१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सामान्य वर्षातमा पनि गाैरीगंज अन्तर्गत हुलाकी सडकबाट हिड्न नसकिने, कल्भर्ट निर्माण स्थलमा झनै सास्ती


३० जेष्ठ २०७७, शुक्रबार  

0
Shares

20200612_164542

गौरीगंज ३०, जेठ / गाैरीगंज गाउँपालिका अन्तर्गत हुलाकी सडकमा कल्भर्ट निर्माण कार्य भईरहेकाे स्थानमा सामान्य वर्षामा पनि सर्वसाधारणलाई आवतजावतमा सास्ती वेहाेर्नु पर्ने भएकाे छ ।

राष्ट्रिय गाैरवकाे आयाेजनाकाे रूपमा रहेकाे झापाकाे रतुवा खाेला देखि विरिङ्ग खाेलासम्म ३८ वटा कल्भर्टकाे निर्माण स्थानमा व्यवस्थित वैकल्पिक बाटाे ( डाईभर्सन) नभईदिदा सर्वसाधारण आवतजावतमा सास्ती बेहाेर्न बाध्य हुने भएकाे हाे ।

दक्षिणी क्षेत्रकाे विकाशकाे मेरुदण्डकाे रुपमा रहेकाे हुलाकी सडक निर्माणका लागि माेतिदान कन्ट्रक्सन सेवा प्रा.लि. काठमाडौंले जिम्मा पाएकाे छ। सामान्य वर्षातकाे पानीले कल्भर्ट निर्माण गरिएकाे स्थानमा व्यवस्थित डाईभर्सन नहुदाँ पानी जमेर बाटाे हिल्लामे भई आवतजावत गर्न समस्या हुने गरेकाे सर्वसाधारण बताएका छन् ।

‘निर्माण गरिएकाे कुनै पनि कल्भर्टमा व्यवस्थित डाईभर्सन छैन’ एक स्थानियले भने – सामान्य वर्षात मा पनि पानी जमेर हिल्लामे हुन्छ र हिडडुल गर्न सकिँदैन । ‘

त्यस्तै गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी बजारमा पनि वर्षातकाे समयमा पानी बाटाेमा जमेर हिल्लामे भई हिडडुल गर्न सकिने अवस्था हुदैन । उनले भने – ‘केहीदिन अघि परेकाे वर्षाले हुलाकी सडकबाट हिडडुल गर्न सास्ती वेहाेर्नु परेकाे थियाे ।’
गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले सर्वसाधारणलाई कुनै समस्या अाउन नदिन ठेकेदार कम्पनीसंग कुरा भईरहेकाे बताए । कम्तीमा सर्वसाधारणलाई आवतजावत गर्न सहज हुने गरि विकल्पका बारेमा कुरा भईरहेकाे उनले जानकारी दिएका छन् ।
मुख्य खाेला बाहेक सानातिना खाेल्सी, बर्षायाममा पानीको बग्ने स्थानमा कल्भर्ट निर्माणकाे कार्य तिब्र रुपमा भइरहेको निर्माण कम्पनीका प्राेजेक्ट मेनेजर दिपक श्रेष्ठले जानकारी गराए।

बर्षा सुरु हुनु अगाबै सबै कल्भर्ट पुरा गर्ने लक्ष्य रहेकाे पनि मेनेजर श्रेष्ठले बताए। बर्षायाम सुरु हुन लागेकाले  पानी पर्दा आवतजावतमा समस्या हुन सक्ने संभावनालाई मध्यनजर गरि कल्भर्ट निर्माण कार्यलाई पहिलाे प्राथमिकता दिएकाे कम्पनीका ठेक्केदार बिकाश गौतमले जानकारी गराए।

हुलाकी सडक भित्र रहेका ३८ वटा कल्भर्ट मध्ये २० वटाकाे ढलाई भइसकेको, १५ वटा ढलाइ हुने क्रममा रहेकाे र ३ वटा निर्माणको क्रममा रहेकाे मेनेजर श्रेष्ठले जानकारी गराए।बनियानी खाेला देखि ब्रिङ खाेला सम्मका कल्भर्ट पनि निर्माणकार्य भइरहेको जनाइएको छ।

सडक निर्माणकार्यमा सडक चौडा,हाेचाे ठाउँमा माटाे भर्ने कार्य भइरहेकाे छ।हुलाकी सडककाे तुलाचौन क्षेत्रमा करिब १ कि.मि. ५ मिटर सडकमा माटाे भर्ने कार्य सकिएकाे श्रेष्ठले बताए। लकडाउनकाे समयमा पनि प्रा.लि.ले समाजिक दुरी कायम गरि निर्माणकार्यलाई निरन्तरता दिएकाे र निर्माण कार्य सम्पन्न गर्ने समय अगाबै सडक निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकाे ठेकेदार गौतमले बताए।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ३ : ३८ बजे