३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

सिरूवामा फूलघाेडाकाे विक्री, मालीलाई भ्याईनभ्याई


१ बैशाख २०७८, बुधबार  

0
Shares

आत्माराम राजवंशी
गाैरीगंज १, वैशाख / नयाँ वर्षसंगै शुरू भएकाे सिरूवा पर्वमा ग्रामथानमा चढाईने फूलघाेडाकाे विक्री बढेकाे छ ।
अादीवासी समुदायका राजवंशी, ताजपुरिया, गन्गाई,माझीलगायतका जातिहरूका प्रत्येक परिवारले ग्रामथानमा देवतालाई अनिवार्य फूलघाेडा चढाउनु पर्ने प्रचलन रहेकाे र विहेवारीकाे सिजन भएकाेले फूलघाेडाकाे विक्री वितरण बढेकाे हाे ।

गाैरीगंज गाउँपालिका वार्ड नं. – ३ स्थित बुधवारे बजारमा फूलघाेडा बेच्न बसेका जादुराम मालीले चाडपर्व र विहेकाे सिजन भएकाेले फूलघाेडाकाे विक्री बढेकाे बताए । ‘एक सिजनमा (सिरूवा पर्व र विहेकाे सिजनमा) ४० देखि ५० हजार रूपैयाँसम्म बेच्छु’ प्रत्येक हटियाकाे विक्री गरेकाे हिसाब गर्दै जादुरामले भने – ‘ याे फूलघाेडाकाे हिसाब मात्रै भनेकाे हुँ ।’ खर्च काटेर एक सिजनमा २५ देखि ३० हजार रूपैयाँ नाफा हुने गरेकाे उनले बताए ।
गाैरीगंज गाउँपालिका वार्ड नं.४ अल्तावारी बस्ने जादुराम मालीले अादीवासी समुदायले पुजाअार्चना गर्दा देवताहरूलाई चढाउने फूलघाेडा, भगवती सठा, पाँच देवतालाई चढाउने माैरा, झरा, भुटिया घरा, मजुस ( नामान खाने अर्थात भाकल गर्दा चढाउने एकप्रकारकाे वनस्पतिकाे फूल), विहेमा बेहुला र बेहुलीले लगाउने फूल बेच्ने गर्छन् ।

बुधवारे बजारमा जादुरामकै छेउमा फूलघाेडा बेच्न बसेका माेहनदेव मालीले पनि जादुराम माली जतिकै रकम बराबरकाे फूलघाेडा सजिलै बेच्छन् । माेहनदेव भन्छन् – ‘याे सिजनमा भ्याई नभ्याई हुन्छ । पर्वकाे लागि फूलघाेडा ,झरा, भुटिया घरा र विहेकाे लागि पनि उतिकै अर्डर अाउँछ ।’
दक्षिणी भेगमा साप्ताहिकरूपमा लाग्ने प्रमुख स्थानिय बजारहरू गाैरीगंज, खजुरगाछी, दामुना, गुवालडुब्बा, गाैरादह र बघाहा चाैधरी बजारमा फूलघाेडा बेच्न पुग्ने गरेकाे माेहनदेवले बताए ।

एकजाेडा फूलघाेडाकाे २० रूपैयाँमा बेच्ने गरेकाे उनले बताए । उनले फूलघाेडासंगै धार्मिक अनुष्ठानमा प्रयाेग हुने मजुस ४ सय रूपैयाँ, , माैरा ५० रूपैयाँ, भगवती साैठा २० रूपैयाँ, भुटिया घाेडा ५० रूपैयाँ जाेडामा बेच्ने गरेकाे बताए ।

फूलघाेडा कुर्लाहा अर्थात कुन्डिला ( चाैनी, दहमा पाइने एक प्रकारकाे वनस्पति) , बाँसकाे सिन्का, कागज र रङ्गबाट बनाईने गरेकाे बताए ।

सिरूवा पर्वमा अादिवासी समुदायले आ- आफ्नाे महाराजथानमा लिपपाेत गरी देवतालाई फुलघाेडा, केरा, दूध, पान, सुपारी, अगरवती, लारू ( चिनीले बनाएकाे सानाे लड्डु), चामल प्रसादकाे रूपमा चढाई पुजाअार्चना गर्ने गर्छन् ।
सिरूवा पर्वमा गाैरादहकाे दुधाली मेला तथा दामुना मेला र गाैरीगंजकाे बघाहाचाैधरी मेला लाग्ने गरेकाे छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ११ : ०२ बजे