२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024

जन्मदेखि मृत्युुसम्मकाे जीवन चक्र


१७ कार्तिक २०७६, आइतबार  

0
Shares

20191103_085149
गाैरीगंज १७, कार्तिक /
कुनै मान्छेको उमेर ४० वर्षको छ । ऊसँग घरजग्गा छ, परिवारमा श्रीमती, छोराछोरी र आमाबाबु पनि छन् । व्यापार छ वा जागिर, आम्दानीको स्रोत गतिलै छ । छोराछोरी पढेकै छन्, लाउन–खानको पनि कुनै सुर्ता छैन । समाजमा महसुस गरिने सामाजिक हैसियत पनि कमजोर छैन । तैपनि, ४० वर्षे व्यक्तिको मन शान्त छैन । सुख र आनन्दको महसुस जीवनमा कहिल्यै गर्न पाएको छैन । ४० वर्षे व्यक्तिको मात्रै होइन, ५० वर्षे वा ६० वर्षे वा त्योभन्दा बढी वा घटीको पनि हालत उस्तै छ । मनमा लोभ त्यस्तै, अहंकार त्यस्तै, बेइमानीपन त्यस्तै ।

अरुलाई सकेसम्म होच्याउँदा क्षणिक आनन्द महसुस गर्ने आदत उस्तै । कुल मिलाएर सकारात्मकभन्दा कयौैँ गुणा नकारात्मक र खराब चिन्तन लिएर बाँचिरहेको अवस्था । यसको, उसको, त्यसको, यहाँ बस्नेको, त्यहाँ बस्नेको, जतासुकै बस्नेको पनि हालत उस्तै । यस्तो आखिर किन भएको हो ? सबै चीज भएर पनि केही नभएसरी अत्तालिएको मान्छेको यो खालको समस्याको कुनै समाधान छैन ? अवश्य छ । समाधानको उपाय हो– सत्यलाई स्वीकार्ने आँट । हो, निश्चित रुपमा कुनै पनि मान्छेले सत्यलाई मनन् गर्ने आँट गर्छ भने आफू त सुखी र खुशी हुन्छ नै, आफन्त भन्ने गरिएको र पराई ठान्ने गरिएको हरेक मान्छेलाई सुख र आनन्द दिन सक्छ । यसमा शंकै नगर्दा हुन्छ । उसो भए त्यो सत्य के हो, जुन सत्यलाई हाँसीहाँसी मनन् गर्नुपर्छ ?

परिवर्तन सत्य हो । परिवर्तनलाई स्वीकार्नु पर्छ । परिवर्तनजत्तिको अकाट्य सत्य अरु हुनै सक्दैन । जन्म परिवर्तन हो भने मृत्यु पनि परिवर्तन हो । जन्मँदा एउटा आकारप्रकार हुन्छ भने मर्दाका बखत आकारप्रकार र रुप पूरै परिवर्तन भइसकेको हुन्छ । अब फेरि कुनै एक ४० वर्षे उमेरवाला व्यक्तिलाई उमेर बढाएर र घटाएर हेरौँ । ४० वर्षमा २० वर्ष उमेर थपेर हेरौँ । अनुहारमा चाउरीपन देखा पर्छ । काम गर्ने जाँगर जति ४० वर्षमा थियो, त्यति हुँदैन । खानाको मात्रा घट्छ । शरीरका अंगहरु केही मात्रामा गल्छन् ।

६० वर्ष उमेरको त्यही व्यक्तिलाई अर्को २० वर्ष थपेर हेरौँ । उमेर ८० हुन्छ । असी वर्षको उमेरवाला वृद्धलाई समाजका कुनाकाप्चामा भेट्न सकिन्छ । कपाल सेतै फुलेको हुन्छ । गाला पूरै नभए पनि ८० प्रतिशत चाउरी परेको हुन्छ । खाना खान मन लाग्दैन । किन पनि खानामा अरूचि देखा पर्छ भने खाना पचाउने इन्जिन नै पुरानो र शिथिल भइसकेको हुन्छ । स्मरणशक्ति कमजोर हुन्छ । आँखा धमिलो हुन्छ । शरीरबाट मासुको मात्रा कम हुन्छ । छाला हड्डीमा टाँसिन्छ । पाइला सार्न मुस्किल हुन्छ । श्वासप्रश्वासमा कमजोरी देखा पर्छ । कुल मिलाएर शरीरका प्रायः सबै अंगहरु पुराना र कमजोर हुँदै जान्छन्, ठीकसँग काम गर्न सक्दैनन् ।

