१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दुई साता कर्फ्यू लगाउन चिकित्सकहरुको सरकारसँग आग्रह



विराटनगर २, जेठ / कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रण गर्नका लागि कम्तिमा दुई साता कर्फ्यू लगाउन चिकित्सकहरुले सरकारसँग आग्रह गरेका छन् ।

नेपाल चिकित्सक संघ कोसीले आइतबार विज्ञप्तिमार्फत संक्रमणको फैलावट व्यापक भएको, गम्भीर प्रकारका लक्षण देखिएको, भिडभाड नियन्त्रण नभएको, स्वास्थ्य मापदण्ड पालना नभएको भन्दै कोभिड १९ संक्रमणको चेन ब्रेक गर्न पूर्णरुपमा निषेधाज्ञा ९कर्फ्यू० लगाउनु पर्ने सुझाव दिएको हो ।

संघका अध्यक्ष डा.फरवार्ड सिलवाल र महासचिव डा.राजेन्द्र चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सम्पूर्ण राजनीतिक दलहरु, निजी क्षेत्र र सहयोगी निकायहरु सबैलाई कोरोना महामारी नियन्त्रण र जनताको जीवन रक्षाको बिषयलाई मुख्य प्राथमिकतामा राख्न समेत आग्रह गरिएको छ ।

बढ्दो संक्रमणका वावजुद चिकित्सकहरु कोरोना महामारीको युद्धमा स्वास्थ्य सैनिकका रुपमा निरन्तर होमिएको भन्दै आगामी दिनमा समेत दृढतापुर्वक खटिने चिकित्सक संघले जनाएको छ । कोरोनाविरुद्धको लडाँईमा सवैको संकल्प, सत्प्रयास र साथ मिलिरहेको खण्डमा चिकित्सकको हौसला बृद्धि हुने उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश १ को सामाजिक विकास मन्त्रालयले दैनिक रुपमा सार्वजनिक गर्ने तथ्यांकले कोरोनाको संक्रमण र मृत्युदर द्रुत गतिमा बढेकोले आइसीयु र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने संक्रमितको संख्या समेत बढ्दै जाने परिस्थिति सिर्जना भएको चिकित्सक संघले जनाएको छ ।

सोही जोखिमलाई दृष्टिगत गरी संघले नेपालको स्वास्थ्य अवस्था र संक्रमणको गतिलाई गम्भीर रुपमा मनन् गरेर २०७८ बैशाख २९ गते नै देशभर ‘रेड अलर्ट’ घोषणा गरिसकेको जनाएको छ ।

संघले अत्यन्तै विषम परिस्थिति सिर्जना भएको भन्दै नेपाल सरकार, सम्पुर्ण राजनीतिक दल, नागरिक समाज तथा सम्पुर्ण पेशागत संघ संगठनबाट सहयोग र सद्भाव उपलब्ध गराउँदै कोभिड–१९ संक्रमणको जालोलाई तोड्न अपिल गरेको हो ।

साथै यस्तो परिस्थितिमा धैर्यता र संयमता अपनाउँदै स्वास्थका मापदण्डलाई कडाईका साथ पालना गर्न र आ–आफ्नो स्थानमा सुरक्षित रहन समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ५ : २७ बजे