालिकाका पुराना गाउँ , टोल बस्ती र सार्वजनिक स्थलहरुको नाम परिवर्तन गरिने क्रमलाई तत्काल रोक्नु पर्ने , गाउँपालिकाले प्रदान गर्ने सेवा सुविधाका बारेमा जानकारी दिँदै गाउँपालिकाका हरेक कार्यक्रममा राजवंशी जातिलाई पनि सहभागी गराइनु पर्नेलगायतका माग समेत गरिएको छ । अध्यक्ष सुरेन राजवंशीले सो ज्ञापनपत्र बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशी , उपाध्यक्ष रत्ना राजवंशी , वडा अध्यक्षहरु शम्भुसिंह राजवंशी , विरेन्द्र राजवंशी , भुपेन्द्र कट्वाल , रत्नप्रकाश योङ्या , कार्यपालिका सदस्य जयनारायण मेचे लगायतलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । अध्यक्ष सुरेन राजवंशीले नेपालको सुदूरपूर्व दक्षिणका तीन जिल्ला झापा , मोरङ र सुनसरीमा प्राचीनकालदेखि मुख्य जातिको रुपमा बसोबास गर्दै आएका राजवंशी जातिलाई जिल्लाकै प्रथम नागरिक घोषणा गराउनका लागि बाह्रदशीबाट शुरुवात गर्न लागेको जानकारी दिए । ज्ञापनपत्र ग्रहण गर्दै गाउँपालिका अध्यक्ष खड्ग राजवंशीले जारी गाउँसभामा यसलाई पेश गरी पारित गराउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नेपाली कांगे्रसका क्षेत्रीय सभापति नवीन बिमली , शिखर बतच तथा ऋण सहकारी संसथाका अध्यक्ष दिपेन्द्र राउत , प्रतिष्ठानका अध्यक्ष झलकसिंह राजवंशीलगायतको उपस्थिति रहेको थियो । प्रतिष्ठानका सचिव इन्द्रसिंह राजवंशीले संचालन गरेको कार्यक्रममा ज्ञापनपत्रको उपाध्यक्ष रुपा राजवंशीले वाचन गरेकी थिइन् ।

बाह्रदशी गाउँपालिका प्रदेश नं १ , साविक मेची अंचल , झापा जिल्लाको दक्षिण भेगमा अबस्थित छ । नेपाल सरकारको पछिल्लो राज्य पुनरसंरचना २०७३ ले साविक गाउँ विकास समितिहरु राजगढ , चकचकी र डाँगीबारीलाई समावेश गरी बाह्रदशी गाउँपालिका नामाकरण गरिएको हो । यस गाउँपालिकाको कूल क्षेत्रफल ७८.४४ वर्ग किलोमिटर छ भने कूल जनसँख्या ३९ हजार ६२२ रहेको छ । करिब ४१ जातजातिको बसोबास रहेको यस गाउँपालिकामा राजवंशी जातिको जनसँख्या सबैभन्दा बढी रहेको छ । २ हजार घरधुरीमा रहेका राजवंशीहरुको जनसँख्या ९ हजार १३१ रहेको छ । जुन कूल जनसँख्याको २३.०५ प्रतिशत हो ।

राजवंशी शब्द ‘झाप’बाट झापा जिल्लाको नामाकरण गरिएको सन्दर्भमा यस जिल्लाको विगतलाई हेर्दा अधिकांश भूभाग यही जातिले नै उपभोग गरेका थिए । कूल खेतीयोग्य जमिनको ८० प्रतिशतको स्वामित्व राजवंशीहरुको हकमा रहेको थियो । जिम्दार , पट्वारी, देउनियाजस्ता पदप्रतिष्ठामा रहेर उनीहरुले यहाँको शासनको बागडोर सम्हालेका थिए । बाह्रदशी गाउँपालिकालाई हेर्दा उहिलेदेखि यहाँका अधिकांश जनप्रतिनिधिहरु राजवंशीहरु नै रहेका थिए । पंचायतकालदेखि बहुदलीय शासन व्यवस्थासम्म आइपुग्दा राजवंशी जनप्रतिनिधिहरुकै वर्चस्व रहेको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट समेत निर्वाचित बाह्रदशी गाउँपालिकाका ४३ जना जनप्रतिनिधिमध्ये राजवंशी समुदायका १० जना रहेका छन् । राजवंशी समुदायको विगतदेखिको बसोबासको इतिहाससँगै राजगढ , डाँगीबारी , चकचकी , फूलबारी ,भागुडुब्बा, बक्राझारी , कालदास बारी ,माघुबारी , डिग्लीबारी , खयरबारी जस्ता गाउँबस्तीको नामाकरणले पनि यो ठाउँको मूल बासिन्दा राजवंशीहरु भएको प्रतिष्ठानले दावी गरेको छ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ८ : ०२ बजे