८० वर्षको मान्छेले दिसापिसाब पनि ठीक तरिकाले व्यवस्थापन गर्न सक्दैन । कुनै बेला अर्काको आकर्षक ज्यान देख्दा लोभिएर मुखबाट पानी बगाउने मान्छे आफ्नो शरीर देख्दा घिन मान्ने अवस्थामा पुग्छ । त्यसमाथि फेरि २० वर्ष थपेर हेरौँ । यतिबेला ऊ १०० वर्षको हुन्छ । १०० वर्षको मान्छेसँग केही बाँकी रहँदैन, रहन्छ भने नसुन्ने कान हुन्छ । नदेख्ने, देखे पनि साह्रै धमिलो देख्ने आँखा हुृन्छ । खाना पचाउन नसक्ने आन्द्रा र प्यान्क्रियाजहरु हुन्छन् । पौष्टिक आहार ग्रहण गर्न सक्ने वा चपाउन नसक्ने गिजामात्रै हुन्छ । स्वादै थाहा नपाउने जिब्रो बाँकी रहन्छ । कमजोर धड्कनवाला मुटु, बिस्तारै काम गर्ने मृगौला, थोरै काम गर्ने फोक्सोलगायतका भित्री अंगहरु बाँकी रहन्छन् ।

कुनै एउटा अंगले कतिबेला काम गर्न छाड्छ, थाहा हुँदैन । यसको अर्थ १०० वर्ष पुगेर वृद्ध शरीर कतिबेला ढल्छ, थाहा हुँदैन । यतिबेलालाई शरीर छाड्ने वा मर्ने अवस्थाको कल्पना गर्न सकिन्छ र उमेर थपिएको सम्बन्धित व्यक्तिले आफूलाई १०० वर्ष पुगेको कल्पना गरेर मृत्युशैयामा बसेको र डढेर खरानीसम्म भएको सजिलै अनुमान र कल्पना गर्न सक्छ । आफ्नो खरानी आफैँ हेर्न पनि सक्छ । प्रमाण यही हो कि हिजो ४० वर्षको मान्छे आज खरानीमा परिणत भएको छ । त्यही ४० वर्षको मानिस भविष्यको खरानी हो । यसमा कसैले शंका नगर्दा हुन्छ र सत्य हो पनि यही ।

अब त्यही ४० वर्षको मानिसलाई २० वर्ष उमेर घटाएर हेरौँ । अब ऊ २० वर्षको जवान भयो । उसको फूर्तिफार्ती बेग्लै हुन्छ । सीधामात्रै हेर्दैन, ऊ दायाँबायाँ पनि हेर्छ । किनकि, त्यो उमेर भनेको सीधामात्रै हेर्ने उमेर होइन, न त आफ्नो ज्यानमात्रैले चित्त बुझाउँछ । ऊ आफ्नो ज्यानको भन्दा ज्यादा अरुको ज्यानको खोजी गर्छ । मीठो खान खोज्छ र राम्रो लाउन खोज्छ । ढिला हिँड्न उसलाई मन हुँदैन । ढिलो भन्ने शब्दै मन पराउँदैन । जहिलेसुकै उसलाई हतारमात्रै हुन्छ । खान हतार, लाउन हतार, उठ्न–हिँड्न, यो गर्न र त्यो गर्न, दिनको काम गर्न दिनमा हतार, रातको काम गर्न रातमा हतार । ऊ सधैँभरि हतारमा हुन्छ । अब त्यही २० वर्षको उमेरलाई पूरै घटाएर हेरौँ । हिसाब आमाको पेटभित्र छ भन्न सकिन्छ ।

त्यो उमेरलाई पनि घटाएर वा कुनै पुरूषको वीर्य बस्ने पोकालाई नियालेर हेरौँ । वैज्ञानिकहरुका अनुसार एकपटकको सम्भोगमा करिब ३ करोड शुक्रकीट स्खलित हुन्छन् । नांगो आँखाले देख्न नसकिने, माइक्रोस्कोपले मात्रै देख्न सकिने ती तीन करोड कीराहरुमध्ये एउटामात्रै कीरा कुनै एक महिलाको पाठेघरमा प्रवेश गर्छ ।

