४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

हुलाकी सडककाे निर्माण कार्यले पायाे तिव्रता


२७ मंसिर २०७५, बिहिबार  

0
Shares

20181213_162655

दमक २७, मंसिर / हुलाकी सडक खण्डकाे निर्माण कार्यलेे तीर्वता पाएकाे छ । हुलाकी राजमार्ग निर्देशनालय याेजना कार्यालय ईटहरीले चरणवद्व रूपमा ठेक्का प्रक्रियामार्फत सडक निर्माण कार्य अघि बढाएकाे छ ।

झापामा ४८ किलोमिटर हुलाकी सडकखण्ड पर्छ । जसअन्तर्गत कार्यालयले पहिलो चरणमा लगाएको ठेक्कबाट २० किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कार्यालयले ०७२ माघ १३ गते पहिलो चरणमा गरेको ठेक्का सम्झौताबाट भद्रपुरस्थित झापा चोकदेखि राजगढसम्मको सडक निर्माणको काम सकिन लागेको छ ।

३० महिनाको ठेक्का सम्झौता गरेको कार्यालयले ठेकेदार कम्पनीले उक्त मितिमा काम सम्पन्न नगरेपछि अहिले ६ महिना म्याद थप गरेको निर्देशनालयका प्रमुख विजयकुमार महतोले जानकारी दिए ।
सडक निर्माणको ठेक्का आसिस–याक्थुम्हाङ जेभीले लिएको छ ।

महतोका अनुसार आगामी माघसम्ममा निर्माण सक्नुपर्ने सडकमा ८० प्रतिशत काम सम्पन्न भएको छ । ७ मिटर चौडा सडकमा ५.५ मिटर कालोपत्रे गरिएको उनले बताए ।

सडक २९ करोड ८३ लाख ४९ हजार १ सय ६१ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । कार्यालयले हुलाकी सडककै लागि दोस्रो ठेक्का सम्झौता पनि गरिसकेको छ । कार्यालयले हुलाकी सडकको पूर्वी सीमाना मेची पुलदेखि भद्रपुरको झापा चोकसम्मको १३ सय मिटर सडक निर्माणको लागि ठेक्का सम्झौता गरेको हो ।

उक्त खण्ड निर्माणका लागि याक्थुम्हाङ निर्माण सेवाले ५ करोड १८ लाख ४७ हजार ८ सय १२ रुपैयाँमा ठेक्का पाएको छ । याक्थुम्हाङसँग एक वर्षभित्र १३ सय मिटर सडक कालोपत्रे गरिसक्ने गरी ०७५ असार २८ गते ठेक्का सम्झौता गरेको महतोले बताए ।

सम्झौता भएको पाँच महिना बितिसक्दासम्म निर्माण कम्पनीले काम भने सुरु गर्न सकेको छैन । उक्त सडकको करिब एक किलोमिटर खण्डमा मुआब्जा विवाद छ । सडक दायाँ–बायाँ दर्जनौंको संख्यामा स्थानीयको घर, पसल तथा टहरा भत्किने भएपछि विवाद भएको हो ।

स्थानीयले उचित मुआब्जा बिना घर भत्काउन नदिने चेतावनी दिदै आएका छन् । लामो विवादपछि मेची पुलदेखि पश्चिम ३ सय मिटर सडक खुलाउने कार्य भने भर्खरै सम्पन्न भएको छ ।

जिल्लाको राजगढदेखि मोरङको सिमाना रतुवा खोलासम्मको सडक निर्माणका लागि पनि ठेक्का आह्वान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको महतोले जानकारी दिए । उनले उक्त खण्डको २८ किलोमिटर सडकका लागि अर्थ मन्त्रालयसंग आवश्यक बजेट र प्रक्रियाको काम भइरहेको बताए ।

हुलाकी सडक निर्माण सम्पन्न भए जिल्लाको विकासमा कायापलट हुने महाभाराका रवीन्द्र राजवंशीको दाबी छ । उनले हुलाकी सडक निर्माण नभएकै कारण दक्षिणी भेकका जनताले निकै सास्ती खेप्नु परिरहेको बताए ।

‘हामी अहिले ग्रामीण जनताको रुपमा बाचिरहेका छौं । हुलाकी सडक पूर्ण रुपमा बनेर सञ्चालनमा आयो भने हाम्रो मात्र होइन, समग्र जिल्लाकै मुहार फेरिनेछ,’ उनले भने ।

हुलाकी सडक निर्माण भए जिल्लाबासीलाई बिराटनगर नजिकको सहर हुनेछ । अहिले घुमेर जानुपर्दा भद्रपुरदेखि बिराटनगर पुग्न एक सय २० किलोमिटरको दूरी पार गर्नुपर्छ । तर, हुलाकी सडक निर्माण भए, ९० किलोमिटरको दुरीमा विराटनगर पुगिनेछ ।

हुलाकी सडक निर्माण भए जिल्लाको पुराना बजारहरू भद्रपुर, हल्दिबारी, राजगढ, झापा बजार, कुञ्जिबारी, गौरीगञ्ज र खजुरगाछी बजारले पुरै काँचुली फेर्ने झापा गाउँपालिका २ का वडाध्यक्ष नेत्रबहादुर खड्काले बताए ।

तर, राजगढदेखि रतुवासम्मको सडक खण्डमा पर्ने पुलहरूको निर्माण कार्य भने निकै सुस्त छ । ठेकेदार कम्पनीहरूले पुल निर्माण समयमा नगर्दा त्यसको असर सडक निर्माणको प्रक्रियामा परेको निर्देशनालयले जनाएको छ ।

चार वर्षअघि नै निर्माण सम्पन्न गर्नुपर्ने बिरिङ, कन्काई, रामचन्द्रेलगायत नदीको पुल ठेकेदार कम्पनीहरूले ७ वर्ष नाघिसक्दासम्म निर्माण सकेका छैनन् । उक्त सडकखण्डमा पर्ने पुलहरूको निर्माण कार्य चाँडै भए जिल्लामा पर्ने हुलाकी सडक अबको तीन वर्षपछि पूर्ण रुपमा सञ्चालनमा ल्याउन सकिने इन्जिनियर नन्दकुमार गुप्ताको दाबी छ ।

ईकान्तिपुरबाट

प्रकाशित मिति : २७ मंसिर २०७५, बिहिबार  ११ : ०५ बजे