१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाल शिक्षक महासंघ झापाको मतदान सम्पन्न


१६ फाल्गुन २०७४, बुधबार  

0
Shares

sikchak11

गौरीगँज १६, फागुन /

शिक्षक तथा कर्मचारीहरुको छाता संगठन नेपाल शिक्षक महासंघ झापाको आगामी ३ बर्षे कार्यकालका लागि आज मतदान सम्पन्न भएको छ । । झापाका ६ वटा शिक्षकहरुका पेशागत संस्था र एउटा बिद्यालय कर्मचारीहरुको पेशागत संस्थागरी जम्मा ७ वटा संस्थाहरुले प्रतिस्पर्धा गरेको चुनावमा ४ हजार ९ सय ७१ जना मतदाता रहेको नेपाल शिक्षक महासंघ झापाका अध्यक्ष तेजप्रसाद चौलागाईले जानकारी दिनु भयो । झापाका सबै १५ वटै स्थानीय तहका स्रोत केन्द्र रहेका बिद्यालयहरुमा आज बिहान ८ बजेदेखी अपरान्ह ३ बजेसम्म मतदान हुने बताईएको छ ।

ब्यक्ति उम्मेद्वार नहुने र संस्थालाई मतदान गर्नु पर्ने भएकाले महासंघमा प्रतिनिधित्वका लागि पेशागत संगठनले कुल खसेको मतको २ प्रतिशत मत अनिवार्य प्राप्त गर्नु पर्ने बैधानिक ब्यवस्था रहेको नेपाल शिक्षक संघ बिर्तामोड नगर अध्यक्ष लिलाप्रसाद भण्डारीले बताउनु भयो । महासंघमा उपस्थिति जनाउनका लागि सबै पेशागत संस्थाहरुले कम्तिमा दुई प्रतिशत मत ल्याउनै पर्ने छ ।

शिक्षक महासंघको बिधान अनुसार प्राप्त गरेको मतका आधारमा पहिलो हुने संस्थाले अध्यक्ष सहित सह सचिब र ४ जना सदस्य गरी ६ जना पदाधिकारी प्राप्त गर्ने छ भने दोस्रो हुने संस्थाले एक उपाध्यक्ष सहित सचिब र ३ जना गरी सदस्य गरी जम्मा ५ जना पाउने छ ।
त्यसैगरी तेस्रो हुने संस्थाले सह अध्यक्ष सहित महिला सहसचिब सहित २ जना सदस्य गरी ४ जना पाउने छ । चौथो हुने संस्थाबाट महिला उपाध्यक्ष सहित अर्थ सहसचिब र २ जना सदस्यको प्रतिनिधित्व हुनेछ ।

त्यस्तै पाँचौ मत प्राप्त गर्ने शिक्षकको पेशागत संस्थाबाट सदस्य २ जनाले प्रतिनिधित्व गर्न पाउने छन भने छैठौं वा सो भन्दा माथी मत प्राप्त गर्ने संस्थाबाट प्रत्येकले एक एक जना सदस्य महासंघमा पठाउने छन ।
मतदानको सम्पूर्ण परिणाम आईसके पछि दूई प्रतिशत मत प्राप्त गर्ने शिक्षक कर्मचारीका पेशागत संस्थाले आफ्नो भागमा परेको पदका लागि ब्यक्ति सिफारिस गराएर निर्वाचन समितिलाई बुझाए पछि ती ब्यक्तिहरु निर्वाचित हुने नेपाल शिक्षक संघका बिर्तामोड नगर अध्यक्ष भण्डारीले जानकारी दिनु भयो ।

जिल्ला तहमा एक अध्यक्ष, एक सहअध्यक्ष, उपाध्यक्ष महिला एक र खुल्ला एक गरी दुई जना, सचीब एक, सहसचीब महिला एक, सहसचीब अर्थ एक र खुल्ला सहसचीब एक जना र कार्य समिति सदस्यमा ६ जना महिला सहित १८ जना गरी २६ जना निर्वाचित हुने छन भने ५ जना मनोनित सदस्य गरी जम्मा ३१ सदस्यीय जिल्ला कार्यसमिति चयन हुनेछ ।
त्यसैगरी गाउँ नगरमा एक अध्यक्ष, एक सहअध्यक्ष, उपाध्यक्ष महिला एक र खुल्ला एक गरी दुई जना, सचीब एक, सहसचीब महिला एक, सहसचीब अर्थ एक र खुल्ला सहसचीब एक जना गरी ८ जना पदाधिकारी हुने छन भने गाउँ तर्फ ३ महिला सहित ९ जना सदस्य गरी १७ जनाको गाउँपालिका कार्यसमिति हुने छ । त्यस्तै नगर तर्फ ८ जना पदाधिकारी र ४ महिला सहित ११ जना सदस्य गरी १९ सदस्यीय कार्यसमिति निर्वाचित हुने महासंघ झापाका अध्यक्ष चौलागाई बताउनु भयो ।

गाउँ, नगर र जिल्ला तहको एकै साथ मतदान हुने भएकाले पनि झापाका शिक्षकहरु निर्वाचनमा होमिएका छन । झापामा नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघ, नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन, माओबादी केन्द्रको एकिकृत अखिल नेपाल शिक्षक संगठन त्यसैगरी राप्रपा सम्बद्ध नेपाल शिक्षक परिषद, संघिय शिक्षक फोरम नेपाल,मधेशी आदिबासी शिक्षक संरक्षण मञ्च र नेपाल बिद्यालय कर्मचारी परिषदले निर्वाचनमा सहभागिता जनाएको शिक्षक महासंघ झापाले जनाएको छ ।

जिल्लाको नेतृत्वका लागि नेपाल शिक्षक संघका तर्फबाट महासंघका बर्तमान अध्यक्ष तथा धुलाबारी माबिका सहायक प्रधानअध्यापक तेजप्रसाद चौलागाईको नाम चर्चामा छ भने नेपाल शिक्षक संघगठनको तर्फबाट गौरादह माबिका प्रधानअध्यापक तथा संगठनका पुर्व जिल्ला अध्यक्ष बुद्धिमान कार्कीको नाम चर्चामा रहेको छ ।

यसैबीच यता जिल्ला तह र स्थानीय तहको नेतृत्वका लागि भएको सो निर्वाचनका लागि गौरीगँज मा. बि. केन्द्रमा पनि शान्त बाताबरणमा निर्वाचन सम्पन्न भएको कुरा उक्त केन्द्रका मतदान अधिकृत कर्मा शेर्पाले जानकारी दिएका छन् ।

गौरीगँज मा. बि. केन्द्रमा जम्मा २ सय २७ मतदाता मध्ये २ सय १८ जनाले मतदान गरेको कुरा अधिकृत शेर्पाले बताए । बिहान ८ बजेदेलि शुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । मतदान सकिएपछि मतपेटिका सिल गरि गणनाका लागि विर्तामोड लाने तयारी गरिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७४, बुधबार  ११ : २२ बजे