३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

नेपाल सुनचाँदी व्यवसायी संघकाे दाेस्राेे अधिवेशन सम्पन्न


८ भाद्र २०७५, शुक्रबार  

0
Shares

balram

बिर्तामोड८, भदौ /
नेपाल सुनचाँदी व्यवसायी संघ झापाको दोस्रो अधिवेशन विहीवारराति बिर्तामोडमा सम्पन्न भएको छ ।
अधिवेशनको उद्घाटन प्रदेश १का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले गरेका थिए ।
समारोहका प्रमुख अतिथि रहेका मन्त्री कार्कीले सुनचाँदी व्यवसायीका समस्या समाधानमा अर्थमन्त्री र प्रधानमन्त्रीसँग कुरा गरेर निष्कर्ष निकाल्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा संघलाई विभिन्न क्षेत्रबाट विशिष्ठ योगदान पु¥याउने तीन जना व्यक्तित्वलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १का सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्की, संघको व्यवस्थापकीय जिम्मेवारीमा रहेका राजन कालीकोटे र उत्कृष्ट कालीगढको रुपमा विष्णु कालीकोटे रहेका छन् । प्रमुख अतिथि मन्त्री कार्की र विशिष्ठ अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनुवारले सम्मान–पत्र, माला र खाँदा प्रदान गरेर उनीहरुलाई सम्मान गरेका थिए । अधिवेशन उद्घाटन समारोहमा सुनचाँदी व्यवसायीका अग्रज नेताहरुले व्यवसायी क्षेत्रका जल्दाबल्दा समस्या राखेर समाधानका लागि सरकारसँग आग्रह गरेका छन् ।
कार्यक्रममा प्रदेश १का सांसद एकराज कार्की, जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेल, महासंघका केन्द्रीय अध्यक्ष सुनुवार, महासंघकै केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १का सदस्य मोहनकाजी शाक्य, बिर्तामोडका मेयर धु्रवकुमार शिवाकोटी, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया र सम्मानितमध्येबाट बलराम कार्कीले मन्तव्य राखेका थिए ।
संघका अध्यक्ष रुपदल विश्वकर्मा राजुको अध्यक्षतामा भएको समारोहमा पूर्वअध्यक्ष कृष्ण उदास भरतले औचित्यमाथि प्रकाश पारेका थिए भने वरिष्ठ उपाध्यक्ष रमेश बराइलीले स्वागत गरेका थिए । अधिवेशनको बन्दसत्रले महासचिव तथा कोषाध्यक्षको प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गरेको छ । कार्यक्रमको सञ्चालन एकराज गिरी र यम विमलीले गरेका थिए ।

अध्यक्षमा पुनः राजु निर्वाचित
नेपाल सुनचाँदी व्यवसायी संघ झापाको दोस्रो अधिवेशनबाट अध्यक्षमा पुनः रुपदल विश्वकर्मा राजु निर्वाचित भएका छन् ।
विहीवारराति अवेर सम्पन्न निर्वाचनको परिणाम अनुसार एक सय २६ मत प्राप्त गर्दै राजु निर्वाचित भएका हुन् । उनीसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धामा रहेका गोपाल ल्वागुनले ३३ मत प्राप्त गरेका थिए । अन्य सम्पूर्ण पदमा भने निर्विरोध निर्वाचित भएका छन् ।
जस अनुसार वरिष्ठ उपाध्यक्षमा राजुकुमार गुप्ता, उपाध्यक्षहरुमा धिरेन विश्वकर्मा, टोलबहादुर सुनार, तुलसी विमली र रमेश पोर्तेल (बाबुराम) रहेका छन् । महासचिवमा राजन कालीकोटे, सचिवमा राजेशकुमार सोनी, सहसचिवमा बृहस्पति पाण्डे र कोषाध्यक्षमा विजय सराफ निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै कार्य समिति सदस्यहरुमा दीपककुमार साह, मनबहादुर सेन्चुरी, नगेन्द्र विश्वकर्मा, कमल विश्वकर्मा, मुखीलाल बराइली, नारायण श्रेष्ठ (दीपक), कृष्ण सराफ र डिल्लीराम विश्वकर्मा रहेका छन् । निर्वाचित तथा निर्विरोध निर्वाचित कार्य समितिलाई प्रमुख निर्वाचन अधिकृत बलराम कार्कीले राति नै शपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र प्रदान गरेका थिए । निर्वाचन अधिकृत एकराज गिरीले निर्वाचन र निर्विरोध निर्वाचितको घोषणा गरेका थिए । शपथ ग्रहण कार्यक्रममा अध्यक्ष पदका उपविजेता ल्वागुनले नयाँ कार्यसमितिलाई सक्दो सहयोग गरेर जाने प्रतिबद्धता जनाए भने नवनिर्वाचित अध्यक्ष राजुले सबैलाई समेटेर व्यवसायीको हितमा काम गर्ने बताए । प्रमुख निर्वाचन अधिकृत कार्कीले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेको निर्वाचन अधिकृत घनश्याम चौधरीले जानकारी दिए । संघको विधान बमोजिम उक्त समारोहमै अध्यक्ष राजुले विशिष्ठ सदस्यमा रमेश बराइली र कार्यसमिति सदस्यमा अभिषेक गहतराजलाई मनोनितको घोषणा गरेका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार  ८ : २४ बजे