४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

घर निर्माण भएपछि दलबहादुर दंग, जापानीज विधार्थीद्वारा श्रमदान


३ फाल्गुन २०७५, शुक्रबार  

0
Shares

20190215_112001

गाैरीगंज ३, फागुन / गाैरीगंज गाउँपालिकाका वार्ड नं ६ दमाई डाडाका दलबहादुर विक जुंगे जापानीज विधार्थीहरू उनकाे घरमा शुक्रबार विहान आईपुग्दा एकछिन अलमलमा परे ।
सहारा नेपाल गाैरीगंज केन्द्रका म्यानेजर उमेश भारतीले तपाईकाे घर निर्माण गर्न आएकाे बताएपछि दलबहादुर खुशीले गदगद मात्रै भएनन् अंगालाे मारेर उनलाई धन्यबादसमेत दिए । गाैरीगंज गाउँपालिका र ह्याविटेड संस्थामार्फत सहारा नेपालकाे संयुक्त लगानीमा विपन्न तथा दलित परिवारकाे आवास निर्माण गर्ने सहमति अनुसार दलबहादुर विक जुंगेकाे घर निर्माण गर्न लागिएकाे हाे । घर निर्माण हुने भएपछि विक दम्पति दंग थिए । घरमा उनी र उनकाे श्रीमती मात्र छन् । उनकाे बनिबुताे गरि खाने नत भर्पर्दाे आयस्रोत नै छ, नत बस्ने १ धुर जग्गा नै । बन्न लागेकाे घरकाे जग्गा पनि ऐलानी छ । उनकाे हातमुख जाेडने स्राेत भनेकाे जेष्ठ नागरिक भत्ता नै हाे । उनलाई सहारा गर्ने काेही नभएकाे बेला गाउँपालिका र सहारा नेपालले घर बनाईदिने भएपछि उनी खुशी भएकाे विकले बताए ।

उनकाे घर निर्माण गर्न जापानकाे राजधानी टाेकियाे स्थित बासेदा युनिभर्सिटीका १७ जना विधार्थी स्वयंसेवककारूपमा आएका हुन् । ह्याविटेेेडका आलाेक खतिवडाकाे नेतृत्वमा आएकाे उत्त टाेलीले ९ दिनमा दलबहादुर विककाे घर निर्माण गरी जापान फर्किने याेजना रहेकाे छ ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपिन्द्र थापा, अधिकृत राजकुमार शाक्यले उत्त जापानीज टाेलीलाई स्वागत गरेपछि उनीहरूलाई उपहार स्वरूप स्थानियबाट उत्पादित झाेला प्रदान गरेका थिए ।

गाैरीगंज गाउँपालिका र ह्यविटेड संस्थामार्फत सहारा नेपालकाे संयुक्त लगानीमा ३५ विपन्न तथा दलित परिवारलाई घर निर्माण गरिदिने सहमति भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि गाउँ पालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले दमाई डाडाका जेष्ठ दलबहादुर विक जुगेंकाे घर पुस महिनामा शिलान्यास गरेर आवास निर्माणकाे कार्य शुभारम्भ गरेका थिए ।
गाैरीगंज गाउँपालिका वार्ड नं ४ काे बेलगाछी बालुगाउ सतार बस्तीमा ११ घर , वार्ड नं ५ काे हरिराकाे मुसहरबस्तीमा १२ घर र वार्ड नं६ काे दमाई बस्तीमा ८ र अन्य घरलाई एकीकृत वस्ती याेजना अन्तर्गत गाउँपालिकाले सहारा नेपालसंग सहकार्य गरेर १ लाख ५० हजार रूपैयाँकाे लागतमा घर निर्माण गर्न लागिएकाे गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । उनले भने – ‘ याे पहिलाे चरण भएकाेले ३५ घर मात्र निर्माण गर्न लागिएकाे हाे, याे याेजनालाई क्रमिकरूपमा अगाडि बढाउने छु ।’ घर निर्माणका लागि प्रत्येक परिवारलाई १ लाख ५० हजार रूपैया मध्ये ७५ हजार रूपैयाँ गाैरीगंज गाउँपालिका र ७५ हजार सहारा नेपालले संयुक्त लगानी गर्ने सहमति भएकाे अध्यक्ष श्रेष्ठले बताए ।
जग्गा नभएका परिवारलाई जग्गा उपलब्धताका लागि गाउँ पालिकाले सहजीकरण गरिदिने अध्यक्ष श्रेष्ठले बताए । गाैरीगंज गाउँपालिकामा काेही पनि घरवारविहीन नहाेस भन्ने उधेश्यले याे याेजना अघि बढाएकाे र दाेस्राे चरण अन्तर्गत अन्य वडामा पनि याे याेजना लागू गरिने उनले बताए ।
३ काेठे एकै डिजाइनका घर निर्माण हुन लागेकाे र घर निर्माण गर्दा श्रमदान अर्थात मिस्री बाहेक उपभोक्ताहरू अाफै घर निर्माणमा लाग्नु पर्ने सहारा नेपाल गाैरीगंज सेवाकेन्द्रका म्यानेजर उमेश भारतीले बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ९ : १३ बजे