अपवादको संख्यालाई छाडेर पाठेघरमा प्रवेश गर्ने त्यही एउटा कीरा हो, जो १०० वर्ष पुगेर खरानीमा परिणत हुन्छ । त्यस कारण, जन्मिनुअघिको तीन करोडमध्येको एउटा कीरा, त्यही कीराको भविष्यको रुप खरानी हो भन्ने सत्य यहाँनेर प्रस्ट हुन आउँछ । आँखाले देख्न नसकिने कीरा, बीचको १०० वर्षसम्मको मान्छे र भविष्यको हावामा विलीन हुने खरानी । मान्छेको जीवनको अन्तिम सत्य यही हो ।

गिरिजाप्रसाद कोइराला आँखाले नदेखिने कीरा थिए । बीचमा उनलाई मान्छे भनियो । केही समयपछि राजनीतिज्ञ भनियो । नेपाली कांग्रेसका सभापति भनियो । एक दिन उनलाई डढाएर खरानी पारियो । पहिले कीरा, बीचमा मान्छे, मान्छे छँदा प्रधानमन्त्री, अनि त्यसपछि खरानी । राजा वीरेन्द्र पहिले कीरा थिए । बीचमा मान्छेको रुपमा राजा भए । कसैले गोली हानेर शरीर छेदन गरिदियो ।

अन्तिममा उनी खरानीमा परिणत भए । पहिलेको कीरा मदन भण्डारी पछि खरानी भए । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, विश्वेश्वरप्रसाद कोइराला पनि कीराबाट मान्छेको रुपमा प्रकट भएपछि खरानीमा परिवर्तन भए । एमालेका अध्यक्ष केपी ओली, एमाओवादीका औधी तगडा अध्यक्ष तथा हालका प्रधानमन्त्री प्रचण्ड पनि हिजोका आँखाले नदेखिने कीराहरु हुन् । आज ती सबै नेता भएका छन् । यिनको भविष्यको रुप पनि खरानी नै हो ।

आजका सभासद्, नेता, मन्त्री, डाक्टर, इन्जिनियर, राष्ट्रपति, प्रधानन्यायाधीश, सेनापति, प्रहरी महानिरीक्षक मात्रै हिजोका कीरा र भोलिका खरानी होइनन्, ६ महिना अन्न खाने बाँकी ६ महिना गिठा, भ्याकुर र कन्दमूलमा जीवन धान्ने गरिब चेपाङहरु पनि हिजोका कीरा र भोलिका खरानी हुन् ।

यतिबेलाका धनी, उच्च ओहदाका, सुन्दर, सुन्दरी, शिक्षितहरु मात्रै हिजोका कीरा र भविष्यका खरानी होइनन्स कंगाल, निम्नस्तरका, कुरुप र अशिक्षितहरु पनि हिजोका कीरा र भोलिका खरानी नै हुन् । सत्य यही हो । यदि हरेक मानवशरीरमा आएकाहरुले यो सत्यलाई मनन् गर्ने हो भने मानवजीवन मात्रै होइन, संसारका हरेक प्राणीको जन्म लिएपछि मृत्यु निश्चित् छ भन्ने सत्यलाई दिनमा कम्तीमा एकपटक मनन् गर्ने हो भने शान्ति यहीँ छ, आनन्द यहीँ छ । यही सत्यले आर्थिक भ्रष्टाचार र अनियमितताको अन्त्य गर्ने छ ।

समतामूलक समाजको निर्माण पनि सजिलैसँग हुनसक्छ । हुने पनि सुखी र नहुने पनि सुखी हुने सूत्र योभन्दा अरु फेला पार्न कुनै पनि हालतमा सकिने छैन । अब के यो सत्यलाई मनन् गर्ने आँट सबैमा पलाउला ? हिजोका कीरा, आजको मान्छे, भोलिको खरानी– जवाफ देऊ । चितवन पोष्ट दैनिकको सहयोगमा

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ३ : ०६ बजे